समाज

नेपाल–भारत सीमा स्तम्भ छेउमा बम विस्फोट

रौतहट– नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ। दशगजामा पर्ने जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको प्रहरीले जनाएको छ।

रौतहटको जिंगडबा बेलबिछवा गाविसको वार्ड नम्बर ८ मा रहेको पिलर नम्बर ३४४ भन्दा करिब सय मिटर उत्तर नेपालतर्फको खेतमा बेवारिसे अवस्थामा रहेको बम पड्किँदा स्थानीय विनोद राय यादवको खेतमा चरिरहेका एउटा भैँसी घाइते भएको छ।

सदरमुकाम गौरस्थित भन्सार कार्यालयभन्दा करिब दुई किलोमिटर पूर्वतर्फ रहेको पिलरभन्दा केही पर सुर्तीजन्य तुलसी परागको टिनको बट्टामा रहेको पुरानो बममा चर्दै जाँदा भैँसीले खुटा टेकेपछि बम पड्किएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख एसपी भगवान मल्लले बताएका छन्।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी मल्लले बताए।

प्रकाशित: २८ चैत्र २०७३ १२:४६ सोमबार

नेपाल–भारत सीमा स्तम्भ छेउमा बम विस्फोट