समाज

जब धुर्मुस-सुन्तलीलाई मन्त्रीले एक लाख सहयोग गरे

झापा— ‘यो देशमा सरकार छ। दशौं वटा मन्त्रालय छन् । तर, ती कसैले गर्न नसकेको काम धुर्मुुुस–सुन्तलीको जोडीले गरेर देखाएको छ।’ सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी यत्तिमै अडिएनन्,‘हुन त म पनि मन्त्री छु नि, खै केही गर्न सकिएन। गाउँबस्ती निर्माण गर्न, मान्छेको मनहरु जोड्न मन्त्री नै हुनु नपर्दोरहेछ नि ! चमत्कारिक काम गरेर यो जोडीले प्रमाण दिएको छ।’

सरकारका एक जना शक्तिशाली मन्त्रीको यो स्वीकारोक्तिपछि आइतबार झापा विर्तामोडको अतिथि सदन तालीको गड्गडाहटले गुञ्जियो। गृहजिल्ला झापामा सम्मान ग्रहणका लागि आइपुगेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मन्त्रीको अभिव्यक्ति सुनेर मज्जाले हाँसे।

काभ्रे डाँडाँगाउँको पहरी वस्ती, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरी बर्दिबासको मुसहर बस्ती निर्माण गरेका यो जोडीलाई वीरता जेसिजले उत्कृष्ट नागरिक सम्मानले अभिनन्दन गरेको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ३३ हजार रुपैयाँ सहयोग पनि जुट्यो।

भूकम्पपछिको पुर्ननिर्माणलाई गति दिन नसकेको, पीडितहरु अझै पनि पाल मुनी हिउँद–बर्खा कटाउन बाध्य रहेको बेला सरकारी सुस्तताको सर्वत्र आलोचना भइरहेको छ । तर, तीन–तीन ठाउँ नमुना वस्ती ठड्याएर सबैतिरबाट सहयोग र प्रशंसा बटुलिरहेका छन् धुर्मुस–सुन्तली। आफ्नै अघि उपस्थित एक जोडी उदाहरणीय नागरिकका अघि मन्त्रीले अन्ततः सरकारी लाचारी स्वीकार गरे। र, भने पनि ‘तपाइँहरुले हाम्रो पनि आँखा खोलिदिनु भएको छ। म पनि तपाइँहरुको फाउण्डेशनलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु।’

काभ्रे डाँडाँगाउँको पहरी वस्ती, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरी बर्दिबासको मुसहर बस्ती निर्माण गरेका यो जोडीलाई वीरता जेसिजले उत्कृष्ट नागरिक सम्मानले अभिनन्दन गरेको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ३३ हजार रुपैयाँ सहयोग पनि जुट्यो। विभिन्न शिक्षालयहरु, संघसंस्था, सहकारी तथा सर्वसाधारणले फाउण्डेशनलाई उत्कृष्ट कामका लागि यत्ति रकम थमाइदिएपछि सीताराम भावुक बने। ‘यति लामो अभियानका क्रममा मेरो आफ्नै घर झापा किन नतात्तिएको होला भन्ने लागिरहन्थ्यो’, उनले भने ‘तर, अब मेरो जिल्ला, मेरो घर पनि जुर्मुराएछ। अब कुनै परियोजनाहरु अघि बढे भने झापाले अझै तात्तिने आशा गरेको छु।’

आफ्नै घरगाउँमा सम्मान ग्रहण गर्दा केही अहसज लागेको बताउने धुर्मुसले उपस्थित खचाखच सहभागीलाई स्तब्ध पार्ने गरी मन्तव्य दिए। ‘झापाको गौरादहमा हलो जोत्दा, गोरुसँग खेल्दा मसँग कुनै ठूलो सपना र योजना थिएन’, उनले भने ‘तर, आम दर्शकको मायाले सपना देख्न सिकायो। त्यही सपनाले केही सार्थक काम गर्न सिकायो। यो सानो प्रयास त्यसैको थालनी हो। सिक्ने क्रम जारी छ।’ आफ्नो अगुवाईमा निर्माण भएका तीन वटा एकिकृत नमुना वस्ती ‘समानताको प्रतिक’ पनि भएको उनको कथन थियो। ‘एउटा बच्चाले बिहान उठेर गाउँ चिहाउँदा काकाको घर उस्तै देख्दा, ठूलोबाको घर उस्तै देख्दा, दायाँबायाँ उस्तै देख्दा उसको मनमा समानताको छाप बस्नसक्छ।’

वीरता जेसिजले हरेक वर्ष विभिन्न सेवा क्षेत्रका व्यक्तिहरुलाई उत्कृष्ट नागरिक सम्मानले अभिनन्दन गर्दै आएको छ । यसपटक झापा गौरादहका बासिन्दा सीताराम र कुञ्जनाको जोडी छानिएको थियो । टेलिभिजनको पर्दामा सबैभन्दा ‘हिट’ कार्यक्रम दिइरहेका र आफै पनि चर्चाको चुलीमा रहेका बेला सिरियल बन्द गरेर यो जोडी सेवा क्षेत्रमा होमिएको दुई वर्ष पूरा भयो। अब उनीहरुले के गर्लान् भन्ने शुभचिन्तकको चासो उत्तिकै छ।

कुञ्जनाले भावी योजना पनि बताइदिइन्।‘हामी अब पनि कलाकारितामै हुन्छौं, निरन्तरता दिन्छौं’ उनले भनिन् ‘तर, तपाइँहरुको यस्तो विश्वास र प्रोत्साहनले हामीलाई थकाई मार्न दिनेछैन ।’ आफूहरुसँग अर्को पनि योजनाको चित्र रहेको संकेत गर्दै उनले भनिन् ‘हामीलाई अहिले एउटा डाँडा उक्लेर थाक्यौं भन्न पाउने सुविधा छैन, थकाई मार्न नपाउँदै अर्को डाँडा उक्लिने तयारीमा लाग्नुपर्छ ।’ 

प्रकाशित: ३ वैशाख २०७४ १४:२० आइतबार

जब धुर्मुस-सुन्तलीलाई मन्त्रीले गरे