समाज

काकाकुल छन् सिम्लेवासी

ललितपुर- दक्षिणी ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटार  सिम्लेकी ४० वर्षीय अस्मिता तामाङको दैनिकी पानी बोक्दैमा बित्छ। घरनजिकै पानीको स्रोत नहुँदा उनी दिनमा ६ घण्टा पैदल हिँडेर पानी बोक्छिन्। उनलाई दैनिक सिम्लेबाट ३ घण्टाको दुरीमा पर्ने खहरे खोला धाउनुपर्छ। ‘दुईखेप पानी ओसार्दैमा दिन बित्छ,’ उनी भन्छिन्, आउजाउ गरी ६ घण्टा खर्चिनुपर्छ।'

खोलाको पानी लिन डोको बोकेर  ३ घण्टाको ओरालो हिँड्नुपर्ने सिम्लेवासीको यो समस्या नौलो भने होइन। स्थानीयहरू गाईवस्तुदेखि घरायसी प्रायोजनका लागि खोलाकै पानीमा निर्भर छन्। ‘यहाँका हरेक परिवारमा एकजनाको दैनिक काम पानी बोक्नु नै हो,' तामाङले नागरिकसँग भनिन्, ‘लुगा धुन र नुहाउन त परै जाओस् पिउनेे पानीसमेत गाउँमा आउँदैन।'

 सिम्लेका ६० घरधुरी पानी बोक्नका लागि यसरी नै दैनिक ६ घण्टाको बाटो धाउँछन्। स्थानीय श्यामबहादुर जिम्माका अनुसार एक महिनाअघिसम्म ललितपुरकै इकुडोलबाट गाउँमा पिउनेे पानी आउँथ्यो तर इकुडोल र सिम्लेको सीमानामा मोटरबाटो खन्दा डोजरले खानेपानीको पाइप फुटाएपछि खानेपानीको हाहाकार भएको छ। इकुडोलबाट आउने पानी पिउन मात्रै पुग्ने स्थानीय बताउँछन्। ‘पिउने पानी मात्रै बोक्न नपर्दा पनि अलि सुबिस्ता हुन्थ्यो, स्थानीय जिम्माले भने, ‘गाईवस्तुलाई खुवाउन, नुहाउन, लुगा धुन र शौचालयमा प्रयोग गर्नका लागि ५ वर्षअघिदेखि नै खोलाको पानी बोक्दै आएका छौं।'

बर्खायाममा भने पानीको अभाव कम हुन्छ। बर्खामा सिम्ले नजिकै मूल फुट्ने हुँदा पानीको सुविधा हुने गरेको स्थानीय बताउँछन्।

‘बर्षाको समयमा त गाउँ नजिकै मूल फुट्थ्यो र केही राहत हुन्थ्यो, तर हिउँदको समयमा घाँटी चिस्याउन पनि खोलाकै भर पर्नुपर्ने अवस्था छ।' ३ वर्षअघि एउटा गैरसरकारी संस्थाले इकुडोलबाट गाउँमा खानेपानी आउने प्रबन्ध मिलाइदिएको थियो। खानेपानी व्यवस्था सुचारु भएको केही समयसम्म धारोमा लगातार पानी आयो तर हिजोआज ठाउँठाउँमा पाइप फुटेर पानी आउनै छाडेको छ।

६० वटा तामाङ घरधुरी रहेको सिम्ले गाउँको समस्या खानेपानीको मात्रै होइन। मोटरबाटो र स्वास्थ्य सेवाको पनि उस्तै हविगत छ। टाउको दुख्ने समस्या र रुघाखोकी निको पार्ने सामान्य औषधि लिन सिम्लेवासीलाई प्युटार स्वास्थ्य चौकी पुग्नु परेको स्थानीयले गुनासो गर्छन्। ‘गाउँमा कोही बिरामी भइहाल्यो भने उपचारको समस्या छ,' सिम्लेस्थित चण्डेश्वरी माविमा पढाउँदै आएका शिक्षक रतन देवकोटाले भने, ‘गाउँमा पानी नहुँदा धेरैजसो अभिभावकले छोराछोरीलाई विद्यालय पठाउनुको साटो पानी बोक्न पठाउँछन्।’बाध्य भएर नै बालबालिकालाई पानी बोक्न पठाएको चण्डेश्वरी माविका सदस्य ज्ञानबहादुर बोलोनले बताए। ‘स्थानीयलाई पढाइभन्दा खानेपानीको चिन्ता छ,' उनले भने, ‘अभिभावकहरु पहिला पिउने पानीको प्रबन्ध गरेर मात्र छोराछोरीलाई विद्यालय पठाउँछन्।'

स्थानीयले गाउँमा खानेपानीको प्रबन्ध मिलाइदिन भन्दै जिल्ला खानेपानी कार्यालय र प्युटार गाविसलाई गुहारेका छन्। ‘खानेपानीको प्रबन्ध मिलाइदिन जिल्ला खानेपानी र गाविसमा पत्र पनि पठाएका थियौं तर, हाम्रो समस्या कसैले सुनेनन्,' सदस्य बोलोनले भने।

प्युठार क्षेत्र अहिले बाग्मती गाउँपालिकामा परेको छ। तर, स्थानीयलाई साबिकको गाविसभन्दा फरक महसुस भएको छैन। ‘नेताहरु जम्मै सहरमै बस्छन्, हामी गाउँलेको समस्या कसले सुनोस्,' स्थानीय सञ्जय तामाङले भने, ‘गाउँमा खानेपानी र मोटरबाटोको प्रबन्ध जसले पुर्‍याइदिन्छ उसलाई नै भोट दिन्छौं।' तर, चुनाव नजिकिँदै गर्दा हालसम्म यस गाउँमा कोही पनि नपुगेको उनले बताए। ‘जिल्लाको सबैभन्दा विकट क्षेत्रमा पर्ने गाउँ भएकाले नेताहरू पनि आउँदैनन्,' तामाङले थपे, ‘भोट माग्न त पक्कै आउलान् नि।'

शिक्षक देवकोटोका अनुसार यहाँका महिलाको दिनचर्या पनि पानी र चुलोचाकामै बित्ने गरेको छ। उनले भने, ‘महिला अधिकारको नाउँमा भन्दै सहरमा अधिकारकर्मी गर्जन्छन् तर कसैले बुझ्दैनन् गाउँले महिलाले दैनिक जीवनमा भोग्नुपरेका पीडा।'

पानी नभएकै कारण स्थानीयका बारी बाँझै छन्,। यातायातको अभावमा उत्पादन पनि खेर गएको स्थानीय बताउँछन्। अहिलेे यस क्षेत्रमा अदुवा र चियाखेतीसँगै  खुवा उत्पादन हुन्छ। तर, बजार नहुँदा उत्पादन पनि खेर गइरहेको छ।

प्रकाशित: ७ वैशाख २०७४ ०२:५७ बिहीबार

काकाकुल छन् सिम्लेवासी