समाज

माउन्ट ‘केटु’ आरोहणको तयारीमा पूर्णिमा

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना बनाएकी हिमाल आरोही पूर्णिमा श्रेष्ठ अहिले विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहणको तयारीमा छिन्।

यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि बुधबार पाकिस्तान जान लागेकी हुन्।

उनी इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्न जान लागेकी हुन्। के–टु आरोहणका लागि जोखिमयुक्त हिमाल भएकैले किलर माउन्टेनकोसमेत उपमा दिइएको छ।

के–टुमा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन्। अब चौथो आरोहण गर्नेमा उनको नाम समावेश हुनेछ।

पुर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रामा आफ्नै गोरखामा रहेको मनास्लुबाट सुरू गरेकी थिइन्। उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेकी थिइन् भने २०७५ मा नै उनले सगरमाथाको आरोहण गरेकी थिइन्। त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला समेत बन्न पुगिन्।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छ। ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ।

प्रकाशित: २८ जेष्ठ २०८० १२:३७ आइतबार

पूर्णिमा श्रेष्ठ