जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँमा अवस्थित शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ।
यो झरनाले पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको छ। संरक्षण र प्रचारप्रसार नहुँदा अहिलेसम्म गुमनामझैं बनेको हो। पातारासीको उतरी भेगमा रहेको यो झरना पातारासी गाउँपालिकाको लासि बजार ,लाम्री,लुम,तल्फि पेरे,धोपाघाट हुदै पुग्न सकिन्छ।लासी देखि खोर भन्ने ठाउँ सम्म १५ मिनेट लाग्छ।
झरनासम्म पुग्न सवारीसाधनको यात्रापछि करिब एक घण्टाको पैदल हिँडेपछि पुग्न सकिन्छ।बिचमा भेडा र गाई राख्ने (खर्क) गोठहरु छन्। झरनालाई पर्यटकीय रूपमा विकास गर्न संरक्षण हुन नसकेको पेरे गाउँका स्थानीय युवा हर्कबहादुर (सन्देश) ऐडीले बताए। उनले भने 'यो झरना प्रचार–प्रसारको अभावले खासै चर्चामा आएको छैन,पर्यटकीय रूपमा विकास गर्ने हो भने पातारासी थप पर्यटकीय गन्तव्य बन्नेछ।'
अहिले सुन्दरतामा रमाउन त्यहाँ पुग्नेको संख्या बढ्दो छ। यो झरनाको दृष्य आर्कषक रहेको छ। धेरै जसो झरनाहरु हिउँद लागेपछि सुक्छन्। तर संकर झरनामा १२ महिनानै पानी झर्ने हुँदा यो झरनाको महत्व बढेको देखिन्छ। माथि बाट एक भएर आउँछ, तर बिचमा ३ वटा भएर पानी झर्ने गर्दछ। अहिले त्यस क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको देखिन्छ। अग्लो पहाडबाट खसेको झरनाको दृष्यले मन लोभ्याउँछ। आसपासका दृष्य पनि सुन्दर छन्। लेकबाट आएको पानीले बनेको यो झरना सुन्दर छ। साथै आसपासमा घुम्ने ठाँउपनि छन्।
पातारासी-२ का वडा अध्यक्ष बलबहादुर बोहोरा भन्छन्, 'हामीले यो ठाँउलाई आर्कषक पर्यटकिय गन्तव्य बनाउनका लागि काम गर्नुपर्ने छ।'
उनका अनुसार त्यहाँ पुगेकाहरु सौन्दर्यतामा रमाउने गरेको पाईन्छ। केही दिन देखि सामाजिक सञ्जालमा उक्त झरनाको तस्बिर चर्चित भईरहेका छन्। केही साताअघि मात्र झरनालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पातारासी गाउँपालिकाको कर्मचारीको टिम पुगेको थियो। ग्रामीणस्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफू त्यहीँ पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दानबहादुर बिष्टले बताए।
उनले अब त्यहाँ सम्म पुग्नको लागि सडक पुर्याउन लागि पर्ने बताए। 'बाटो थोरै सुधार गर्नुपर्ने छ, अब यो योजना तर्जुमा हुने बेला पनि छ। वडास्तरबाट चासोको रूपमा हेरिएको छ।' उनले भने।
प्राथमिकतामा हुनुपर्ने हो,लासी बजार बाट करिव ६ किलोमिटर टाढा पर्छ। स्थानीय सरकारले बजेट छुट्टयाएर संरक्षण तथा प्रवर्द्धन गर्ने उनले जनाए। झरना आफैंमा सौन्दर्यताले भरिपूर्ण छ।झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले पनि सहयोग गर्छ भन्ने आशा छ, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने, 'यो झरना स्थानीयको मात्र नभई सिंगो पातारासी गाउँपालिकाको गहना भएकाले संरक्षणमा चासो देखाउन सरकारसँग आग्रह गर्छु।'
उनले भने झरनालाई प्रचारप्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो,भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवद्र्धन गर्ने टेवा पुग्नेछ ।बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण हुन जरुरत छ।आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्ला,अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ।
प्रकाशित: २७ जेष्ठ २०८० ०७:५१ शनिबार