समाज

सामाजिक सञ्जाल दुरुपयोग : परिणाम गम्भीर

काठमाडौं- प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ। साथीसँगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्‍याउनमात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ। युवकयुवतीमात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन्।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्।

लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन्। यसैको पछिल्लो कडीका रुपमा देखिएको छ सामाखुसीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण। उनको मृत्युको कारण सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग देखिएको छ। घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली खाता खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि आत्तिएर ‘आत्महत्या' गरेको निष्कर्ष निकालेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा बनेको समितिले संवेदनशील विषयमा विद्यार्थीसँग सहज रुपमा संवाद नगरेको र आवश्यक सुरक्षा प्रबन्धमा समेत चुकेको निष्कर्षसहित विद्यालय प्रशासनलाई समेत दोषी ठहर गर्दै वार्डेन शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।

कक्षा आठमा पढ्ने थापा चैत १७ मा विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए। विद्यार्थीका आफन्तले उनको हत्या भएको दाबी गरेका थिए भने विद्यालय प्रशासनले उनी आफैं हाम फालेको दाबी गरेको छ।

प्रहरीको छानबिनमा थापाको मृत्युको कारण विद्यालय प्रशासनको दाबीअनुसारकै देखिएको छ। प्रतिवेदनअनुसार ‘एकै कक्षामा पढ्ने छात्रासँग केही दिनअगाडि भएको झगडाको बदला लिन उनले सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरेर अश्लील सामग्री राख्दा' घटना भएको हो।

प्रतिवेदनअनुसार उनले फेसबुकमा छात्राको नाममा खाता खोलेर अश्लील सामग्री राखेका थिए। सोबारे विद्यालयले चाल पाएर छलफलका लागी अभिभावकलाई बोलाएपछि आत्तिएका उनी विद्यालयको छतबाट हाम फालेको प्रतिवेदनको निष्कर्ष छ। कक्षा आठको परीक्षा दिएर बसेका थापा र कक्षा आठमै पढ्ने छात्राबीच घटना हुनुभन्दा केही दिनअगाडि झगडा भएको थियो।

ती छात्राले उनलाई थप्पड हानेपछि बदला लिने भन्दै फेसबुकमा उनको नाममा नक्कली खाता खोलेर थापाले अश्लील सामग्री राखेका थिए। त्यसपछि उनले किशोरीका आफन्त, साथी र विद्यालयको अफिसियल फेसबुकमा समेत ‘फ्रेन्ड रिक्वेस्ट' पठाएका थिए।

प्रतिवेदनअनुसार उनले ती किशोरीका बाबुलाई समेत फ्रेन्ड रिक्वेस्ट पठाएका थिए। किशोरीका बुवाले रिक्वेस्ट एसेप्ट गरेर पेजमा हेर्दा अश्लील सामग्री देखेपछि छोरीलाई सोधेका थिए। छोरीले ‘मेरो हैन, नक्कली हो' भनेकी थिइन्।

छानबिनमा संलग्न अधिकारीका अनुसार बाबु–छोरीबीच कसले यस्तो गर्न सक्छ भनेर छलफल हुँदा केही दिनअगाडि झगडा भएको भन्दै उनले थापामाथि शंका गरेकी थिइन्। यो जानकारी बुवाले विद्यालय प्रशासनलाई दिएका थिए।

प्रतिवेदनअनुसार घटनाका दिन किशोरी र उनका अभिभावक विद्यालय गएर घटनाबारे जानकारी गराउँदै थापमाथि शंका भएको बताएका थिए। त्यसपछि विद्यालयकी वार्डेन गुरुङले अभिभावकको सम्पर्क नम्बर राखेको डायरी हेरिन्। डायरीमा किशोरको आमाको मोवाइल नम्बर थियो। गुरुङले नम्बर डायल गर्दा फोन थापाले नै उठाए। प्रतिवेदनअनुसार थापाले आमाको मोबाइल आफूसँग भएको बताएपछि गुरुङले उनलाई विद्यालयमा बोलाइन्।

उनी विद्यालयमा आएपछि वार्डेनले किशोरी र उनका बुबालाई सगैं राखेर केराकार गर्दा उनले रिसमा आफूले नक्कली फेसबुक पेज बनाएको स्वीकार गरेको प्रतिवेदनमा दाबी गरिएको छ। त्यसपछि गुरुङले विद्यालयका एक कर्मचारीलाई बोलाएर गाडीमा थापालाई सँगै लगेर अभिभावकलाई विद्यालयमा ल्याउन भनिन्  र आफ्नो काममा लागिन्। कर्मचारी सवारी चालक खोज्न गएका बेलामा ड्यांङ आवाज आयो त्यसपछि  थापा विद्यालयको प्रांगणमा घाइते अवस्थामा भेटिए– प्रतिवेदनमा उल्लेख  छ।

विद्यालय प्रशासनले उनलाई उपचारका लागि प्रहरी अस्पताल लगेर आफन्तलाई खबर गरेको थियो। थापाको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका थिए।

छानबिन समितिले महानगरीय प्रहरी कार्यालयका प्रमुख बमबहादुर भण्डारीलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा थापाको मृत्युको कारण बजारिनु उल्लेख छ।

प्रहरीले फेसबुक पेज खोल्न थापाले प्रयोग गरेको आमाको मोबाइलको फरेन्सिक परीक्षण गराएको थियो।

प्रकाशित: ९ वैशाख २०७४ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App