समाज

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विकास कार्यालय नेपालगन्जले बनाउन लागेको हो ।  

२०७७ फागुन १९ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी ‘गल्वा÷सिद्धार्थ दर्शन जेभी’ २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । यसका लागि कुल ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ ।

दुई वर्षसम्म अधुरै छाडेको उक्त पुल निर्माणको काम अहिले बल्ल तल्ल सुरु भएको छ । यद्यपी, अझैपनि पुल निर्माण कार्य सम्पन्न हुनेमा स्थानीय बासिन्दा ढुक्क छैनन् । पुल अलपत्र परेपछि स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारले आफ्नो चुनावी एजेण्डा बनाएका थिए । पुल नहुँदा बर्खायामको समयमा नेपालगन्ज–परस्पुर–गौघाट खण्डमा आवत–जावत गर्न सवारी साधन तथा सर्बसाधारण नागरिकलाई समस्या भइरहेको थियोे ।  

निर्माणाधिन उक्त पुलको स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिले निरीक्षण गरेका छन् । स्थलगत निरीक्षण गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरले दुई वर्षसमम पुल अलपत्र पर्दा सर्बसाधारणले धेरै सास्ती खेप्नु परेको बताउँदै निर्माण कार्यले अब चाडै पूर्णता पाउने विश्वास दिलाए । ‘चुनाव प्रचारमा हिड्दा यहाँ पुल अलपत्र परेको देखेको थिएँ, त्यसपछि पुल बनाउन मैले ठेकेदारलाई धेरै ताकेता गरेको हुँ, अहिले निर्माणको काम चलिरहेको छ, ‘आशा गरौं यसक्षेत्रका जनताले बर्खायाम अगाडी नै यो पुलबाट आवत–जावत गर्न पाउनुहुन्छ,’ काँग्रेस सहमहामन्त्री राठौंरले भने ।  

पुल निर्माणसँगै परस्पुर–गौघाट जीर्ण अवस्थामा रहेको सडक निर्माणको कामलाई पनि चाडै सम्पन्न गराउन आफुले सम्बन्धित निकायसँग कुरा गरिरहेको बताए ।  

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बि.क ठेकेदारले सम्झौता अनुसार काम नगर्दा लामो समयसम्म पुल निर्माण अधुरो बन्न पुगेको बताउँछन् । ‘ठेकेदारको ढिलासुस्तीकै कारण अहिलेसम्म पुल निर्माणको काम अधुरो बन्न पुगेको हो, यो पुल निर्माण भएपछि धेरैलाई राहत मिल्नेछ,’ उनले भने ।  

सडक पुर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख ललित न्यौपाने किरण नालामा पुल निर्माण गर्न ठेकेदार कम्पनीबाट ढिलाई भएको बताउँछन् । ‘यो पुल निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको देखिन्छ, अहिले चाही बिस्तारै पुल निर्माणको काम अगाडी बढिरहेको छ,’ उनले भने । न्यौपानेका अनुसार उक्त पुल ढलानको प्रक्रियासम्म पुगेको छ । सडक पुर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनी ‘गल्वा÷सिद्धार्थ दर्शन जेभी’ ले किरण नालासहित ३ वटा पुल अलपत्र पारेको छ ।  

‘किरण नालासहित अरु थप दुई वटा पुलको ठेक्का पनि यही ठेकेदारले लिएको छ, सबै ठाउँमा काम अधुरो छाडेको छ,’ न्यौपानेले भने । बाँकेमा  अरु ठेकेदार कम्पनीले निर्माण जिम्मा लिएका थप दुई वटा पुल पनि अधुरै बन्न पुगेको कार्यालयले जनाएको छ ।  

 

प्रकाशित: २६ जेष्ठ २०८० १३:३९ शुक्रबार

दुई वर्षदेखी पुल निर्माण अलपत्र