समाज

मुसहरलाई घर उपहार

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित एकीकृत मुसहरबस्ती शुक्रबार हस्तारन्तण गरिँदै। तस्बिर :  महेशकुमार

महोत्तरी- एउटै बस्तीभित्र एकै आकारका ५३ वटा नयाँ घर छन्। भूकम्प प्रतिरोधी सबै घरमा रातो इँटा र निलो रङको जस्तापाता लगाइएको छ। ५० वटा आवासीय घर छन्। बरन्डासहित तीन/तीन कोठाका घर छन्। सामुदायिक भवन, दिनाभद्रीको मन्दिर, बगैंचा र प्रतीक्षालय पनि छ। बस्तीको बीच भागमा वरिपरिको दृश्य नियाल्न मिल्ने ३५ फिट अग्लो भ्युटावर छ। ढल, पानी, बिजुली, सडकलगायत सुविधा छ।

एकीकृत मुसहर बस्ती हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) थिए।

यिनै सुविधासहितको बर्दिवास–१ स्थित एकीकृत मुसहर नमुना बस्ती शुक्रबार मुसहर समुदायले उपहारस्वरुप पाएका छन। नयाँ वर्ष, २०७४ को पहिलो बिहानीमा नयाँ घर पाएपछि अतिविपन्न मुसहर दंग छन्, प्रफुल्लित छन्। एकीकृत बस्तीबाहिर अन्य तीनवटा घर बनाइएको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले ५३ वटा सुविधासम्पन्न घरसहितको एकीकृत नमुना बस्ती मुसहर समुदायलाई हस्तान्तरण गरेको हो। फाउन्डेसन हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले स्थापना गरेका हुन्। फाउन्डेसनले काम थालेको ९५ दिनभित्र एकीकृत बस्ती निर्माण गरी मुसहरलाई सुम्पिएको हो।  

एकीकृत मुसहर बस्ती हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) थिए। महजोडीले एकीकृत नमुना बस्ती व्यवस्थापन समिति अध्यक्ष बिल्टु सदालाई बस्तीको साँचो हस्तान्तरण गरे। 

पुस्तौंपुस्तादेखि रोग, भोक र अशिक्षाका कारण पछाडि पर्दै आएका बर्दिवासका विपन्न ५० परिवारका २ सय ७२ जना मुसहरलाई लक्षित गरी घर बनाइएको हो। 

नव वर्षको बिहानीसंगै नमुना बस्तीमा बस्न पाएपछि मुसहर बालबालिकादेखि वृद्धवृद्धाले नाचगान गर्दै उत्सव मनाएका छन्। मुसहर समुदायको सांस्कृतिक परम्परा अनुसार शुक्रबार कुलदेवता दिनाभद्रीको विधिपूर्वक पूजा गरी  मुसहरहरू घर प्रवेश गरे। 

बस्तीलाई दुल्ही झैं सिंगारिएको छ। पाहुनाको स्वागतका लागि डेढ किलोमिटर टाढाको बर्दिवास चोकबाट बस्ती स्थलसम्म स्वागतद्वार बनाइएको छ। बिहान ८ बजे बर्दिवास चोकबाट कार्यक्रमका प्रमुख अतिथिलगायत सामाजिक सद्भावका प्लेकार्ड र ब्यानर समातेर स्थानीय र पन्चेबाजासहित एकीकृत बस्ती पुगेका थिए। हाँस्य कलाकारद्वय आर्चाय र श्रेष्ठले रिबन काटेर मुसहरका लागि बस्तीको ढोका खोलेका थिए।

समाजिक अभियन्ता रामशिष यादवले बस्तीभित्र रिबन काटेर सामुदायिक भवन उद्घाटन गरे। भ्यु टावरको उद्घाटन धुर्मुस सुन्तलीका बुवाआमाले  गरे।

बस्ती हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कलाकारद्वय श्रेष्ठ र आर्चायले धुर्मुस सुन्तलीको यो कार्यबाट सबैले पाठ सिक्नुपर्ने बताए। फाउन्डेसनले २०७३ पुस २५ गते मुसहरबस्ती निर्माण गरेर वैशाख १ मा हस्तान्तरण गर्ने बाचा गरेको र त्यो पूरा गरेर देखाएजस्तै राजनीतिक दलका नेताले पनि आआफना बाचा पूरा गरिदिए देश बन्न बेर नलाग्ने कलाकारद्वयले बताए ।

आचार्य र श्रेष्ठले कुराभन्दा पनि काम गरेर देखाउन नेताहरूलाई आग्रह गरे।    

फाउन्डेसनले वर्दिवासका मुसहरका लागि एकीकृत बस्ती हस्तारन्तरण गरेपछि ह्याटि्रक गरेको छ। मुसहरबस्ती हस्तान्तरणमा  हर्षित मुद्रामा देखिएका धुर्मुसले भने, 'मुसहर बस्ती निर्माणसँगै एकीकृत बस्ती विकासमा हामी ह्याटि्रक गर्न सफल भएका छौं। मुसहर समुदायमा हाँसो र खुसी ल्याउने सपना साकार भएको छ।' यसअघि फाउन्डेसनले सिन्धुपालचोक र काभ्रेमा एकीकृत बस्ती बनाएर हस्तान्तरण गरेको थियो।

मुसहरबस्ती हस्तान्तरणको यो दिनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र मानवताको सन्देश दिएको धुर्मुसले बताए। उनले अन्य स्थानमा एकीकृत बस्ती बसाएर सेवा गरेको तर मुसहरबस्ती बनाएर धर्म (पुण्य) प्राप्त गरेको पनि बताए। 'मुसहरबस्तीले हामीलाई एकसूत्रमा बाँध्ने काम गरेको छ। यो सफलता हाम्रो मात्रै होइन, तीन करोड नेपालीको हो,' उनले भने। 

पूर्व–पश्चिम राजमार्ग सफाइ अभियान क्रममा २०७२ पुस १३ गते मुसहर बस्तीमा आफूले पाइला टेक्दा रोग, भोक र शोकमात्र देखेको स्मरण गर्दै धुर्मुसले भने, 'त्यही बेला हाम्रो मनमा यो समुदायका लागि केही गर्ने सोच पलाएको थियो, त्यो सोच आज एकीकृत बस्ती हस्तान्तरण गरेर पूरा भएको छ। रकेटको गतिमा काम गर्नुपर्छ, अनिमात्र देश बन्छ , हाम्रो मूल मन्त्र पनि यही हो।'

स्वच्छ काम गर्नेलाई जहाँ पनि सफलता मिल्छ भन्दै उनले थपे, 'हामीले स्वच्छ भएर काम गरेकै कारण मुसहरबस्ती ठडियो।'

फाउन्डेसनले ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैयाँको लागतमा एकीकृत मुसहर बस्ती बनाएको जनाएको छ। बस्ती निर्माणका लागि देशविदेशबाट आर्थिकलगायत सहयोग संकल्न गरिएको पनि फाउन्डेसनले जनाएको छ। 

फाउडेसनले मुसहरबस्ती मर्मतसम्भार र सरसफाइका लागि समिति बनाएर ५ लाख रुपैंया आर्थिक सहयोग पनि गरेको छ। 

'राष्ट्र निर्माण तपाईं हाम्रो अभियान' मूल नारासाथ फाउन्डेसनले अतिविपन्न मुसहर समुदायका लागि घर निर्माण अभियान थालेको थियो।

प्रकाशित: २ वैशाख २०७४ ०१:४६ शनिबार

मुसहरलाई घर उपहार