समाज

समाजसेवी गुरुङद्वारा १५ लाखकाे अक्षयकोष प्रदान

समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाख रूपैयाँकाे अक्षयकोष प्रदान गरेकी छिन्। आफ्नी स्वर्गीय आमा चिसकुमारी गुरुङको नाममा संस्कार समाज नेपालमार्फत ५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेकी गुरुङले गत वर्ष आफूले माध्यमिक शिक्षा लिएको विद्यालय मेश्रम बराह मावि, घान्द्रुकलाई आफ्ना पितृहरूको नाममा ५ लाख अक्षयकोष प्रदान गरेकी थिइन्।

उनले अहिले आफ्नी सासू शिरकुमारी गुरुङको नाममा आफ्ना श्रीमान् बुद्धिप्रसाद गुरुङले पढेको माछापुच्छ्रे गाउँपालिका घलेगाउँमा रहेको बमबहादुर आधारभूत स्कूललाई अक्षयकोषका लागि ५ लाख रुपैयाँ रकम प्रदान गरेकी छिन्।

संस्कार समाज नेपालमार्फत देशव्यापी रूपमा सचेतना अभियान चलाइरहेकी गुरुङले निरन्तर समाजसेवा गर्दै आएकी छिन्। दुई दशकभन्दा बढी समय प्रवासमा बिताएकी गुरुङले प्रवासमा आफूले सिकेका संस्कारलाई नेपालमा लागू गर्ने उद्देश्यले ६ वर्षदेखि सञ्चालन गरेको कार्यक्रमलाई हालै सरकारले अनुमोदन गरेको छ।

मुख्य अभियन्ता गुरुङको परिकल्पनामा अहिले सरकारले सार्वजनिक यातायातमा अडियो सामग्री तथा सरसफाइलाई अनिवार्य गर्ने निर्णय गरेको छ। यसका लागि संस्कार समाज नेपालले आफ्नै लगानीमा सार्वजनिक सवारीका लागि सचेतना अडियो पेन ड्राइभ १५ सय प्रति तथा डष्टविनहरू वितरण गरेको थियो।

लामो संघर्षपछि आफ्ना मागहरूलाई सरकारले सम्वोधन गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गुरुङले भनिन्, ‘कसैले चाहँदैमा व्यवस्था तुरुन्त आउने कुरा होइन, सबै सम्भव छ तर, समय लाग्छ। सबैभन्दा पहिले हामी प्रत्येक नागरिकले आफ्नो दायित्वबोध गर्नुपर्छ, राज्यप्रतिको दायित्व सबै नागरिकले बोध गर्ने हो भने समाज र राष्ट्र बन्न समय लाग्दैन।’

संस्कार समाज नेपालबाट ‘स्कूलस्कूलमा असल संस्कार’ र ‘हरेक महिनाको एक गते एक घण्टा एक सय मिटरको दूरीमा देशव्यापी सरसफाइ महाअभियान’ सञ्चालन भइरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App