समाज

ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।  

उनीहरुको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी बिनोद थापाले जानकारी दिए। नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले बिहीबारै स्थानीय बासिन्दासंग मिलेर पहिरो पन्छाएर र काबेली खोला आसपासमा समेतलाई आधार मानेर बेपत्ताको खोजी गर्ने निर्णय लिएको थियो। पहिरोले पुरेको सम्भावित क्षेत्र पहिचान गर्दा समेत बेपत्ताको कुनै पत्तो नलागे काबेली खोलालाई आधार मानेर खोजी गर्ने सुरक्षा फौजले नीति लिएको छ। पहिरोले बगाएर लैजाँदा काबेली खोलामै मिसाउने भएको पहिरो गएको क्षेत्र र काबेली खोल दुबैलाई बेपत्ताको खोजी कार्यको सम्भावित स्थल बनाइएको हो । पहिरोले एकाघरका सासु भगिमाया बुढाक्षेत्री,बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता छन्। उनीहरुसंगै पहिरोले बगाएका भालुखोपकै गणेश तामाङको शव काबेली खोलमा भेटिएको थियो।  

पहिरोले २ सय ३४ घर प्रभावित  

ताप्लेजुङमा आएको पहिरोका कारण जिल्ला भरमा २ सय ३४ घरका १ हजार ७४ जना प्रभावित भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार १३ घर पूर्ण रुपमा क्षति भएको छ भने १ सय १ घर उच्च जोखिममा रहेका छन्। १ सय ३२ घर परिवार जोखिममा रहेको समेत उनले जानकारी दिईन्।  

१० वटा झोर्लुङ्गे पुलमा क्षति  

पहिरोले जिल्लाभरका १० वटा झोर्लुङ्गे पुलमा पूर्ण क्षति गरेको छ। ६ वटा लघु जलबिद्युत र २ वटा सरकारी भवनमा समेत क्षति भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ। एउटा क्रमर,एउटा कल्भर्ट र एउटा कुखुरा फार्ममा समेत क्षति भएको तथा कयौं पशु चौपाया समेत मरेको बिपद् व्यवस्थापन समितिले जनाएको छ।  

प्रकाशित: ८ असार २०८० ०४:१२ शुक्रबार

ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु