समाज

व्यवसायदेखि समाजसेवासम्म

वीरगन्ज- प्राइभेट फर्ममा नोकरीबाट व्यावसायिक जीवन–यात्रा सुरु गरेका उद्योगपति विश्वनाथ साहले समाजसेवीको पहिचान बनाएका छन्।

करिब पाँच दशक उद्योग–व्यापारमा सक्रिय विश्वनाथ 'रिटायर्ड लाइफ' समाजसेवामा बिताइरहेका छन्। जीवनकालमा उनले दर्जन उद्योग सञ्चालन गरे। नयाँ पुस्ताका उद्योगी व्यवसायीमाझ अभिभावकको छवि बनाएका छन्, उनले। ८४ वर्षीय विश्वनाथ आर्थिक तथा सामाजिक विषयका जानकार र प्रखर वक्तासमेत हुन्।

'उनी (विश्वनाथ) संघर्षबाट बनेका सफल उद्यमी हुन्, यसअलावा उनी सामाजिक व्यक्तित्व र असल मानिस पनि हुन्,' अग्रज पत्रकार जगदीश शर्माले साहको बारेमा प्रकाश पारे, 'उनी मानिसको सुख–दुःखमा रुची राख्छन् र परोपकार गर्न सधै अघि सर्छन्।' उनका अनुसार विश्वनाथले सामान्य जागिरबाट जीवनयापन सुरु गरे। त्यसपछि व्यवसाय, ठेक्कापट्टा हुँदै सफल उद्यमी बने।

आधा दशकअघि अर्को पुस्तालाई उद्योग–व्यापार हस्तान्तरण गरी सामाजिक कार्यमा समर्पित छन्।

विश्वनाथ 'समर्पण सेवा संस्था'मार्फत समाजसेवामा क्रियाशील छन्। सो संस्थामा उनले आफ्नो वा परिवारको नाम उल्लेख गरेका छैनन्। 'समाजसेवा गर्न खुलेको संस्थामा नाम उल्लेख गर्नु अहम परिपूर्ति गर्नु हो,' उनी भन्छन्, 'परोपकारी काममा खर्च गर्न र खर्च जुटाउन पछि पर्दैन।' अहिलेसम्म के गरे भन्नेबारे चर्चा गर्नु आवश्यक नरहेको उनी बताउँछन्।

योगदान

उनले गरेका कामबारे सहर अपरिचित भने छैन। समर्पण सेवा संस्थाले चितवनको देवघाटमा अतिथि सदन, वीरगन्ज कारागारमा ३२ आधुनिक शौचालय निर्माण तथा खानेपानी जडान, गण्डक चोकमा यात्रु प्रतीक्षालय, घण्टाघर चोकमा आधुनिक प्रहरी बिट, विभिन्न स्थानमा निःशुल्क खानेपानी इकाइलगायत संरचना बनाएको छ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा 'बर्न वार्ड' विश्वनाथले नै बनाएको धेरैलाई थाहा नहुन सक्छ। उनले वीरगन्जको बिन्दवासनीमा १४ बिघा जग्गामा व्यवस्थित वृद्धाश्रम सञ्चालन गर्ने तयारी थालेका छन्।

ओम हनुमान वृद्धाश्रमका अध्यक्षसमेत रहेका विश्वनाथ अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।

मठमन्दिर तथा धर्मशाला निर्माणदेखि सामाजिक महŒवका विभिन्न आयोजनामा उनले आर्थिक सहयोग र कतिपय अवसरमा नेतृत्वदायी भूमिका गर्दै आएको युवा व्यावसायी विनय यादव बताउँछन्।

दलितलाई जिविका चलाउन सहयोग गर्ने, जाडोयाममा विपन्न बस्तीमा न्यानो लुगाकपडा वितरण गर्दै आएका छन्।

विश्वनाथ दर्जन भन्दा बढी प्रतिष्ठान र संस्थामा सक्रिय छन्। मुलुकमा उद्योग व्यापारको व्यावसायिक विकास गराउन नीतिगत सुधारका निम्ति आवाज उठाउँदै आएका उनलाई वीरगन्जका नयाँ पुस्ताका उद्योगी व्यापारीले अभिभावकका रूपमा मान्दै आएका छन्।

पृष्ठभूमि

पढाईमा गतिला भए पनि साह बनारसमा पढ्दै गर्दा पारिवारिक कारणले कक्षा १० को अन्तिम जाँच दिन भ्याएनन्। व्यावसायिक जीवनको सुरुवात गर्न किशोर अवस्थामा छँदा उनी २००८ मा आफन्तकँहा आए। त्यसपछि उनी यही जमेर बसे। उनी वीरगन्जमा जसरी बसेका छन्, उनीभित्र वीरगन्ज र नेपाल त्यसैगरी बसेको छ। 'व्यावसायिक जीवनयापनमा लागेपछि जीन्दगी नै पाठशाला भयो,' उनी सगर्व भन्छन्।

औपचारिक शिक्षा धेरै नभए पनि उनी (विश्वनाथ) बहुआयामिक जानकारी राख्ने गरेको वीरगन्ज उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया बताउँछन्।

'पढेलेखेको हुनु र बुद्धिमान हुनु फरक कुरा हो। यो कुरा उनको व्यक्तित्वबाट अनुभूति गरेको छु। औपचारिक शिक्षा धेरै नभए पनि उनी बहुआयामिक जानकारी राख्छन्,' पूर्वअध्यक्ष सिकारिया भन्छन्, 'राजनीति, आर्थिक तथा उद्योग व्यापारका नीतिगत तथा व्यवहारिक कुरा, इतिहास र अध्यात्ममा उनले त्यतिकै जानकारी राख्छन्।' सामाजिक क्षेत्रमा उनको चासो, योगदान र सक्रियता रहेको सिकारिया बताउँछन्।

सिकारियाले भने जस्तै सन्तजस्तो बोली, व्यवहार र आरचणमा बस्ने विश्वनाथका कुरामा खारिएको अनुभव र दार्शनिकता दुवैको समिश्रण पाइन्छ। उनको सम्पर्कमा आउने जो कोही पनि प्रभावित नभइरहन सक्दैनन्। आधा दर्जन जति औपचारिक सम्मान पाएका उनी जीवन उन्नयनको आध्यात्मिक विधा 'बिपासना'का साधक पनि हुन्। धम्म तराई बिपासना केन्द्र्र पारवानीपुरका संस्थापक रहेका उनी उक्त केन्द्र सञ्चालनका लागि पनि खर्च गर्दै आएका छन्। बिपासनालाई उनी मानव जीवनलाई असल मार्गमा डोर्‍याउने माध्यमका रूपमा उल्लेख गर्ने गरेका छन्।

'मानिसले जे काम गरिरहेको छ, त्यसलाई सचेत र आनन्दपूर्ण ढंगले गर्न ऊर्जा हासिल गर्ने र मानव जीवनलाई अन्ततः मोहरहित बनाउने माध्यम हो बिपासना,' उनी भन्छन्। ११ दिनसम्म नबोललीकन निःशब्द बस्ने र ध्यान केन्द्रित गर्ने यो अध्यात्मिक विधाको शिविरमा बस्दाको अनुभूति शब्दमा बयान गर्न नसिने उनी बताउँछन्।

सामान्य मानिसले 'सानो' स्तरको भन्ने काम गरेको उनी बिनासंकोच सुनाउँछन्। काम सानो वा ठूलो हुँदैन, मानिसले आफ्नो कर्म गर्दै जानुपर्छ भन्ने कुरा उनले जीवनमा मज्जाले उतारेका छन्। विश्वनाथलाई चिन्नेले उनको सफलताको आधार यसैलाई मान्छन्।

'वीरगन्ज आएपछि बाबुलाल टिबडेवालकहाँ काम सुरुवात गरे। त्यसको दुई वर्षपछि अर्को फर्ममा काम गरे। यहाँ आएको ६ वर्षपछि मात्रै काम गर्नेतिर लागेँ,' उनले व्यावसायिक जीवनको सुरुवातका घटना सुनाए, 'नोकरी गर्दा कृष्ण जन्माष्टमीको मेलामा खेलौना बेचेर अतिरिक्त आम्दानी गर्थे।'

२०२२/०२३ तिर बिदेशी सामान आयात गर्न थालेपछि कमाएको रकमबाट उद्योग सञ्चालन गरेको उनी बताउँछन्। छप्कैया कोल्ड स्टोर, कैलाश राइस मिल र एउटा मैदा मिल लिजमा लिएर सञ्चालन गरेर बटुलेको अनुभव पनि उद्योग सञ्चालनमा काम लागेको उनको भनाइ छ। २०३० मा मैदा र त्यसपछि चामल मिल सुरु गरेका थिए। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार व्यावसायिक जीवनमा हुँदा पनि उनी सामाजिक काममा निकै सक्रिय रहन्थे। विपासनाका प्रचारक र साधकका रूपमा लागेका विश्वनाथजीमाथि त्यसको पनि प्रभाव रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन्।

'व्यवसाय गरेपछि त्यसबाट नाफा आर्जन गर्नु एउटा स्वभाविक उद्देश्य हो। तर, उनी प्रचार नगरी सामाजिक काम गर्छन्, जबकी सानो काम गरे पनि धेरै प्रचार बटुल्ने जमाना छ,' विश्लेषक चन्द्रकिशोरले भने, 'आफ्नो जरोलाई नबिर्सेका उनी एक सफल उद्यमी हुन्।'

प्रकाशित: ११ वैशाख २०७४ ०५:५१ सोमबार

व्यवसायदेखि समाजसेवासम्म