समाज

तत्कालिन महासेनानीसहित ३ लार्इ जन्मकैदकाे फैसला

बनेपा– सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालिन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए। चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ।

काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनारलाई तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेको चारदिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको लामो दबाबमा दुई वर्ष आठ महिनापछि उत्खनन गर्दा कङ्काल भेटिएको थियो।

सुनुवारको हत्याको आरोपमा वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन, सुनिल अधिकारी र सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाई विसं २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो। तर २०७० असोज १ गतेदेखि मुद्दा मुल्तबीमा राखिएको थियो। तर सुनुवारकी आमाले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा निवेदन दिएपछि मुद्दा फेरि जागेको थियो। तत्कालीन महासेनानी खत्री काठमाडौँका, सहसेनानी पुन रुपन्देहीका, सहसेनानी अधिकारी दोलखाका हुन्।

फैसलापछि मैनाकी आमा देवीले सङ्क्षिप्त प्रतिक्रिया दिँदै फैसला कार्यान्वन हुनुपर्ने उल्लेख गर्दै पीडकलाई तत्काल कारबाहीको माग गरिन्। नेपाली सेनाले सैनिक अदालतमार्फत कारबाही भएको जिकिर गर्दै आएको छ भने प्रहरीले पनि सेनाविरुद्धको जाहेरी दर्ता अस्वीकार गरे पनि सर्वोच्च अदालतको आदेशपछि मात्रै मुद्दा दर्ता भएको थियो। रासस

प्रकाशित: ४ वैशाख २०७४ १२:२२ सोमबार

तत्कालिन महासेनानीसहित जन्मकैदकाे फैसला