समाज

महोत्तरीका अतिविपन्नलाई मतलब छैन चुनावको

महोत्तरी– स्थानीय तहको चुनाव नजिकिए सँगै सदरमुकाम जलेश्वरलगायत जिल्ला भरिकै शहरी तथा ग्रामीण क्षेत्रमा चुनावको सरगर्मी बढ्न थालेको छ। राजनीतिक दलका नेता कार्यकर्ता र चुनावबारे जानकार र जागरुक मतदाताहरुमा चुनावको चर्चा सर्वत्र छ तर महोत्तरीकै तीन नगरपालिका र १२ गाउँ पालिकामा छरिएर रहेका अतिविपन्न समुदायमा चुनावको न त कुनै चर्चै छ न त उत्साह नै।

जिल्लाभर छरिएर रहेका एकान्त र ऐलानी जग्गामा वसोवास गर्ने डोम, मुसहर, बाँतर र हलखोर समुदायलाई छाक टार्ने चिन्ताबाट नै फुसर्द छैन। उनीहरुको दिनचर्या छार्क टार्नकै लागि व्यतित हुने गरेको छ।

सुँगुरपालन, बाँसका सामग्री निर्माण गर्ने, माटो काटने र अरुको घर खेतमा बनिवुतो गरेको आम्दानीबाट आफ्नो परिवार चलाउने महोत्तरीका डोम, मुसहर, बाँतर र हलखोर समुदायका अधिंकाशलाई चुनावसँग मतलव नै छैन ।

‘भोटका लागि मतदाता रिझाउँदै विभिन्न पार्टीका नेता कार्यकर्ताहरु आफनो समुदाय कहाँ आएपछि मात्रै हामीलाई चुनाव आयो भनेर थाहा हुन्छ,’ भंगहाका मुसहरवस्तीका सत्रुधन सदाले बताए।

सदरमुकाम जलेश्वर, मटिहानी, बलवा, मनरा, गौशाला, सितापुर भंगहा, समसी, पडौल, बर्दिवास, गौशाला, एकडारामा बसोवास गरेका डोम, मसुसहर, वाँतर , हलखोर समुदायको अवस्था अत्यन्तै दयनीय छ। यिनीहरुको परिवारमा साँझ बिहानको हातमुख जोर्न नै निकै धौधौ छ।

‘चुनाव आउँदा नेताहरुले हामीलाई विकासे योजनाको प्रलोभन दिएर भोट लिने गर्छन्,’ सत्रुघन सदाले भने, ‘पछि फर्केरै हेर्दैनन् ।’

प्रकाशित: ८ वैशाख २०७४ १२:१२ शुक्रबार

महोत्तरीका अतिविपन्नलाई मतलब छैन चुनावको