समाज

तरकारी खेतीमा गाउँमै छ सम्भावना

पाल्पा – समयको मागलाई चिनेर सामूहिक प्रतिबद्धताका साथ तरकारी खेती गर्न सके गाउँमै राम्रो सम्भावना रहेको तथ्य मदनपोखराका किसानले प्रस्तुत गरेका छन् । तानसेन–९ मदनपोखरा गाउँका किसानले व्यावसायिक रूपमा लगाएको तरकारीबाट मनग्य आम्दानी लिँदै आएका छन् । 

व्यवसायिक रूपमा तरकारी लगाउने किसानको संख्या बढ्दै गएको छ । कृषकहरूको उत्पादन मदनपोखरा बहुउद्देश्यीय कृषि बजार सहकारी संस्थामा पु¥याउने गर्छन् । मध्यस्थकर्ताको भूमिका सहकारीले तरकारी संकलन केन्द्र रुपमा गर्छन् । किसानले संकलन केन्द्रलाई प्रतिकिलो २५ पैसा दिने गर्छन् । व्यापारी तरकारी लिन बुटवल, तानसेन, स्याङ्जा र पोखरादेखि यहाँ आउँछन् । 

२०५८ सालमा स्थापना भएको यो सहकारीमा दुई सय आठ किसान घरपरिवार सदस्य छन् । उनीहरुले वार्षिक एक मेट्रिक टन तरकारी कम्तिमा पनि उत्पादन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नीहरुलाई जति तरकारी उत्पादन गरे पनि बिक्रि गर्ने कुनै चिन्ता छैन । न चिन्ता भाउको । सबै व्यवस्था सहकारीबाटै हुन्छ । थोरै तरकारी खेती गर्ने यहाँका किसानले कम्तिमा पनि वार्षिक एक देखी दुई लाख आम्दानी गर्दै आएको व्यवस्थापक वेदप्रसाद सुवेदीले बताए । उनी भन्छन्, ‘प्रायः यस क्षेत्रमा सबैको घरमा व्यवसायीक रुपमा गरिएको तरकारी छ । उनीहरुले घरबाट एक किलो पनि बिक्रि गर्दैनन् । अहिले यहाँका किसानले वार्षिक आठ लाख ५१ हजार रुपैयाँसम्म आम्दानी गरेको देखिन्छ ।’ 

झण्डै १२ वर्षदेखि व्यवसायीक रुपमै तरकारी लगाउँदै आएका मदनपोखराका इन्द्रप्रसाद पौडेलले तरकारीले नै यहाँका अधिकांश घरपरिवारको जीवनस्तरमा परिवर्तन ल्याएको अनुभव सुनाउँछन् । ‘व्यवसायीक रुपमा कुनै कृषि हुँदैनथ्यो । मकै र कोदो लगाउँदा त्यति आम्दानी नहुने । सहकारीको अवधारणा आएसँगै तरकारी लगाउन थालेपछि वर्षको पाँच लाखभन्दा बढी कमाइ हुन्छ,’–पौडेलले भने । बजारीकरणको किसानलाई कुनै चिन्ता हुँदैन । उत्पादन गर्न सके हुन्छ । अहिले काँक्रा, टमाटर, खुर्सानी, सेमी, भाण्टा, मूला लगायतको तरकारी उत्पादन भैरहेको छ, कृषक पौडेलले भने । असन्तुलित बजारमा आज र भोली तरकारीको मूल्य फरक हुने भएकोले बाहिर तरकारी बिक्रि गर्दा किसानलाई मर्का पर्न सक्नछ, उनले भने । अहिले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अप्ठारो छ । ‘उनीहरुले हेक्टरमा खेती गर्छन, टनमा बिक्रि भने हामी आनामा खेती गरि केजीमा उत्पादन गर्ने हो । प्रतिस्पर्धा गर्न समस्या छ । तरकारी खेतीमा युवा आकर्षण छैन । संस्थागत कार्य हुँदा समस्या केही कम भएको हो,’–सहकारीका सल्लाहकार समेत रहेका पौडेलले भने । 

गत महिनासम्म मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्थाले चार सय सात मेट्रिकटन विभिन्न तरकारी संकलन गरि बिक्री गरिसकेको छ । उक्त तरकारी बिक्रीबाट ८८ लाख ४७ हजार ४९ रुपैयाँ कारोबार भएको व्यवस्थापक सुवेदीले बताए । ‘गत वर्ष सात सय १५ मेट्रिक टन तरकारी बिक्रीबाट एक करोड ५६ लाख ६२ हजार बराबरको कारोबार भएको थियो । गत वर्ष झण्डै दुई लाख संस्थालाई आम्दानी भएको थियो ।’ 

साविक मदनपोखरा गाविस वडा नं. ७, ८ र साविक तानसेन १४ का अधिकांश घरपरिवारको मुख्य पेशा कृषि हो । कृषिमा पनि उनीहरुले तरकारी खेतीलाई रोजेका छन् । यो बहुउद्देश्यीय सहकारी जिल्लाकै नमूना सहकारी पनि हो । यो सहकारीले कृषकहरुलाई विउबिजन, प्राविधिक सेवा, बजारिकरण, कृषि यान्त्रिकरण आदीमा कृषकहरुलाई सहयोग पुर्याउँदै आएको छ ।

 

प्रकाशित: १३ वैशाख २०७४ ०४:५६ बुधबार

तरकारी खेतीमा गाउँमै सम्भावना