समाज

जेब्राक्रसमै यात्रु असुरक्षित

काठमाडौं– राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले कानुनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँदा सर्वसाधारण असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाहीका कारण गत आवमा ७५ जना पैदल यात्रुले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

आइतबार बिहान प्रातभ्रमणबाट फर्किएका सुवेदीलाई पौने ९ बजे अनामनगरस्थित बाजेको सेकुवाअगाडिको  सडकमा बाटो काट्ने क्रममा अनामनगरबाट हनुमानस्थानतर्फ  जाँदै गरेको बा ७९प ४३९२ नम्बरको यामहाको आए एन फाइन मोडलको मोटरसाइकलले ठक्कर दिएको थियो ।

काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले कानुनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँदा सर्वसाधारण असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाहीका कारण गत आवमा ७५ जना पैदल यात्रुले ज्यान गुमाएको महाशाखाले जनाएको छ । ‘सडक जताततै भत्काएर पैदलयात्री हिँड्ने फुटपाथको निसानै मेटिएपछि सडकबाटै पैदल यात्री हिँड्नुपर्ने बाध्यता छ,’ ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘काठमाडौं उपत्यकामा पैदल यात्रु जोगिएर हिँड्नै मुस्किल भइसक्यो ।’ उनका अनुसार सवारीचालकले अनियन्त्रित ढंगले सवारीसाधन चलाउँदा पैदलयात्रु असुरक्षित बनेका छन् । ‘उपत्यकाको सडकमा न्यूनतम पूर्वाधारसमेत छैन, जसले दुर्घटनाको जोखिम बढाइरहेको छ । त्यसैले सरकार गम्भीर भएर पूर्वाधार निर्माणमा लाग्नुपर्छ’, उनले भने ।

‘सवारी दुर्घटनामा मारिएका १ सय ६६ जनामध्ये करिब ४० प्रतिशत पैदल यात्रु  छन्’, लामाले भने, ‘सडक साँघुरो हुँदा पैदलयात्रु असुरक्षित बन्दै गइरहेका छन् ।’ उपत्यकाका सडकमा कतिपय ठाउँमा जेब्राक्रस संकेत गर्ने सेता धर्सा छैनन् भने भएका ठाउँमा पनि मेटिइसकेका छन् । सडक मर्मत तथा सम्भारको जिम्मा पाएका निकायबीच नै समन्वय नहुँदा लामो समयदेखि सवारीचालक तथा पैदल यात्रुले सास्ती भोगिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा डिआइजी लामा सडकमा व्यवस्थित पूर्वाधार नहुँदा सडक दुर्घटनाको जोखिम बढिरहेको  बताउँछन् । ‘उपत्यकामा भएका फुटपाथ जति सबै व्यापारीले अतिक्रमण गरेका छन् । पैदलयात्रीको लागि टेक्ने ठाउँसमेत छैन, जसले गर्दा जोखिम मोलेर नै सडकमा  हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सडक सुधार्न पटकपटक सडक विभाग तथा महानगरपालिकालाई घचघच्याइसक्यौं । तर, अहिलेसम्म सडकमा चाहिने अत्यावश्यक पूर्वाधार बन्न सकेको छैन ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  काठमाडौं उपत्यकामा ४० प्रतिशत पैदलयात्री सडक दुर्घटनाको कारणले ज्यान गुमाउने गर्छन् । आव २०७२÷७३ मा १ सय ६६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

बढी सिसी(इन्जिन क्षमता)का मोटरसाइकल धेरै दुर्घटनामा

ट्राफिक प्रहरीका अनुसार अधिकांश १ सय ५० सिसीभन्दा धेरैका मोटरसाइकल दुर्घटनामा पर्छन् । ‘साना सिसीका मोटरसाइकलभन्दा ठूला सिसीका मोटरसाइकल अत्यधिक दुर्घटनामा पर्ने गर्छन्,’ ट्राफिक प्रहरी निरीक्षक सिलवालले  भने, ‘अत्यधिक स्पीड नै दुर्घटनाको मुख्य कारण हो ।’ उनका अनुसार पल्सर, आरएन फाइभलगायतका सवारीसाधन अत्यधिक दुर्घटनामा पर्ने गरेका छन् ।

प्रहरी निरीक्षक सिलवालका अनुसार जेब्रा क्रसमा पैदलयात्री हिँडदा सवारी चालकले उच्च प्राथमिकता दिनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ अनुसार पैदल हिँडने मानिसले बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, सब–वे, ब्रिज वा त्यस्तो बाटो काट्न निर्धारित गरिएको ठाउँबाट मात्रै काट्नुपर्ने प्रावधान छ । तर, ऐनमा जेब्रा क्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने, प्रस्ट उल्लेख छैन ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । त्यस्तै सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा दुई वर्षदेखि १० वर्षसम्म कैद हुन्छ ।
 

प्रकाशित: १३ वैशाख २०७४ ०३:१२ बुधबार

जेब्राक्रसमै यात्रु असुरक्षित