समाज

‘जाम जोन’ बन्दै जगाती

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती क्षेत्र ‘जाम जोन’ बनेको  छ । जिल्लाभरमा सबैभन्दा बढी जाम हुने क्षेत्रको रुपमा यो ठाउँ परिचित हुन थालेको छ । 

राजमार्गअन्तर्गत सूर्यविनायकदेखि जगातीसम्मको एक किलोमिटर खण्डमा दैनिक जाम हुने गरेको हो । विशेष गरेर बिहान र बेलुकी यो ठाउँमा अत्याधिक जाम हुने गरेको छ । काठमाडौंको कोटेश्वरदेखि सूर्यविनायकको सडक ६ लेन फराकिलो छ । त्यही कारण सूयविनायकसम्म जाम हुँंदैन । 

सूर्यविनायकदेखि पूर्वमा सवारीसाधनको चाप उतिकै भए पनि सडक भने ६ लेनबाट घटेर दुई लेनमा सीमित हुँदा यो ठाउँंमा जाम हुने गरेको हो । अरनिको राजमागमा सूर्यविनायकदेखि जगाती हुँदै बनेपासम्म सडक दुई लेन मात्रै छ । 

राजमार्ग खण्डमा जगातीसम्म सवारीको अत्याधिक चाप रहन्छ । जगातीबाट भक्तपुर चल्ने सयौं सवारीसाधन थपिने भएकाले सवारी चाप बढेको हो । जगातीबाट पूर्व भक्तपुरका गाडी थपिँदैन । त्यस मार्गमा बनेपा– धुलिखेलका सवारीसाधन मात्रै चल्छन् । 

दैनिक भक्तपुरबाट काठमाडौं जानुपर्ने बताउने रामकृष्ण श्रेष्ठले कार्यालय समयमा दैनिक बिहान र बेलुकी जगातीमा हुने जामले हैरान भएको भन्दै दिक्दारी पोखे । सूर्यविनायकदेखि कोटेश्वरसम्मको १० किलोमिटरको दुरी मोटरसाइकलबाट १५ मिनेटमा पार गरिन्छ,’ उनले नागरिकसँंग भने, ‘तर, जगातीदेखि सूर्यविनायकसम्मको एक किलोमिटर पार गर्न पनि जामले गर्दा त्यति नै समय लाग्छ ।’ 

भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनका अनुसार यो रूटमा भक्तपुर मिनीबस सेवा समितिअन्तर्गत तीन सय ३७ वटा मिनीबस चल्छन् । यसबाहेक जगाती भएर मध्य उपत्यका बस व्यवसायी संघअन्तर्गत भक्तपुरको च्याम्हासिंहदेखि काठमाडौं जाने झण्डै दुई सय बसका साथै दैनिक सयौं टिपरलगायत निजी सवारीसाधन चल्छन् ।  

 

प्रकाशित: १७ वैशाख २०७४ ०२:२७ आइतबार

जाम जोन बन्दै जगाती