समाज

बम राखेको आशंकामा पाँच पक्राउ

पर्वत –  पर्वतमा बम राखेको आशंकामा पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काँग्रेसका कुश्मा नगरका उम्मेद्वार रामचन्द्र जोशीको घरमा भेटिएको बम राखेको आशंकामा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज ओमबहादुर पुन, सेक्रेटरी अल्बर्ट, सल्लाहकार ओम पन्त, जिल्ला सदस्य यज्ञ गौतम र गोपाल जिसीलाई पक्राउ गरेको हो ।  

जिसीले उम्मेदवारी मनोनयनको दिन मध्यान्ह एक अनलाइनमा काँग्रेस नेता जोशीको घरमा सकेट बम राखेको समाचार प्रकाशित गरेका थिए । बुधबार प्रहरीले जिसीलाई सोधपुछ गरी सोही अनलाइनमा बमको हल्ला निराधार रहेको समाचार खण्डन प्रकाशन भएको थियो । 

तर, बिहीबार दिउँसो एकाएक शंकास्पद बस्तु भेटियो । उक्त शंकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । बिहीबार नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको थियो । भेटिएको बस्तुको प्रकृति र मंगलबार अनलाइनमा प्रकाशित भएको फोटो मिलेको प्रहरी प्रमुख शेखर खनालले बताए । 

प्रहरीले प्रारम्भिक अनुसन्धानमा बम काण्डमा जिसीसहितका मान्छेको संलग्नता पाएको बताएको छ । पक्राउ परेकालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दामा म्याद थप गरेर थप अनुसन्धान प्रहरीले थालेको छ ।

प्रकाशित: २२ वैशाख २०७४ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App