समाज

विवाह गर्न वडाको सिफारिस अनिवार्य

फाइल तस्वीर

जाजरकोटको कुशे गाउँपालिका-९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ। बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’

विवाहका लागि वडाबाट सिफारिस लिंदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले बताए।

वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए। जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ। रासस

प्रकाशित: ३१ जेष्ठ २०८० ०३:२७ बुधबार

जाजरकोटको कुशे गाउँपालिका-९ विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम