समाज

सूर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत चित्र अनिवार्य

काठमाडौं – स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रण गर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा र्यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त  पुस्ता निर्माण गर्ने बताएका छन् । 

मृत्यु र रोगको प्रमुख कारक बनेको सूर्तिजन्य पदार्थ एवं धुम्रपानको प्रयोग निरुत्साहित गर्दै धुम्रपान नै नगर्ने पुस्ता निर्माण गर्न लागेको थापाको भनाइ थियो । सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन ऐन, २०६८ जारी गरी सोही आधारमा सुर्तिजन्य पदार्थको खोलको ७५ प्रतिशत भागमा चित्र छाप्नुपर्ने कानुन २०७१ मा ल्याएको थियो । दुई वर्षअघि त्यसलाई बढाएर ९० प्रतिशत भागमा यस्तो सन्देश छाप्नुपर्ने नियम ल्याएको छ । 

थापाले हालको नियमअनुसार ९० प्रतिशत भागमा नै सन्देश छाप्ने व्यवस्था मिलाउन राजस्व कार्यलयलाई पत्राचारसमेत गरिसकेको जानकारी दिए । ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाउन चित्रात्मक सन्देश प्रभावकारी हुन्छ,’ उनले भने, ‘त्यसका लागि सन् २०१८ सम्ममा सबै भागमा यस्तो सन्देश छाप्नुपर्छ ।’ सरकारले तोकेअनुसार सन्देश नछापे उत्पादन जफत गर्न वा रोक लगाउनसमेत सक्छ । त्यसका लागि कानुन परिमार्जन गर्ने थापाले बताए । मन्त्री थापाले पछिल्लो पटक सुर्तिजन्य पदार्थको बेचबिखन गर्न छुट्टै लाइसेन्स लिनुपर्ने व्यवस्था  गरेको बताए । 

सोमबार राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि दक्षिण एसियाली नेतृत्व विकास तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले सरकारले प्रयोग घटाउन प्रत्येक वर्ष करमा वृद्धिको नीति ल्याएको बताए । उनले पछिल्लो पटक सरकारले चालू वर्षलाई ‘मेरो स्वास्थ्य, मेरो वर्ष’ भनेर स्वास्थ्य अभियान चलाएको र त्यसको प्रमुख एक प्रतिबद्धता धुुम्रपान गर्दिनँ भन्ने रहेको समेत मन्त्रीले जानकारी दिए । ‘अहिलेदेखि नै हामीले जनता स्वास्थ्य क्लिनिक खोलेका छौं जसले नयाँ पुस्तालाई धुम्रपान नअपनाउन र छोडाउन सचेतना जगाउने काम गर्छ ।’  उनले भने, ‘सन् २०३० सम्ममा टोबाको फ्री जेनेरेसन बन्छ ।’ 

स्वास्थ्य मन्त्रालय, एक्सन नेपाल, जनहप्किन्स युर्निभरसिटी र द यूनियानले सम्यूक्त रुपमा आयोजना गरेको सात दिने तालिम उद्घाटनलाई द युनियनको एसिया प्यासिफिकका डेपुटी डाइरेक्टर तारासिंह बमले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ल्याएको कानून संसारमै प्रशंसनीय भइरहेको बताए । ‘नयाँ पुस्तालाई रोगको प्रमुख कारक धुम्रपानबाट बचाउँन कानूनको शतप्रतिशत कार्यन्वयन हुनुपर्छ,’ ।

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालले सुर्तीजन्य पदार्थको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेकाले दक्षिण एसियाली राष्ट्रलाई लक्षित तालिम नेपालमा आयोजना गरिएको जानको बताए । तालिममा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्सका सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सुूर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा कार्यरत सरोकारवाला गरी ७२ जनाको सहभागिता छन् । 

प्रकाशित: २७ वैशाख २०७४ ०३:२२ बुधबार

सूर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत चित्र अनिवार्य