समाज

आशिष पत्रकारिता पुरस्कार सीतालाई

इलाम– नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको २०७४ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गरिएको छ । शुक्रबार सदरमुकाममा आयोजित समारोहमा महासंघका महासचिव उजिर मगरले पत्रकार निरौलालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे।

पत्रकार निरौला बिबिसीमा कार्यरत छिन्। ‘मेची अञ्चलमा रहेर पत्रकारिता गर्ने उदीयमान पत्रकारलाई प्रत्येक वर्ष महासंघले आशिष पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको छ,’ महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले भनिन्। महासंघले २०५९ सालको वैशाख १ मा दुर्घटनामा निधन भएका स्वर्गीय पत्रकार आशिष राईको स्मृीतमा पुरस्कार स्थापना गरेको थियो । गतवर्षसम्म पुरस्कारको राशि ५ हजार रुपैयाँ रहेकामा यो वर्ष नवनिर्वाचित महासंघले दोब्बर बनाएको छ।

पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथि महासचिव मगरले नेपाल पत्रकार महासंघ इलाम शाखाको आधिकारिकताबारे कुनै द्विविधामा नपर्न सम्पूर्ण इलामबासीलाई आग्रह गरे । ‘कोकिला ढकाल अध्यक्ष रहेको नेपाल पत्रकार महासंघबाहेक इलाममा महासंघको अर्काे शाखा छैन,’ उनले भने, ‘कुनै सानो असन्तुष्ट समूहले स्थानीयलाई भ्रममा पार्न म पो महासंघको पदाधिकारी हुँ भन्छ भने त्यो फटाईं मात्रै हो ।’ महासचिव मगरले ढकाल नेतृत्वको कार्यसमिति विधानसम्मत र महासंघको इलामस्थित एकमात्र आधिकारिक शाखा रहेकामा द्विविधामा नपर्न स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई आग्रह पनि गरे ।

महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेलले इलाममा पत्रकारहरूबीच देखिएको असहज वातावरण अन्त्य गर्न आफूहरू जिल्लामा आउन लागेको बताए । ‘यहाँका पत्रकार साथीहरूबीच सामान्य आन्तरिक असहजता मात्रै हो, महासंघका २ दुई शाखा भन्ने हल्ला सत्य होइन र २ शाखा भएको कल्पना पनि गर्न सकिन्न,’ उनले भने, ‘नेपालकै पहिलो निर्वाचित महिला अध्यक्ष रहेको महासंघ इलाम शाखाबाहेक इलाममा अर्काे कुनै आधिकारिक महासंघ छँदैछैन।’

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल सहसंयोजक गणेश लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादव, जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो।

सिडिओ सा’ब भुलबस जानुभएको होः सहायक प्रजिअ

नेपाल पत्रकार महासंघको छाप र लेटरप्याड दुरुपयोग गर्दै पत्रकारको एक समूहले समानान्तर रूपमा शुक्रबार उस्तै कार्यक्रम आयोजना गर्दा इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसमेत प्रमुख अतिथिका रूपमा त्यसमा सहभागी भए।

प्रजिअ दाहाल त्यहाँको कार्यक्रम सकेर पुनः नेपाल पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा आइपुगेका थिए। ‘म त उताको कार्यक्रममा पुगेपछि मात्रै पो इलाममा अर्काे पनि महासंघ छ रे भन्ने थाहा पाएँ,’ कार्यक्रम सुरु हुनुपहिले नै हलभित्र पसेर उनले हतास मुद्रामा महासंघ अध्यक्षलाई भने, ‘मलाई यस्तो छ भनेर किन हिजै फोन गर्नुभएन ?’

दाहालले आफू त्यस कार्यक्रममा प्रमुख अतिथि भए–नभएको महासंघसँग जानकारी लिँदा कार्यक्रमको ‘प्रमुख अतिथि’ नभई ‘विशिष्ट अतिथि’का रूपमा निमन्त्रणा गरिएको जवाफ पाए । यस्तो जवाफ पाएपछि प्रजिअ दाहाल ‘आफू कार्यक्रममा नबस्ने र सहायक प्रजिअलाई पठाइदिने’ भन्दै बाहिरिएका थिए।

सहायक प्रजिअ सुजन फागोले जिल्लामा ढकाल अध्यक्ष रहेको नेपाल पत्रकार महासंघ नै एकमात्र र आधिकारिक भएको जानकारी जिल्ला प्रशासन कार्यालयलाई पनि रहेको बताए।

‘हामीलाई जिल्लामा यो नै एउटा र आधिकारिक पत्रकार महासंघ हो भन्ने जानकारी छ,’ उनले कार्यक्रममा भने, ‘सिडिओ सा’ब भुलबस अर्काे कार्यक्रममा जानुभएछ, त्यसबारे चाहिँ उहाँले  नै भन्नुहोला ।’

 

प्रकाशित: १ वैशाख २०७४ १०:१५ शुक्रबार

आशिष पत्रकारिता पुरस्कार सीतालाई