समाज

जहाँ बाँच्नका लागि जुत्ताचप्पल सिलाउँछन् महिला

कोहलपुर–नेपालगन्ज सडकअन्तर्गत न्युरोडको व्यस्त सडक। सडकछेउ (पश्चिमतर्फ) केही रूख छन्। ती रूखले छहारी मात्र होइन, व्यावसायिक थलो पनि निर्माण गरेका छन्, जुन थलोमा भेटिन्छिन् कोहलपुर– ११ की दीपा नेपाली (३९)। उनको दैनिकी जुत्ता–चप्पल सिलाइ गर्दैमा बित्छ। जुत्ता–चप्पल पुरुषले मात्र सिलाउनु पर्छ, महिलाले त छुनु पनि हुँदैन भन्ने परम्परा छिचोल्दै उनले यसलाई आम्दानीको प्रमुख स्रोत बनाएकी छन्।

१५ वर्षदेखि जुत्ता–चप्पल सिलाएर जीविकोपार्जन गरेकी दीपा यसमै खुसी र सन्तुष्ट छिन्। सडकपेटीमा बसेर जुत्ता–चप्पल सिलाउनु रहर होइन, बाध्यताले उनी सडक पेटीसम्म पुगिन्। जिन्दगीमा दुःखसुखसँगै बिताउने कसम खाएका पति बिछोडिएपछि छोराछोरीको लालनपालन र जीविकोपार्जनका लागि उनले एउटा संघर्षरत यात्रा सुरु गरिन्। ‘श्रीमान् सटर भाडामा लिए जुत्ता–चप्पल सिलाउनुहुन्थ्यो’, उनी भन्छिन्, ‘पछि अर्काे विवाह गरेर श्रीमान् सल्यान जानुभयो। उहाँले गर्दै आएको व्यवसाय मैले सम्हालें।’ सटरको भाडा तिर्न सक्ने अवस्था नभएपछि सडकछेउमै आएर पेसालाई निरन्तरता दिएको उनी बताउँछिन्।

एउटा चप्पल सिलाएको ६० र जुत्ता सिलाएको एक सय रूपैयाँ उनले ज्याला लिन्छिन्। यसबाट दैनिक चार सयदेखि एक हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। कोभिड–१९ (कोरोना भाइरस) भन्दा पहिला राम्रो व्यापार भएको भन्दै उनी भन्छिन्, ‘कोरोना भाइरसभन्दा पछि व्यापार कम भएको छ। त्यसमा पनि अहिलेको आर्थिक मन्दीले गर्दा व्यापारमा केही घाटा छ तर चिन्ताजनक भने छैन।’ ‘एउटी छोरी छ। अनि म। सानै लगानीको व्यापार भए पनि मागेर, ठगेर खानुपरेको छैन’, उनी भन्छिन्, ‘दिनभरिको कमाइले साँझबिहान खान र दैनिक घर खर्च चलाउन गाह्रो छैन।’

दीपाको नजिकै पिरिमा सार्की पनि जुत्ता–चप्पल सिलाउन व्यस्त छिन्। जीविकोपार्जनका अनेक उपाय हुँदाहुँदै उनले पनि यसै पेसालाई जीवनयापनको माध्यम बनाएकी छन्। ‘श्रीमान् पहिल्यैदेखि नै यो पेसामा हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘श्रीमान्लाई सघाउँदा–सघाउँदै मैले पनि जुत्ता–चप्पल सिलाउन जानें।’ अहिले आफूले पनि श्रीमान्जस्तै गरी जुत्ता–चप्पल सिलाउने गरेको उनी बताउँछिन्। ‘यसभन्दा पहिला श्रीमान् मात्र कमाउने हुँदा घरको अवस्था सामान्य थियो’, उनले भनिन्, ‘अहिले दुवैजना पेसामा आबद्ध हुँदा आम्दानी पनि बढेको छ। घर चलाउन सजिलो भएको छ।’

पिरिमाको छेउमै बसेकी मीना नेपालीले जुत्ता–चप्पल सिलाउन थालेको १० वर्ष भयो। श्रीमान्को मृत्यु भएपछि उनले व्यवसायको बाटो रोजिन्। ‘श्रीमान् बित्नुभयो। उहाँको मृत्युपछि घरपरिवार चलाउन समस्या हुँदा व्यवसाय सुरु गरें’, उनले भनिन्, ‘थोरै लगानीमा मनग्ये आम्दानी हुने पेसा भनेकै जुत्ता–चप्पल सिलाउने देखेपछि यस पेसामा आबद्ध भएँ।’ यसबाट अहिले सन्तुष्टि भएको उनको भनाइ छ। उनको तीनजनाको परिवार छ। यही पेसामा उनले परिवार चलाएकी छन्।

दीपा, पिरिमा र मीना कोहलपुरका एक्ला महिला हुन्, जसले जुत्ता–चप्पल सिलाउने व्यवसाय गरेका छन्। पुरुषहरू यसमा आबद्ध भए पनि अरू महिलाले यस पेसा गर्न अझै हिम्मत गर्न सकेका छैनन्। यी तीनजना महिलाले भने महिला र पुरुषबीचको परम्परागत कामको बाँडफाँटलाई चुनौती दिँदै जुत्ता–चप्पल व्यवसाय गरिरहेका छन्। सानो लगानीबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उनीहरू उदाहरणीय बनेका छन्। लगानी छैन भनेर धेरै महिला आफ्नो सीप लुकाएर श्रीमान्को कमाइमा भर पर्नुपरेको भन्दै उनीहरूले बताए। भने, ‘महिला श्रीमान्को कमाइमा मात्र भर पर्ने होइन। आफूमा भएको सीप प्रयोग गर्ने हो भने महिला पनि राम्रै आम्दानी गर्न सक्छन् भनेर देखाउन सकिन्छ।’  

काम गर्न थालेयता व्यक्तिगत खर्चका लागि श्रीमान्को भर पर्नुपर्ने पर्ने अवस्था आएको पिरिमाले बताइन्। ‘पहिलो सामान्य खर्च गर्न पनि श्रीमान्को हात कुर्नुपथ्र्याे’,उनी भन्छिन्, ‘म आफैं कमाउने भएपछि अहिले श्रीमान्को कमाइको भर पर्नु पर्दैन।’ ‘हरेक महिलामा परिवारको जिम्मेवारी रहेको हुन्छ, चाहे घरायसी काम गरेर होस् या जागिर। अधिकांश महिला हाम्रो समाजमा अझै पनि घरधन्दामै समर्पित छन्। अझै पनि घर छाडेर बाहिर काम गर्न अप्ठ्यारो मान्छन्। केहीलाई घर परिवारबाटै अनुमति दिँदैनन्। जस्ता समस्या हाम्रो समाजमा विधामान नै छन्। हामीले समाजलाई परिवर्तित भई काम गरेर खाने सोच बनाएका हौं’, उनीहरूले भने।

राज्यले पनि यी यस्ता साना लगानीका व्यवसाय व्यवस्थित र सुरक्षित गराउन सके दैनिक लाखौं नेपाली बिदेसिनुपर्ने बाध्यता हुने थिए। बर्सेनि सीप तथा रोजगारमूलक कार्यक्रममा करोडौं रकम खर्च भए पनि यस्ता सडकपेटीमा बसेर जीविकोपार्जन गर्ने वर्गसम्म उक्त रकम पुग्न सकेको छैन। उक्त रकम यहाँसम्म पुगे उनीहरूलाई अझ व्यवसायलाई राहत पुग्ने थियो। 

प्रकाशित: २९ जेष्ठ २०८० ०२:४३ सोमबार

जहाँ बाँच्नका लागि जुत्ताचप्पल सिलाउँछन् महिला