समाज

अनियन्त्रित चुरे दोहनको असरः काकाकुल बन्यो मधेस

गणेशमान चारनाथ नगरपालिका–७ नवटोलीस्थित सरकारी संयन्त्रबाट निर्माण गरिएको खानेपानी इनार । यो इनारमा पानी आउन छोडेको छ । तस्बिर ः नागरिक

सिरहाको धनगढीमाई–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको दुई साता बित्यो। घरछेउमा भएको डिप बोरिङले पानी दिन छाडेपछि उनको छटपटी बढेको हो।  

चुरे सिरानको यो बस्तीका जनता पहिला पानीका लागि काकाकुल बनेका थिएनन्। हरेक बस्तीमा पानीको स्रोत इनार थियो। इनारमा प्रशस्त पानी पलाउँथ्यो। ज्ञानेन्द्र भन्छन्, ‘यस भेगमा चुरे र चुरे संरक्षित क्षेत्रमा दोहन बेलगाम बनेपछि पानीको सतह तलतल जान थालेको छ। र, इनारहरू त सुकि नै सके, पछिल्लो समय डिप बोरिङले पनि घरिघरि पानी दिन छोड्छ। यस भेगमा चुरे र संरक्षित क्षेत्रमा दोहनको रफ्तार यस्तै रहे खानेपानी संकट विकराल बन्नेछ।’

धनगढीमाई नगरपालिकाका स्थानीय खानेपानीको चर्को संकट निम्तिनुको मूल कारण अनियन्त्रित चुरे र चुरे संरक्षित क्षेत्रको खोलानदीमा दोहन ठान्छन्। बस्तीको दक्षिण, पूर्व र उत्तर तिनैतिर जथाभावी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी, अनियन्त्रित खोलानदी दोहन र चट्टान फोडेर ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेको स्थानीय डेनक मोक्तान बताउँछन्। इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, भोर्लेनी, खजनपुरियाटोल, खुट्टी, मड्यान, सर्रेलगायत टोलवासी पिरोलिएका छन्। महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन्। त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन्।

धनगढीमाई नगरपालिकाका स्थानीय खानेपानीको चर्को संकट निम्तिनुको मूल कारण अनियन्त्रित चुरे र चुरे संरक्षित क्षेत्रको खोलानदीमा दोहन ठान्छन्। 

‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर पानीको आवश्यकता पूरा गरे पनि अहिले त्यो इनारसमेत सुक्न थालिसकेको छ।’ पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलियानिवासी शर्मिला यादवले नागरिकसँग भनिन्, ‘खानेपानीको अभावले साह्रै दुःख भोग्नुपरेको छ। पानीको मूल सुकाउने गरी भइरहेको उत्खनन धन्दा बन्द गराइदिनुस्।’ महुलिया बस्तीमा मात्र ५५ घरधुरी यादव, २ घर महतो, २ घर राम र १ घर सोनार गरी ६० घरधुरीको बसोबास छ।

पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ। चारनाथ खोला र कमला नदी उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोलीनिवासी कमल महतोले बताए।

‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिँदैन,’उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी तथा ढल निकास विभागले बनाइदिएको इनार छ तर दुई वर्ष भयो पानी पलाउन छाडेको छ।

सिरहा र धनुषा मात्र होइन, चुरेसँग जोडिएका मधेसका जिल्लामा पानीको सतह तलतल गएर खानेपानीको समस्या परेको छ। 

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन्। ‘दुई वर्षअघिसम्म जसोतसो चापाकलले पानी फालेको थियो,’ स्थानीय गीता जोशी भन्छिन्, ‘पोहोरबाट त चुहिनै छाड्यो।’ यतिखेर गीताको परिवारलाई राजमार्गभन्दा दक्षिणतिर घर भएकी सुनिता भट्टराई कहाँबाट पानी ल्याएर प्यास मेटाउनुको विकल्प छैन।  

सिरहा गोलबजार नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन्। चुरेनजिकैको यो नगरपालिकाका अधिकांश वडाका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन्। पानीको मुहान तलतल गएपछि नगरवासीलाई खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामस्वरूप महतो बताउँछन्।

सिरहा र धनुषा मात्र होइन, चुरेसँग जोडिएका मधेसका जिल्लामा पानीको सतह तलतल गएर खानेपानीको समस्या परेको छ। चुरे मूल भएका नदीहरूमा पानी सुकेपछि मधेसका दक्षिणी क्षेत्रका गाउँबस्तीमा पनि खानेपानीको समस्या पैदा भएको छ। वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दाले चार महिना जति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ। त्यहाँका बासिन्दाले वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ।

लहान नगरपालिकामा पनि पानीको सतह तलतल गएको छ। पछिल्लो सयम चुरे दोहनको इपिसेन्टर लहानको उत्तरवर्ती चुरे क्षेत्र बनेको छ। जसकारण नगरका बासिन्दा गहिरो खाल्डोमुनि मोटर लगाएर पानीको जोहो गर्न बाध्य बनेका छन्, बन्दै छन्। नगरको उत्तरवर्ती बरदमार, गोविन्दपुरलगायत क्षेत्रका बासिन्दालाई पनि प्यास मेट्न सकस छ। खानेपानीको समस्या उत्तरवर्ती क्षेत्रबाट फैलिँदै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ। पाँच वर्षअघिसम्म लहानमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १ सय २० फिटभन्दा तल जानुपर्छ। यो अवस्था बर्सेनि बढ्दै गएर पानीको समस्या भोग्नुपर्ने अवस्था सृजना भएको स्थानीयको भनाइ छ।

भूमिगत खानेपानीको तह तल धकेलिँदा चुरे क्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको छ। लहान उत्तरको चुरे र चुरे संरक्षित क्षेत्रको खोलानदी पछिल्लो समय अनियन्त्रित दोहनको हटस्पट बनेको छ। चुरेमा अनियन्त्रित दोहन यसैगरी भइरहे यस भेगका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने वातावरण तथा जलाधार विज्ञहरूको भनाइ छ। बढ्दो पानी संकट दुर गर्न चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने चुरे विज्ञ डा. विजयकुमार सिंहले बताए। ‘गर्मी सहनै नसक्नेगरी बढेको छ। तिर्खा मेट्न पानीको अभाव वर्षैपिच्छे बढ्दै छ। चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न नसकिए मधेसमा पानीका लागि मानिस आकुलव्याकुल हुनेछन्,’ उनले भने।  

पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ। पछिल्लो समय चुरे दोहनको उर्वरभूमि महोत्तरी जिल्ला पनि हो।

चुरे संरक्षित क्षेत्रभित्रको रातु खोला र चुरे क्षेत्रमा एक्साभेटर लगाएर दोहन तीव्र छ। चुरेमा अनियन्त्रित दोहनको कारण यस जिल्लाको उत्तरवर्ती भावर क्षेत्रमा मात्र होइन, दक्षिणवर्ती समथरमा पनि पानीको मुहान सुक्न थालेको छ। जलेश्वर नगरपालिकामा धारा, चापाकल र इनारबाट पानी आउन छाडेको छ। पानीको स्रोतबाट पानी आउन छाडेपछि नगरपालिकाले नगरका विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ। यस नगरमा १२ वटा वडा छन्। जसमा १२ हजार ८० घरधुरीमा जडान भएको पानीको स्रोतबाट पानी आउन छाडेको छ।  

जलेश्वर मात्र नभई यस जिल्लाको बर्दिबास, गौशाला, भँगहा, औरही, बलवा, रामगोपालपुर, सम्सीलगायत पालिकामा समेत पानीको समस्या उत्पन्न भएको छ।  

मधेस प्रदेशको रौतहट, बारा र पर्सामा पनि पानीको स्रोत सुकेर आमजनता काकाकुल बनेका छन्। रौतहट र बारा पनि चुरे दोहनको इपिसेन्टर मानिन्छ। यस भेगका सरोकारवालाका अनुसार पानीको मुहान र चापाकल सुक्नुमा चुरे दोहन प्रमुख कारण हो। जंगल फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको स्रोतमा असर गरेको छक।  

२०७१ साल असार २ गते सरकारले नै चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’भनेर घोषणा गरेको थियो। त्यही दिन सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनायो। चुरे भावर भनेको तराईका लागि पानीको भण्डार हो। यो अहिले उसै पनि रित्तिँदै छ। ‘चुरे, भावर भनेको त मधेसका लागि पानी जम्मा भएको प्राकृतिक भाँडो नै हो’ चुरेविज्ञ डा. सिंह भन्छन्, ‘उसै पनि मधेस मरुभूमीकरण भइरहेको छ। मधेसका कतिपय जिल्लामा सिँचाइको अभाव छ। उनका अनुसार चुरे दोहन कायम रहे यसले वातावरणीय विनाश त निश्चित छँदै छ, मधेसमा खाद्य मात्र होइन, खानेपानी संकट निम्तिने निश्चित छ। 

मधेसका अधिकांश जिल्लाका गाउँबस्ती अहिले काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन्। गहिरो गरी गाडिएका चापाकल (ट्युबवेल) बाटसमेत पानी आउन छाडेको छ। खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्,’ उनले भने, ‘यो सब संकटको कारक चुरे दोहन हो।’ चुरे पहाड चुरे तथा मधेसमा बसोबास गर्ने ६१ प्रतिशत जनताका लागि जीवनरेखा हो। ‘बाहिरका मानिसले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वनजंगलले ढाकेको निर्जीव क्षेत्र लाग्छ तर चुरे र मधेस तराईमा बसोबास गर्ने बासिन्दाका लागि चुरे प्राण हो,’ डा. सिंह भन्छन्, ‘जसले निरन्तर रूपमा जीवनदायिनी खानेपानी र खेतीपातीका लागि सिँचाइको पानी दिन्छ। चुरेले अन्नबाली उत्पादन तथा बाँच्नका लागि आधार प्रदान गर्छ। यसलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ।

प्रकाशित: ३० जेष्ठ २०८० ०१:२२ मंगलबार

अनियन्त्रित चुरे दोहनको असरः काकाकुल बन्यो मधेस