समाज

उपभाेक्तालाइ मिडिया बुझाउँदै महासंघ

नेपाल पत्रकार महासंघले मिडियाका उपभोक्ताका लागि मिडिया साक्षरता अभियान प्रारम्भ गरेको छ। यसको सुरुवात दाङबाट गरिएको छ। मिडियाका उपभोक्ताहरूलाई चरण–चरणमा यो अभियानमार्फत मिडियाको आवश्यकतालगायत यसको प्रक्रियाका बारेमा जानकारी दिन थालिएको छ।

केही दिनअघि तुलसीपुरस्थित एक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मिडियाका बारेमा जानकारी दिएर साक्षरता अभियानको सुरुवात गरेको महासंघले दोस्रो चरणमा आइतबार प्रहरीलाई जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालयमा महासंघले प्रहरीलाई मिडियाका बारेमा साक्षरता प्रदान गरेको हो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले मिडियाको मूल मर्म, यसमा देखिएका चुनौती, सोसल मिडिया र छापा तथा विद्युतीय मिडियाबीचको भिन्नताबारे प्रशिक्षण दिएका थिए। उनले प्रहरी र पत्रकार सूचनाका लागि एकअर्काका परिपुरक रहेको बताए।

यो अभियानअन्तर्गत मिडिया उपभोक्तालाई मिडियाका बारेमा राम्रोसँग बुझाउन खोजिएको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले जानकारी दिए। उनका अनुसार मिडियाको मूल मर्म, यसको प्रक्रिया, समाचार करेक्सन गर्ने प्रक्रिया, मिडियाबाट पीडित भए त्यसको कानुनी उपचार प्रक्रिया, सोसल मिडिया र छापा तथा विद्युतीय मिडियाबीचको भिन्नताबारे बुझाइएको छ। ‘पत्रकारिता र मिडियालाई हाम्रा उपभोक्ताल्े सही ढंगले बुझ्न जरुरी देखिएको छ’, अध्यक्ष पोख्रेलले भने, ‘सञ्चार माध्यम र पत्रकारितामाथि बढ्दै जान थालेको जुन अविश्वास छ, यो अभियानले कम गर्न धेरै सहयोग पुग्ने छ।’

मिडियाको महत्व र यसका प्रक्रियासँगै सामाजिक सञ्जाल र सञ्चार माध्यमबीचको भिन्नता प्रस्ट हुनासाथ पत्रकारितामाथिको अविश्वास स्वतः हटेर जाने अध्यक्ष पोख्रेलको भनाइ छ। ‘समाचार सम्प्रेषणका विभिन्न माध्यम बनेका छन्, तर पत्रकारिता आचार संहिता पालना गरेर कसरी कहाँ समाचार प्रकाशित हुन्छन् ? यो पाटो प्रस्ट हुन जरुरी छ’,उनले भने, ‘पत्रकारिताको आचार संहिता पालना गरेर प्रकाशित समाचारले आम जनमानसलाई सूचना प्रवाह गर्छ तर अन्य माध्यमबाट आउने सूचना मिथ्या हुन सक्छन् है भन्ने जानकारी उपभोक्तालाई भयो भने स्वाभाविकै रूपमा नेपाली पत्रकारिताको गरिमा झनै बढेर जान्छ।’

महासंघ केन्द्रको नीतिअनुसार नेपाल पत्रकार महासंघले दाङबाट सुरु भएको यो अभियानलाई देशैभर सञ्चालन गर्ने लक्ष लिएको छ।

प्रकाशित: ११ असार २०८० ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App