समाज

खोटाङको खार्मीमा आगलागी हुँदा ३२ लाख क्षति

खोटाङ सदरमुकाममा आगलागी हुँदा ३२ लाख बढीको धनमाल जलेर नष्ट भएको छ। दिक्तेल रूपाकोट मझुवागढी-१ स्थित खार्मीका मानबहादुर मगरको घरमा दिउँसो आगलागी हुँदा उनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले  जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले दिउँसो २ बजे भएको आगलागीबारे प्रहरीलाई भने ३ बजे मात्र खबर आएकाले धनमाल बचाउन नसकिएको बताए। दिक्तेलदेखि एक घन्टा दूरीमा रहेको खार्मीमा आगलागी भएको खबर ढिला पाएकाले टोली घटनास्थल पुग्दा मगरको घर जलेर नष्ट भइसकेको र केही बचाउन नसकिएको उनले बताए।

आगोले ढुंगामाटोले बनेको जस्ताको छानोवाला चारतले घर, घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, सुनचाँदी र अन्य चल सम्पत्ति सबै जलेर ध्वस्त भएको छ। बर्खा लागेकाले परिवारका सबै सदस्य काम गर्न घर बाहिर निस्केका बेला लागेको आगो समयमा निभाउन नसक्दा मगर परिवारको धनमाल क्षति हुन पुगेको प्रहरी भनाइ छ। प्रहरीले स्थानीयको सहयोगमा ५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको छ।

विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको बताइएको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थलको विवरण संकलन गरी सर्जमिन मुचुल्का तयार गरी पीडितलाई आवश्यक राहतको व्यवस्था गर्न जिल्ला रेडक्रस सोसाइटी, नगरपालिका र जिल्ला प्रशासन कार्यालयस्थित विपद् उद्धार समितिलाई पहल सुरु गरिसकिएको डिएसपी मुकारुङले बताए।

हाललाई पीडित परिवारलाई छिमेकीका घरमा सुरक्षित गरिएको छ भने सोमबार बिहान आवश्यक राहत उपलब्ध गराएर आबासको बन्दोबस्त गर्न सामुहिक प्रयास गरिने मुकारुङले बताए।

प्रकाशित: ६ असार २०८० ०३:४८ बुधबार

खोटाङको खार्मीमा आगलागी हुँदा ३२ लाख क्षति घर र धनमाल जलेर नष्ट