समाज

बाँदर धपाईदिने उम्मेदवारलाई मतदान

पर्वत- लगाएको बाली सबै बाँदरले सखाप बनाएपछि यहाँका स्थानीयले जसले बादर नियन्त्रण कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँछ उसैलाई मतदान गर्ने योजना बनाएका छन्। पैंयूँ गाउँपालिका वडा नम्बर ६ भोर्लेस्थित काभ्राभञ्ज्याङ र काभ्रेका बासिन्दाले गाउँमा लगाएको सबै बाली बादरले घरमा भित्राउन नदिएपछि स्थानीय तहको चुनावको मुखमा यस्तो योजना बनाएका हुन।

विगत केही बर्षयता घरमा राखेको अन्नसमेत बादरले खाइदिन थालेपछि उनीहरुले अन्य सबै विकासे माग छाडेर बादर नियन्त्रणलाई प्रमुख मुद्दा बनाएका हुन्। भोर्लेको काभ्रे बादरकै समस्याले बर्षेनी बसाई सरेर तराई जान समेत लागेका छन् ।

‘बादरकै समस्याका कारण बर्षेनी ६/७ घर परिवार बसाई सर्दै गइरहेका छन्, यस्तै हो भने हामी पनि गाउँमा बस्ने अवस्था छैन’ स्थानीय बसुन्धरा भुसालले भनिन्–‘हाम्रो पहिलो प्राथमिकता नै सरकारले बाँदर नियन्त्रण गरोस् ।’ उनले यो स्थानीय तहको चुनावमा आफुसँग भोट माग्न आउनेलाई बाँदर नियन्त्रणको प्रतिबद्धता गरेमात्रै मत दिने बताइन् ।

‘अहिलेका लागि अन्य कुनैपनि विकास बरु चाहिएको छैन, हामीले लगाएको अन्नबाली आनन्दले घरमा भित्राउने वातावरण मात्रै भइदिएपुग्छ’ भुसालले भनिन् । उनले बाँदरको समस्याका कारण जग्गाजमिन समेत बाँझै छाड्नुपर्ने अवस्था भएको गुनासो गरिन् । उनीजस्तै भोर्लेमा बर्षेनी बादरको समस्याकै कारण बाझो जमिन बढ्न थालेको छ ।

बाँदर नियन्त्रण गरिदिन माग गर्दै सरकारी निकायमा समेत धाउदै आएका उनीहरुले बाँदर मार्न पाउनुपर्ने माग गरेका छन् । प्रहरी कार्यालयमा समेत पटक–पटक गएर बाँदर मार्न माग गरेका थिए, त्यहाँका बासिन्दाले। सबै निकाय धाउदा पनि कुनै सुनुवाई नभएपछि स्थानीयले अहिले चुनावको मुखमा उम्मेदवारसँग बाँदर नियन्त्रणको माग राख्ने निर्णय गरेका हुन ।

बाँदर नियन्यण गर्ने भरपर्दो प्रतिबद्धता ल्याउने उममेदवारलाई गाउँभरीकाले एकलौटी मतदान गर्ने दाबी उनीहरुले गरेका छन् । ‘खेतबारीमा मात्रै होइन, घरबाहिर कुनै अन्न राख्ने अवस्था नै छैन’ स्थानीय तोयानाथ भुसालले भने । उनले भोर्लेमा केही बर्षअघि बाँदर नदेखिने भएपनि कालीगण्डकी करिडोर खन्ने क्रममा बम पडकाएपछि त्यहाका बाँदर भोर्लेसम्म आएको दाबी गरे ।

बाँदर समस्याकै कारण भोर्लेमा अहिले ३० प्रतिशत जमिनमा पनि खेतीपाती नलगाएको उनको भनाई छ। उनले पनि गाउँमा मत माग्न आउने उम्मेदवारसमक्ष बाँदर नियन्त्रणको माग जोडदार उठाउने तयारी भएको जानकारी दिए । ‘निकै सताएपछि चुनावको मुखमा प्रतिबद्धता जनाएपछि उम्मेदवारले जितेपछि केही न केही उपाय लगाउने बिश्वास स्थानीयको छ’ भुसालले भने ।

भोर्लेमा मात्रै होइन, सरौँखोलामा समेत बाँदर निकै सताउने गरेको छ । विगतमा आफ्नै जमिनमा अन्नबाली लगाएर जिविकोपार्जन गर्नेहरु अहिले आफ्ना जग्गाजमिनहरु बाँझै राख्न बाध्य भएका छन्।

 

प्रकाशित: २५ वैशाख २०७४ १४:२२ सोमबार

बाँदर धपाईदिने उम्मेदवारलाई मतदान