समाज

डिआईजी सिलवालको रिट सर्वोच्चले स्थगित गर्‍यो

डिअाइजी सिलवाल

काठमाडौं—सर्वोच्च अदालतले डिआईजी नवराज सिलवालद्वारा दायर रिटको सुनुवाई स्थगित गरेको छ।  डिआइईजी सिलवालले प्रहरी महानिरीक्षक नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले उक्त रिटमाथि आज सुनुवाई मिति तोकेकी थिइन्। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सिलवालले कागजात कीर्ते गरेको ठहर सरकारले गरेको थियो। सत्तारुढ दलहरु नेपाली कांग्रेस-माओवादी केन्द्रले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर प्रधान न्यायाधीश कार्कीलाई निलम्बन गराइसकेको अवस्थामा रिटमाथिको सुनुवाई स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले शक्तिको दुरुपयोग गरी कागजात कीर्ते गरेको, प्रयोगशालामा दवाब दिएर झुटो कागजात तयार पारेको बताएपछि सो विषय अझ पेचिलो बन्न पुगेको थियो। प्रमुख राजनीतिक दलहरु विभाजित भएको रिटमाथिको सुनवाई स्थगित गर्दै सर्वोच्चले विवादलाई पर सारेको हो।

सर्वोच्चले यो मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने स्पष्ट पारेको छैन। सरकारले चैत २८ मा प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि डिआईजी सिलवालले कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: १९ वैशाख २०७४ ०७:४५ मंगलबार

डिआईजी सिलवालको रिट सर्वोच्चले स्थगित गर्‍यो