समाज

अबैध रूपमा काटिएको काठ जंगलबाट रातारात हराउँदै

रुख ढालेर घाटगद्धीमा राखिएको तथा जंगलमै चिरान गरिएको काठ । तस्बिरः महेश्वर/ नागरिक

केहीदिनअघि उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन समूहको जंगलमा अवैध रुपमा ढालिएका हरिया रुखका काठ एकाएक हराउन थालेको स्थानीयले बताएका छन्। बेलका नगरपालिका ७ मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध फँडानी गरी गोलीया र चिरान काठ रातारात हराउन थालेको स्थानीयको भनाई छ।  

समूहको जंगलमा अवैधरुमा बग्रेल्ती रुख ढालेर घाटगद्धी गरी चिरानसमेत भईसकेको काठ वन कार्यालयले निगरानी गर्न थालेपछि हराएको भन्दै खोजी गर्न स्थानीयको माग गरेका छन्। ७ नं. वडाको जंगलका रुख ढालेर गोलीया टुन बनाई वडा नं. ८ को आरङ्गास्थित चौरीमा घाटगद्धी गरी चिरानसमेत गरेको काठ वन कर्मचारीकै आँखा अगाडि रातारात हराउन थालेको उनीहरुको भनाई छ। स्थनीय कलराज राईका अनुसार अवैध रुख फँडानी भएको कुरा जानकारी पाएर वन कर्मचारी टोलीले अनुसन्धान गरिरहँदा रातारात चिरान काठ हराउन थालेको हो।  

उपभोक्ताका अनुसार अघिल्लो दिनसम्म घाटगद्धीमा रहेको केही गोलीया र ३१ थान चिरान काठ रातारात गायव भएको छ। हरिया रुख ढालेको जानकारी दिए अनुसार  डिभिजनबाट खटि आएको वन कर्मचारी टोलीले अनुसन्धान गरिरहेकै बेला काठ हराउनु रहस्यको विषय भएको भन्दै उपभोक्ताले खवरदारी गर्न पत्रकारलाई गुहारेका छन्। ‘वन कार्यालयसँग अनुमति नलिइ हरिया रुख फँडानी गरेर गोलीया र चिरानसमेत गरेको पाइएपछि हामीले डिभिजनमा निवेदन दियौँ’ एक उपभोक्ताले भने त्यसपछि ३ दिनयता सहायक वन अधिकृतसमेतको वन कर्मचारी आएर अन्ुसन्धान गरिरहेकै बेला अचम्म तरिकाले काठ हराउन थालेको छ।’  

समूहको जंगलमा जथाभावी रुख ढालेको भन्दै उपभोक्ताले दिएको उजुरीका आधारमा डिभिजनले सहायक वन अधिकृत रामभगत यादव नेतृत्वको कर्मचारी टोली घट्नास्थल पठाएर अनुसन्धान गरिरहेको छ। डिभिजन वन अधिकृत डा. इन्द्र सापकोटाले उपभोक्ताले अवैध रुख ढालेको भन्ने उजुरी दिएको आधारमा यादव नेतृत्वको टोली घट्नास्थल पठाएर अनुसन्धान गरिरहेको बताए। सापकोटाले रुख ढालेको भन्ने कुरा टोलीले पुष्टि गरिसकेको तर, परिमाण र अन्य विस्तृत विवरण पत्ता भने नलागिसकेको बताए। ‘यसबारे अनुसन्धान गररहेको छ, केही समयपछि वास्तविक्ता पत्ता लाग्छ’ उनले भने।  

घटनास्थलमा खटिएका सहायक वन अधिकृत यादवले समूहको वनक्षेत्रमा ३ दर्जन बढी हरिया रुख ढालेको पाइएको बताए । उनका अनुसार जंगलमा नजिक टाढा गरी एउटा करम र बाँकी सबै सालका रुख ढालेको पाइएको र कतिपय रुखहरु गोलीया टुन बनाएर चिरानसमेत गरिसकेको भेटिएको छ। ढालेका रुखका टुनाहरु कुनै त्यही चिरान गरेर कडी बनाइएको तथा कतिपय गोलीया घाटगद्धीमा राखेको अवस्थमा भेटिएको पनि यादवले बताए।  

यादवले रुख ढाल्ने काममा कसको संलग्नता छ भन्ने कुरा नखुलिसकेको र समूहका पदाधिकारी कोही सम्पर्कमा नरहेको बताए। समूहका अध्यक्ष मणिराज राईलगायत पदाधिकारी सम्पर्कविहीन भएकाले खोजी कार्य भईरहेको पनि यादवले बताएका छन्। सवडिभिजन वन कार्यालय मैनामैनीका प्रमुख रामचन्द्र ठाकुरले रुख कस्ले कुन प्रयोजनमा ढाल्यो भन्नेबारे अहिले नै भन्न नसक्ने बताए। श्रीमति विरामी भएर उपचारार्थ काठमाडौँमा रहेका ठाकुरले आफु हिडेपछिको घट्ना भएको र डिभिजनले अनुसन्धान गरिहेकाले यथार्थ छिट्टै बाहिर आउने बताए।  

प्रकाशित: २९ जेष्ठ २०८० ०४:२४ सोमबार

अबैध काटिएको काठ जंगलबाट रातारात हराउँदै