समाज

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक

धादिङ  – धादिङको बेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक गएराती सुतिरहेको ठाउँबाटै हराएका छन् । 

भूकम्पले घर भत्किएपछि अस्थाइ टहरामा आमाबुबासँगै सुतेका डेढ वर्षका बालक बुद्धिलाल चेपाङ राती करिब २ बजे ओछ्यानबाटै गायब भएका हुन् । छानोमा खर र त्रिपालले ढाकेर भित्तामा घोचेबारले बेरेको टहरामा सुतेका बालक मध्यरातमा हराएपछि परिवारमा रुवाबासी चलेको छ ।

बालक बुद्धिलाल सोमबहादुर चेपाङ र मनमायाँ चेपाङको कान्छो छोरा हुन् । जेठो छोरा ३ वर्षको छ । डेढ वर्ष र ३ वर्षका २ छोरा र उनका आमाबुबासँगै सुतेका थिए । सबैजना निन्द्रामा भएको बेला डेढ वर्षको छोरा मात्रै हराएको बालकका बुबा सोमबहादुरले बताए । 

‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालार्इ कुनापट्टी सुताएको थिएँ’, सोमबहादुरले भने, ‘राती २ बजे बिउझिँदा मसँगै सुतेको जेठो छोरा संगै थियो, सानो छोरा ओछ्यानमा थिएन ।’ आफ्नै काखमा सुताएको छोरा हराएपछि आमा मनमायाँ अचेत जस्तै बनेकी छन् ।

बच्चा राम्रोसँग हिडडुल गर्न समेत नसक्ने भएकोले आमाबुबा निन्द्रामा भएको बेला बच्चा चोरी भएको हुन सक्ने अनुमान गाउँलेहरूले लगाएका छन् । ‘राती उठेर कतै गयो भनौं भने सानै छ हिड्न सक्दैन, जिवजन्तुले लग्यो भनौं भने बुबा चाँही ढोकामै सुतेको भन्छ ।’ स्थानीय शिक्षक तुलसीजङ्ग थापाले भने ‘बच्चा कसैले चोरेरै लगेको हुनसक्छ ।’

चेपाङ बालक मध्यरातमा हराएपछि रातीदेखि नै गाउँलेहरुले खोजी गरिरहेका छन् । ओल्लोगाउँ पल्लोगाउँसम्म खोजी गर्दा पनि बच्चा नभेटिएपछि गाउँले सबै त्रसित बनेका छन् । घटनाकाे अनुसन्धान गर्न प्रहरी चौकी ताल्तीबाट प्रहरीको टोली गाउँ पुगेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहले बताए ।

बागुराङ गाउँ पुग्न पृथ्वी राजमार्ग अन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र करिब ३ घण्टाको पैदल हिड्नुपर्छ । गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बच्चा हराएपछि वरपरका गाउँलेहरू समेत त्रसित बनेका छन् । स्थानीयहरुले  हराएको बच्चाको खोजी गरिदिन वरपर गाउँका अग्रजहरुसँग पनि आग्रह गरेका छन् ।    

प्रकाशित: ४ वैशाख २०७४ १०:४९ सोमबार

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक