समाज

आइपिसिसीको चुनावमा ढकाल र रुपाखेतीको मनोनयन

प्राध्यापक डा. शोभाकर ढकाल र डा. महेश्वर रूपाखेती

जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय अन्तरसरकारी नियोग (आइपिसिसी)को तेस्रो कार्यगत समूहको  उपाध्यक्ष र सहअध्यक्ष पदका लागि  नेपालले प्राध्यापक डा. शोभाकर ढकाललाई मनोनयन गरेको छ। यसैगरी, नेपालले डा. महेश्वर रूपाखेतीलाई आइपिसिसीको पहिलो कार्यगत समूहको उपाध्यक्ष पदको चुनावको लागि मनोनयन गरेको छ। 

जुलाईको २५ देखि २८ तारिखमा केन्याको नैरोबीमा हुने ५९आैं बैठकको अवसरमा हुने चुनावमा यी दुई नेपाली वैज्ञानिकले विश्वका अन्य आकांक्षी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्। वन तथा वातावरण मन्त्रालयले प्राध्यापक ढकाल र डा. रूपाखेतीलाई नेपालको तर्फबाट उम्मेदवारमा प्रस्तुत गर्ने  निर्णय गत शुक्रबार गरेको हो।  

आइपिसिसीका पाचाैं तथा छैंठौं अध्ययन प्रतिवेदन निर्माणमा ढकालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन विषयका प्राध्यापक ढकाल हाल थाइल्यान्डस्थित एसियन इन्सिच्यूट अफ टेक्नोलोजीमा एकेडेमिक मामलाका उपाध्यक्ष रहेका छन्। 

आइपिसिसीको पहिलो कार्यगत समुह उपाध्यक्ष (भाइस–चेयर) पदको चुनावमा मनोनयन भएका रूपाखेती वायुमण्डल तथा जलवायु विज्ञानका अध्येता हुन। उनी हाल जर्मन स्थित रिसर्च इन्सिच्युट फर सस्टेनेबेलिटी हेल्महोल्ज सेन्टर पोट्सड्याममा कार्यरत छन्। तेस्रो कार्यगत समूहको सहअध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार ढकालले जलवायुसम्बन्धी पेरिस सम्झौताका लक्ष्य हासिल गर्न नीति निर्माता र समाजलाई सही सूचना दिन आइपिसिसीको भूमिका अहंम रहेका बताए।  

डा. रूपाखेतीले चुनावमा विजय भएमा हिमाली क्षेत्र र साना टापु राष्ट्रहरू जस्ता जलवायु परिवर्तनबाट अति प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको वैज्ञानिक पक्षको सुक्ष्म अध्ययन र मूल्यांकनमा सहयोग गर्ने बताएका छन्।  

संयुक्त राष्ट्र सघीय विश्व मौसम संगठन (डब्लुएमओ) र संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (युएनइपी)को सक्रियतामा सन् १९८८ मा स्थापना गरिएको आइपिसिसीले नियमित रूपमा जलवायु परिवर्तनको वैज्ञानिक आधारका विषयमा जानकारी गराउँदै आएको छ। यही पृष्ठपोषण र वैज्ञानिक आधारमा सम्वद्ध राष्ट्रले जलवायू नीति निर्माण गर्ने गर्छन्। आइपिसिसीमा विश्वका १ सय ९५ देश सदस्य रहेका छन्।  

आइपिसिसी र अमेरिकी पूर्वउपराष्ट्रपति अल गोरले जलवायु परिवर्तन सम्बोधनमा योगदान गरेवापत संयुक्त रूपमा सन् २००७ को लागि नोवेल शान्ति पुरस्कार पाएका थिए। 

प्रकाशित: ११ असार २०८० ०१:५६ सोमबार

आइपिसिसीको चुनावमा ढकाल र रुपाखेतीको मनोनयन