समाज

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा चट्टान झर्ने खतरा

फाइल फाेटाे

चितवन – सडकमा अचानक चट्टानको थुप्रो झर्दा दुईजनाको ज्यानै गएको निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डको घुमाउनेमा फेरि पनि ठूलो मात्रामा चट्टान झर्ने खतरा बढेपछि कम्तिमा बुधबार दिनभरका लागि यातायात आवागमन बन्द हुने भएको छ । मेशिन औजार लगेर बुधबार बिहान १० बजेबाट चट्टान झार्न सुरु गर्ने र साँझसम्म काम सक्ने योजना रहेको आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताए ।

‘हिजो अनुगमन गर्दा ठूलो ढुंगो चर्केर बसेको भेटियो । जुन सुकै बेला सडकमा झर्ने खतरा रहेको सो ढुंगालाई आज बिहान १० बजेबाट हटाउन सुरु गर्दैछौं । आज नै हटाउने काम सकिने अनुमान छ’ सूचना अधिकारी खनालले भने । चितवनका प्रमुख जिल्ला अधिकारी  नारायणप्रसाद भट्टले यात्रुको सुरक्षा प्रमुख भएका कारण केही समयलाई बाटो बन्दै गरेर भए पनि झर्न सक्ने पहिरो हटाउनु परेको बताए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले मेशिन औजारहरु लगेर झार्ने काम हुने भएका कारण सकेसम्म आजै र नभए भोलिसम्म ढुंगा हटाउने काम पुरा हुने बताए । ‘ढुंगा हटाउँदा अरु केही भएन भने आजै बाटो खुल्छ । ढुंगासँगै पहाडको अरु भाग पनि खस्यो भने सडक खुल्न भोलिसम्म लाग्ने अनुमान छ’ एसपी थापाले भने । 

निर्माणका बेलामा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सधै बाटो बन्द हुने गर्छ । राजधानी काठमाडौं र पर्यटकीय शहर पोखरलाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य सडक मार्ग नारायणगढ मुग्लिन सडकमा दैनिक १० हजार गाडी ओहर दोहर गर्दछन् । सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सुरु भएको हो ।

सडक फराकिलो बनाउन घुमाउनेमा पहाड नै हटाइदै छ । सो ठाउँमा गएको चैत्र २१ गते बिहान अचान चट्टानहरू बाटोमा खस्दा पाँचवटा गाडीहरू क्षतिग्रस्त भएका थिए । सो घटनामा दुईजनाको ज्यानै गएको थियो भने दुईजना घाइते भएका थिए । 
    

प्रकाशित: ६ वैशाख २०७४ ०६:५९ बुधबार

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा चट्टान झर्ने खतरा