समाज

वसन्तपुरमा तल्लिन गणपति

काठमाडौं- २०७२ बैशाख १२ को भूकम्पले वसन्तपुरलाई तहसनहस बनायो। त्यहाँ रहेका काष्ठमण्डपदेखि पुरातात्विक महत्वका दर्जनौं सम्पदा भत्किए। भूकम्प गएको दुई वर्ष वितिसक्यो खण्डहर उस्तै छ। टेको लगाएर, पाल ओडाएर सम्पदा राखिएको छ।

यो दृश्य देख्दा वसन्तपुर पुग्ने जो कसैलाई पनि भूकम्पको झल्को आउँछ। मनै काप्न थाल्छ। झोंछेँका गणपतिलाल श्रेष्ठ (२८)लाई भने यो दृश्यले मन पोलिरहन्छ। बिहानदेखि साँझसम्मै वसन्तपुर, हनुमानढोका, झोंछेतिर विताउने गणपति त्यसैले त वसन्तपुरका सम्पदालाई नयाँ जीवन दिन दिनरात नभनि कस्सिएका छन्।

कहिले उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुग्छन्। कहिले पुरातत्व विभाग। कहिले महानगरपालिका त कहिले सम्पदालाई कसरी चाँडो र मौलिक शैलीमा नयाँ जीवन दिन सकिन्छ भनेर स्थानीयसँगको छलफलमै दैनिकी विताउँछन्।

भूकम्पले गणपतिको पनि घर भत्कायो। घरको जति चिन्ता लाग्यो, त्यो भन्दा बढी त वसन्तपुरका सम्पदा भत्किदा चिन्ता भयो उनलाई।

क्षेत्रपाटी थिए गणपति भूकम्पले पृथ्वी हल्लाउँदा। दगुरेर झोछें पुग्दा आँखै अगाडि घर भत्कियो। जोगिँदै वसन्तपुर आइपुगेका गणपतिले हृदयविदारक दृश्य देखे।

शनिवारको दिन निकै चाप थियो वसन्तपुर घुम्नेको। सम्पदा ढल्दा धेरैलाई किचेको थियो। कोही चिच्याइरहेका थिए, कोही हात खुट्टा हल्लाएर बचाउको संकेत गरिरहेका। जमिन उसैगरी हल्लिरहेको थियो। यो कुनै प्रवाह गरेनन् गणपतिले। स्काउट, रेडक्रसमा तालिम लिदा सिकेका आफू सुरक्षित रहेर अरुलाई बचाउको विधि अपनाएर उद्धारमा जुटे उनी।

दाजु रञ्जनलाल श्रेष्ठ, साथीहरु अमितमान महर्जन, उपकारलाल श्रेष्ठ, लोचनी बज्राचार्य र सुधीर डंगोल लगायतले साथ दिए उनलाई। छिनभित्रमै काष्ठमण्डप आसपासबाट १९ जनाको शव निकाले उनीहरूले। केहीलाई जिवितै पनि उद्धार गर्न सफल भयो उनीहरुको टिम। साथीहरु थपिदै गए। उद्धारमा खटिने युवाहरूको ठूलै समूह खडा भयो। सम्पदा क्षेत्रमा डोजर चलाउँदा सम्पदा विग्रन सक्छन्। पुरिएका जीवितै हुन सक्छन्। त्यसैले त डोजर चलाउन दिएनन् उनीहरुले। सबै काम गर्न खटे।

सम्पदाको भवनावशेष (इँटा, काठ तथा सम्पदामा रहेका महत्वपूर्ण सामग्री) दुई दिनमै छानेर पार लगाए। ‘पुरातत्व विभागलाई पर्खिएको भए सायद महिनौ लाग्न सक्थ्यो। अनि कतिपय सामग्री त हराउन सक्थेँ,’ गणपतिले दुई वर्षअघिका ती दिनहरु सम्झे, ‘युवा परिचाल गनर्ेे हो भने सम्पदा होईन देशले नँया जीवन पाउन सक्ने रहेछ भन्ने कुरा मैले भूकम्पबेला थाहा पाए।’ उनलाई अहिले लाग्छ, ‘हामी युवाहरु लागेका थिएनौं भने वसन्तपुरका पुरातात्विक धेरै सामग्री हराउथेँ।’ उनी भूकम्पबेला मात्रै होईन वसन्तपुर क्षेत्रमा सँधै तल्लिन छन्। पछिल्लो समयमा सम्पदा संरक्षणको निम्ती खडा भएको संर्घष समितिमा रहेर खटिरहेका छन् उनी। यही खटाइले त अहिले वसन्तपुर आसपासका भित्रि सहरमा कतैपनि फुटपाथ पसल देखिदैन्। फोहोर कतै छैन्। जथाभावी पार्किङ पनि घटेको छ। अनैतिक क्रियाकलप गर्नेको जमात त सुन्य जस्तै बनेको छ भित्री सहरमा। उसो त उनी भूकम्पछि होइन सम्पदा क्षेत्रलाई सम्पदा जस्तै बनाउनको लागि वसन्तपुरमा पूर्ण रुपमा खटेको १२ वर्ष पुग्नै लागेको छ।

गणपति अग्रपंक्तिमा उभिन्छन्। उनले उनकै टोलका साथीले साथ दिन्छन्। यही साथले वसन्तपुर वरपर हुने यौनजन्य र दुर्व्यसनी गतिविधि नियन्त्रण, सम्पदाको सुरक्षा तथा सरसफाई, झोंछेको पूर्नजीवन हुने सकेको छ। वसन्तपुरमा हुने अनुचित कार्य हटाउने, घुम्ती तथा छुट्टै पुलिस बिट स्थापना गर्नेे, सडकमा बिजुली बत्तीको व्यवस्था गर्न सफल भएका छन्। भित्री सहरको कलाकृति, साजसज्जालाई पनि जोगाउन सकेका छन्। पुरानो ठमेल तथा फ्रिक स्ट्रिट भनेर चिनिने हिप्पी एरिया झोंछे कुनैबेला नराम्रो बनिसकेको अहिले पहिलाकै अवस्थामा फर्कदैछ।

धरहराको विषयलाई लिएर काठमाडौं महानगरपालिकासँग पनि धेरै पटक टेबुल ठटाइसकेका छन् उनले। २०६९ चैतमा धरहरा चलाउन साइडवाकर्स ट्रेडर्स निजी कम्पनीलाई जिम्मा दियो। कम्पनीले सम्झौतालाई अटेर गर्दै कसरी बढी नाफा कमाइन्छ भनेर चलायो।

सम्झौता अनुसार चलाएको थियो भने धराहरमा एकपटकमा १५ भन्दा बढीलाई प्रवेश दिन पाईदैन् तर कम्पनीले भूकम्प आउने दिन दर्जनौंलाई चढाएको थियो। जसले गर्दा धेरैले ज्यान गुमाए। कम्पनीले भूकम्पले धराहर भत्काएपछि पनि दोहन गरिरहेको छ। ‘धराहर आधा भत्किएर बसेको छ,’ उनले भने, ‘मलाईचाँही त्यहाँ पुग्दा चस्स मन दुख्छ तर जिम्मेवार कम्पनीचाँही त्यसैलाई आम्दानीको स्रोत बनाइरहेको छ।’

अझ चाख लाग्दो कुरा त धराहर भत्किएमा कम्पनीले बनाउनुपर्ने सम्झौतामा उल्लेख छ तर सरकार भने नाफा कमाउने कम्पनीलाई उन्मुक्ति दिएर धराहर आफैं बनाउन कस्सिएको छ। यो विषयमा खबरदारी गर्न निरन्तर छन् गणपति। सम्बन्धित निकाय तथा प्रधानमन्त्री कार्यालयसम्म सबैतिर खबरदारी गरिरहेका छन्।

उसो त हनुमानढोका वसन्तपुर क्षेत्र पनि त टेन्डरविनै महानगरपालिकाले निजी क्षेत्रलाई दिन सम्झौता गरिसकेको थियो। धराहर चलाउने सिद्ध गुरुङ समूहलाई नै दिने थाहा पाएपछि गणपति अग्रपंक्तिमा रहेर आन्दोलनमै उत्रिए। आठ महिनासम्म निरन्तर संघर्ष चल्यो। सर्वोच्च अदालतमा मुद्दा नै चल्यो। अन्ततः सर्वोच्च अदालतले निजीलाई दिनबाट जोगायो।

‘सर्वोच्चले हाम्रो पक्षमा मुद्धा फैसला गरिदिएको थिएन् भने सायद निजी कम्पनीले वसन्तपुर क्षेत्रलाई धरहरा जस्तै गरेर दोहन गरिरहेको हुन्थ्यो होला,’ गणपतिले गम्भिर मुद्रामा सुनाए, ‘सम्पदा त हाम्रा मुटु हुन्। तरपनि सरकारले किन चिन्न सकेकेा छैन्?’ तर, अब उनीहरु सरकारको मुख ताकेर बस्ने सोचमा छैनन्। ‘सरकारले बनाउँला भन्दाभन्दै दुई वर्ष वित्यो,’ उनले भने, ‘बनाएका सम्पदा पनि मौलिकता कायम राख्न सकेन्। अब भने हामी आफैं कस्सिन्छौं।’

दुई वर्षसम्म उनीहरु सम्पदाको भग्नाशेष जोगाउन लागि परे। चाँडो सम्पदा उठाउन परो भनेर सरकारलाई दबाब दिन लागि परे। अनि सरकारले बनाउँदै गरेका सम्पदा मौलिकता कायम गराउन लागि परे। यतीले मात्रै नपुग्ने देखेपछि अब गणपति अग्रपंक्तिमा उभिएर सम्पदा आफैं उठाउन जुटेका छन्। ‘सबै मिलेर सुरुमा काष्ठमण्डप पुनर्निर्माण थाल्दैछौं,’ उनले सुनाए, ‘बैशाख १२ मा काष्ठमण्डप पुनर्निर्माण घोषणा गरेर सोही दिनबाट काम सुरु गर्न लागेका हौं।’ स्थानीय, विज्ञ सबैको टोली मिलेर बनेको काष्ठमण्डप पुनर्निर्माण अभियान समूहले नै सुरुवात गर्न लागेको हो। यसको लागि सरकारी प्रक्रिया मिलाउँदै छन् अहिले उनीहरु। यसपछि अन्य सम्पदा पनि हातेमालो गर्दै उठाउन कस्सिएका छन्। यसको अग्रपंक्ति उनै पैदलबाटै सिंगो नेपाल घुम्ने चैतन्यलाल श्रेष्ठका छोरा गणपति छन्।

प्रकाशित: १२ वैशाख २०७४ ०३:२५ मंगलबार

वसन्तपुरमा तल्लिन गणपति