समाज

महोत्तरीमा अवैध भदिरा भट्टी नष्ट

प्रहरीले गौशाला नगरपालिका क्षेत्र भित्र रहेको अवैध घरेलु मदिरा भट्टी  नष्ट गर्दै । तस्बिर :जिल्ला प्रहरी कार्यालय महोत्तरी

महोत्तरी – गौशाला नगरपालिका क्षेत्र भित्र सञ्चालित ७ वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने मदिरा भट्टी  प्रहरीले नष्ट गरेका छन् । 

इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर शम्भु पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलिले गौशाला नगरपालिका वडा नं. ५ मा रहेको ६ वटा र वडा नं. ४ स्थित एक वटा मदिरा भट्टी  नष्ट गर्नुका साथै मदिरा भट्टीहरूबाट उत्पादित ५५ लिटर तयारी मदिरा र एक हजार दुई सय लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताए । 

गौशालानगर क्षेत्रमा लामो समयदेखि अवैध घरेलु मदिरा उत्पादन भई बिक्री वितरण भइरहेको सूचना पाए लगतै इन्सपेक्टर पोखरेलले भट्टी  नष्ट गर्न प्रहरी टोलि लिएर घटना स्थल पुगेपछि तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरेका थिए। 

प्रहरीले नष्ट गरिएको भट्टीहरुबाट १७ थान सिल्भरको मदिरा बनाउने भाडो समेत बरामद गरेको छ । 
मदिरा भट्टी नष्ट गरिएपनि भट्टी संचालकहरू भने पक्राउ पर्न सकेको छैन । प्रहरी आएको सुइको पाएर भट्टी  संचालकहरू फरार भएपछि उनीहरू पक्राउ पर्न नसकेको एसपी लम्सालले बताए । 

उक्त मदिरा भट्टीहरुबाट उत्पादित मदिरा महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा खुलेआम बिक्री हुँदै आएको थियो । युरिया खाद्य , सखर , सडे गलेको प्लाष्टिक , चप्पल , मोजा र अन्नपात आदिलाई महिनौसम्म जमिन मुनि खाल्डो खनेर गलाएर अखाद्य पदार्थ मिसाइएर बनाइने ती भट्टीबाट उत्पादित मदिरा पिउनालले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने र मदिरा सेवनकै कारण कतिपयको ज्यान समेत जाने गरेको छ । 
चिकित्सकका अनुसार अवैध घरेलु मदिराबाट उत्पादित यस्तो मदिरामा मिथाइल अल्कोहल हुन्छ जसले रगत मार्फत सेवनकर्ताको मस्तिष्क र आँखामा सोझो असर पार्छ । मदिरा सेवनकर्ता मध्ये कतिपयको मस्तिष्कको कोष मरेर बेहोस भएको पाइने गरिएको चिकित्सकहरुको भनाई छ। 

अन्तः शुल्क ऐन २०५५ मा बिना इजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको बिगो जफत गरी सो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । यो प्रावधान लागु नहुँदा लाखौं राजस्व बुझाउने वैध मदिराको कारोवार समेत घटेको छ । 

 

प्रकाशित: १० वैशाख २०७४ ०६:०९ आइतबार

महोत्तरीमा अवैध भदिरा भट्टी नष्ट