समाज

उदयपुर पनि विपद्को जोखिममा, बेलकामा नदी कटान सुरु

अघिल्लो रातको वर्षापछि आएको बाढीले बेलका ७ रंगमहल नजिकै गरेको कटान। तस्विरः महेश्वर

केही दिन अघि भएको भारी वर्षापछि आएको बाढी पहिरोको विपद्ले पूर्वी नेपालमा ताप्लेजुङ, पाँचथर र संखुवासभामा १० जनाको ज्यान जानुका साथै बेपत्ता २६ जनाको खोजी कार्य भइरहँदा उदयपुर पनि विपद्को उच्च जोखिममा परेको छ।

वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्। गत वर्ष यही मौसममा सुनसरी र सप्तरीसँग जोडिएको बेलका ३ मा कटान गर्दै बाढी गाउँ पस्दा झण्डै २० हजार घरधुरी स्थानीय ३ महिनाभन्दा बढी विस्थापित हुन पुगेका थिए।

बेलका नगरपालिका ८ को सोमबारे कोठुनजिकै लाहुरेखोँचमा झण्डै ३ सय मिटर जमिन कटान गरेर गाउँ पसेको बाढीले स्थानीयलाई विस्थापित गर्नुका साथै करोडौँ धनमाल नष्ट गरेको थियो। बाढी रोकथाम गर्न त्यति बेलै नगरपालिका, प्रदेश तथा संघीय सरकारले कसरत गर्दै लगानी गरेर बचाउ थालेका थिए।

यो वर्ष पनि प्रारम्भिक वर्षामै नदीले कटान सुरु गरेपछि त्यस्तै विपद् दोहोरिने सम्भावना बढेको स्थानीय गणेश बस्नेत बताउँछन्। उनका अनुसार केही दिनअघि सामान्य वर्षाले नै कटान गरेर बाढी गाउँ पस्ने देखिएपछि तत्काल रोकथामको पहल थाल्न सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन्।

अर्का स्थानीय रमण भट्टराईले गएको वर्षजस्तो क्षति र आपत्ति आउन नदिन बेलैमा स्थानीय र प्रदेश तथा संघीय सरकारले रोकथाम र पूर्व तयारी गर्नुपर्ने सुझाएका छन्। नउले हरेक वर्ष आई पर्ने यस्तो आपत्तिलाई दीर्घकालीन रुपमा समाधान गर्ने योजना सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको बताए।

बेलका ८ का वडाध्यक्ष जयकुमार राईले सुरुकै वर्षाले गत वर्ष भत्काएको ठाउँभन्दा साढे ३ सय मिटर माथि ७ नं. वडाको रंगमहल आसपास कटान गर्न थालेको बताए। गत वर्ष ३ न. को लाहुरे खोँचमा कटान गरेर बाढी गाउँ पसेकोमा यो वर्ष त्यो भन्दा माथि नै कटान हुन थालेपछि बाँध बाँध्ने कार्य सुरु भएको छ। हाललाई नगरपालिका विपद् व्यवस्थापन समिति अन्तर्गत ठूलाठूला ढुंगा राखेर कटान रोक्ने प्रयास सुरु गरिएको अध्यक्ष राईले बताए।

सो ठाउँमा कटान भएर बाढी पसेको खण्डमा बेलका ७ का केही भाग, ३, २ र ९ नं. वडामा व्यापक जमिन कटान गर्नुका साथै जनधनको क्षति गर्ने सम्भावना रहेको उनले बताए।

बेलैमा बाँध बाँध्न वडाले पहल गरे अनुसार नगरपालिकाले काम सुरु गरेको र सकेसम्म कटान हुनबाट रोक्ने गरी काम हुन उनको भनाई छ।

‘पोहोर पनि नदी कटानले सास्ती भोग्नु परेको थियो, यसपालि सुरुमै अर्को ठाउँमा कटान हुन लाग्यो’ वडाध्यक्ष राईले भने ‘यो वर्ष ३/४ सय मिटर माथि नै होचो ठाउँमा कटान हुन लागेकाले आजदेखि ढुंगा राखेर बाँध निर्माण कार्य थालेका छौँ।’

बेलैमा सचेत नभए बेलकाका ४ वटा वडावासी ३÷४ हजार घरधुरी स्थानीयलाई विस्थापित गर्नुका साथै अपूरणीय क्षति हुने सम्भावना रहेको उनले बताए। गत वर्ष लाहुरेखोँचबाट कटान गरेर बाढी पस्दा २० हजार घरधुरी विस्थापित रु आहत भएका थिए। सो ठाउँमा संघीय सरकारले सिँचाइ विभाग अन्तर्गत ३ सय मिटर लामो बाँध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सिँचाइ मन्त्रालयले बाँध निर्माणका लागि २ करोड बजेट विनियोजन गरेर ठेक्का लगाए अनुसार काम भइरहेको वडाध्यक्ष राईले बताएका छन्।

यस पटक त्योभन्दा माथि नै कटान सुरु भएपछि समयमै रोकथाम गर्न नसके अकल्पनीय विपद् आइपर्ने सम्भावना रहेको छ। यो सँगै सुनसरी र सप्तरी सिमानाबाहेक बेलकालाई मध्य भागका गिनेरी, शिसुवा, सेती, काली खोला तथा चुरे शीर भएर बग्ने दर्जन बढी खहरेमा आउने बाढीले स्थानीयको भोक निन्द्रा हरन गर्ने गरेका छन्।

त्यसैगरी यता सदरमुकाम क्षेत्रलाई त्रियुगा, बरुवा, लुहाले, कङ, ठाडी, शाही, सरस्वती खोला खहरेले पनि ताण्डव देखाउने गरेका छन्। चौदण्डी गढी नगरपालिकामा त्रियुगा, द्वार, लामा, सुन्दरी खोलाहरुको पिरलो कायम रहँदै आएको छ भने कटारी नगरपालिकामा वैजनाथ, तावा, ककुर, खोला तथा सिन्धुली सीमा भएर बग्ने कमला नदीसँगै दर्जन बढी चुरे शीर भएका खहरेहरु त्यसभेगका लागि काउसो साबित हुँदै आएका छन्। समयमै रोकथाम नगरेमा जिल्लावासीलाई बाढी पहिरोले निकै ठुलो समस्यामा पार्ने सम्भावना रहेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले सबै स्थानीयतहसँग समन्वय गर्दै विपद् रोकथामका लागि योजना निर्माण गर्दै पूर्व तयारीको कार्यक्रम बनाएको जनाएको छ।

उदयपुरको २ तिहाई भूभाग पहाडी भेगमा पर्छ भने १ तिहाई तराई तथा भित्री मधेसमा पर्छ। हरेक वर्ष उदयपुरका सदरमुकामलगायत जिल्लाभरी वर्षा याममा बाढी पहिरोले दुःख दिने गरेको छ।

प्रकाशित: ५ असार २०८० १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App