समाज

जिब्रो छ्डने स्थानीयका 'हिरो’

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि बोडेवासीको जिब्रोेमा हिजोआज बुद्धकष्ण बाग श्रेष्ठको नाम झुण्डिएको छ। भक्तपुरको बिस्केट जात्राको क्रममा वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रामा यसपटक बुद्धकृष्णले जिब्रो छेड्ने भएपछि पूरै भक्तपुबासीबीच बुद्धकृष्ण हिरो बनेका हुन्।

यहाँका जिब्रो छेड्ने व्यक्तिहरु हाम्रा लागि अहिलेका मात्रै होइनन्, जीवनभरका हिरो हुन्,’ स्थानीय बोडे स्पोर्टस् क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले नागरिकसँंग भने, 'शरीरको संवेदनशील अंग जिब्रोमा छेडेर जात्रालाई जीवन्तता दिइरहने उनीहरु हामी सबैका लागि स्मरणीय पात्र हुन्।’

आठ वर्षदेखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुर थिमिका जुजुभाइ बासँं श्रेष्ठले यसपटक जिब्रो नछेड्ने भएपछि उनको सट्टामा बृद्धकृष्ण जिब्रो छेड्न तयार भएका हुन्। २८ वर्षमा पहिलोपटक २०६६ सालमा जिब्रो छेडेका जुजुभाइले पारिवारिक कारण देखाउँदै जिब्रो छेड्नबाट हटेपछि जिब्रो छेड्ने व्यक्तिको अभावमा जात्रा नै नचल्ने चिन्ता स्थानीयमा छाएको थियो।

बोडेकै सागर श्रेष्ठले यो वर्ष जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेपछि स्थानीयवासीमा चिन्ता छाएको स्मरण गरे। 'म मात्रै होइन, पूरै बोडेवासीमा यो खबरले सनसनी छाएको थियो, सागरको स्मरण गर्छन्,’ जुजुभाइ जिब्रो छेड्नबाट हटेपछि हामी सबैमा चिन्ता छाएको थियो।

जुजुभाइले गएको चैत १० गते बिहीबार पारिवारिक कारण देखाउँंदै यसपटक जिब्रो नछेड्ने सार्वजनिक गरेका थिए। जुजुभाइ पछि हटेको सार्वजनिक भएसँंगै बोडेवासीमा जात्रा नै नचल्ने चिन्ता छाएपछि बुद्धकृष्णले कोही नभए आफैले जिब्रो छेड्न तयार रहेको  जनाएका थिए।

त्यसो त बृद्धकृष्णले यो पहिलोपटक जिब्रो छेड्न लागेका होइनन्। उनले यसअघि पनि चारपटक जिब्रो छेडिसकेका छन्। आमाको निधन भएको वर्ष उनले पाँँचौपटक जिब्रो नछेडी हटेका थिए। बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ वर्षसम्म जिब्रो छेडेका थिए। अहिले फेरि बुद्धकृष्ण जिब्रो छेड्न तयार भएका हुन्। यसअघि बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिब्रो छेडेका थिए।

परम्परादेखिको जिब्रो छेड्ने जात्रामा हालसम्म धेरैले जिब्रो छेडाइसकेका छन्। तर हालसम्म १३ जनाको नामावली मात्रै छ। जिब्रो छेडाउने नामावली भएका १३ जनामध्ये तीन जना मात्रै जीवित छन्। जीवित रहेकामा दाजुभाइ चन्द्रकृष्ण, बुद्धकृष्ण र जुजुभाइ छन्।

पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले एक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँं श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात, दिलकुमार खपे श्रेष्ठले सात, मुनि घो श्रेष्ठले एक, धर्मराज बलाम श्रेष्ठले एक, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण बाग श्रेष्ठले चार र जुजुभाइ वाग श्रेष्ठले आठपटक जिब्रो छेडाइसकेका छन्।

प्रत्येक वर्ष बिस्केट जात्राको क्रममा वैशाख २ गते भक्तपुरको मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ। बिस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा हुने विभिन्न जात्रामध्ये जिब्रो छेड्ने जात्रा सबैभन्दा लोकप्रिय जात्रा हो। जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोडेमा हजारौंको भिड लाग्छ। जात्रा हेर्न मध्यपुर थिमिका विभिन्न टोलका मात्रै नभई भक्तपुरलगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका जात्राप्रेमीहरु आउने गर्छन्। जात्राको दिन दिनभर बोडेमा जात्रालुहरुको भिड लागेको हुन्छ।

जिब्रो छेड्ने क्रममा रगत बग्दैन। कुनै अशुभ भए मात्रै रगत बग्ने जनविश्वास रहिआएको छ। 

प्रकाशित: १ वैशाख २०७४ ०२:५२ शुक्रबार

जिब्रो छ्डने स्थानीयका हिरो