समाज

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

फाइल तस्वीर

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

बिहीबारको बैठकमा समय लिएर बोल्दै उनले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य खेदजनक रहेको बताउ। उनले भने, ‘के इपिजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने अत्यन्त आपत्तिजनक छ।’

इपिजी प्रतिवेदनबारे नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण बताउनु पर्ने उनले बताए। उनले नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको बताए। उनले भने, ‘पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो?’

अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने पनि उनले बताए। ‘यस्तो नक्साप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, उनले भने, ‘यस्तो नक्साप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी दिन माग गर्छु।’

प्रकाशित: १ असार २०८० ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App