समाज

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।

मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ। विधिवत रूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उदघाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए। कोरोना महामारी र काठको अभावले मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो। मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो। ढुंगा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ।

गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए।

‘आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचारप्रसारमा जोड दिइने छ’, उनले भने, ‘खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौं, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ।’

सुन्तलाको बगैंचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ। साथै मन्दिर परिसर वरपर फागुन-चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ।

सुन्तलाको बगैंचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ। साथै मन्दिर परिसर वरपर फागुन-चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ। मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेको धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए।

मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनले बताए। प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ। इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ।

प्रकाशित: २६ जेष्ठ २०८० ०३:०२ शुक्रबार

ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर मन्दिर पुनःनिर्माण सम्पन्न