समाज

निर्वाचन सुरक्षा : केन्द्रदेखि जिल्लासम्म संयन्त्र

काठमाडौं- स्थानीय तह निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालयले केन्द्रदेखि जिल्ला तहसम्म सुरक्षा संयन्त्र बनाएको छ। चौबिसै घन्टा मनिटरिङका लागि केन्द्रमा गृह सचिवको नेतृत्वमा केन्द्रीय कमान्ड पोस्ट सक्रिय भइसकेको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा सेल गठन गरेर सुरक्षाकर्मी परिचालन सुरु गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित रहेको केन्द्रीय कमाण्ड पोस्टको नेतृत्व गृह सचिव लोकदर्शन रेग्मीले गरेका छन्।

पोस्टले सुरक्षा परिचालन अवस्था मूल्यांकन र विश्लेशण गरी सुरक्षा योजना संशोधन र फेरबदल गर्ने गरेको छ। पोस्टको बैठक दैनिक बिहान र बेलुका मन्त्रालयमा बस्छ। नियमित सुरक्षाकर्मी परिचालनका लागि गृहको शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका पन्थीको नेतृत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको केन्द्रीय निर्वाचन सेल पनि गठन गरिएको छ।

सेलमा सेनाका महासेनानी र अन्य सुरक्षा संगठनका कार्यविभागका डिआइजीहरू सदस्य छन्। उनीहरूले क्षेत्रीय निर्वाचन सुरक्षा सेल र जिल्ला तहमा रहेका निर्वाचन सेलका अधिकारीसँग सम्पर्कमा रहेर समीक्षा र निर्देशन दिन्छन्।

यी २ संयन्त्रसँगै केन्द्रमा गृहअन्तर्गत नै सबै सुरक्षा संगठनका प्रतिनिधि रहनेगरी संयुक्त निर्वाचन कमान्ड पोस्टसमेत गठन भएको छ।

'गृहमा रहेको समितिले निर्वाचन हुने क्षेत्रको सुरक्षा सूचना संकलन गरेर चौबीसै घन्टा विश्लेषण गर्छ र आवश्यकता अनुसार सुरक्षा योजना परिमार्जन र परिचालन गर्छ,' पन्थीले नागरिकसँग भने।

निर्वाचनको पहिलो सुरक्षा घेरामा खटिएको नेपाल प्रहरी र उसको सहयोगीका रुपमा खटिएको नेपाली सेना र सशस्त्रले समेत आआफ्नो संगठनभित्र भिन्न–भिन्न सुरक्षा संयन्त्र गठन गरिसकेका छन्।

प्रहरीले पहिलो चरणमा २३ हजार प्रहरी र २५ हजार म्यादी प्रहरी खटाइसकेको छ। सुरक्षा परिचालनमा गृहसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालयमा डिआइजीको कमान्डमा केन्द्रीय निर्वाचन सेल गठन भएको छ। सो सेलले क्षेत्रमा गठित क्षेत्रीय निर्वाचन सेल र जिल्ला सुरक्षा सेलसँग समन्वय गरेर सूचना संकलन र परिचालनका लागि निर्देशन दिन्छ। काठमाडौं उपत्यकामा चारवटै सुरक्षा संगठनका प्रतिनिधि रहेको भ्याली कमाण्ड पोष्ट गठन गरी सञ्चालनमा आइसकेको छ। डिआइजी बमबहादुर भण्डारीले यसको नेतृत्व गरेका छन्।

'चुनावी सुरक्षाका लागि पहिलो चरणमा निर्वाचन हुने सबै जिल्ला, क्षेत्रमा कमाण्ड पोष्ट सञ्चालनमा आइसकेका छन्,' प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने,

'समन्वय र निर्देशनका लागि केन्द्रमा समेत कमाण्ड पोस्ट गठन र सञ्चालन भइसकेको छ।'

सशस्त्र प्रहरी प्रवक्ता दिवाकर केसीका अनुसार सो संंगठनको केन्द्रमा कार्य विभागले लिड गरेको निर्वाचन सेल छ। जिल्लामा एसपीको नेतृत्वमा बाहिनीमा निर्वाचन सेल गठन भएको छ। पहिलो चरणमा १८ देखि २५ हजारसम्म सशस्त्र प्रहरी परिचालित भएको र मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षा र निर्वाचन सामग्री सुरक्षा सशस्त्रको कार्यक्षेत्र हो। 'परिस्थिति अनुसार परिचालित हुनेगरी रिजर्भ टोलीसमेत राखेका छौं,' केसीले नागरिकसँग भने।

निर्वाचन आचारसंहिता अनुगमन र सुरक्षा विश्लेषणका लागि निर्वाचन आयोगमा समेत संयुक्त अनुगमन टोली गठन भइसकेको छ। आयोग आयुक्त नेतृत्वमा रहेको सो समिति निर्वाचनसंहिता केन्द्रित छ। समितिमा सबै सुरक्षा संगठनले सम्पर्कसूत्रका रुपमा आआफ्ना प्रतिनिधि पठाएका छन्।

प्रकाशित: २१ वैशाख २०७४ ०२:२३ बिहीबार

निर्वाचन सुरक्षा केन्द्रदेखि जिल्लासम्म संयन्त्र