समाज

एटिएम बुथको साटो स्वाइप मेसिन

काठमाडौं- चैतको पहिलो साता नारायणहिटीको उत्तरी ढोकामा रहेको लिक्वायर पसलमा स्वाइप मेसिनमार्फत अन्तर्राष्ट्रिय क्रेडिट कार्ड प्रयोग भएको किनमेलको भुक्तानी रोकियो। रकम करिब चार लाख रुपैयाँको थियो। पसल सञ्चालकले खरिदकर्ताबारे सोधखोज गर्दा पसलमा रहेको स्वाइप मेसिन नै बाहिर लगेको खुल्यो।

एटिएम मेसिनको प्रयोग गरेर ठगी गर्नेहरू धमाधम पक्राउ हुन थालेपछि यस्तो कारोबार गर्ने गिरोहले ठगीको शैली बदल्दै स्वाइप मेसिन प्रयोग सुरु गरेको छ।

उनले शंका लागेर प्रहरीलाई खबर गरे। महानगरीय प्रहरी अपराध महाशाखाले सो घटनाको अनुसन्धान तीव्र बनायो। अनुसन्धानको क्रममा उनका आफन्त मिङमा शेर्पाले स्वाइप मेसिन बाहिर लगेको पाइयो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा पोखराको लेकसाइडमा रहेको टिका रिसोर्टका सञ्चालकसहित ८ जना पक्राउ परे।

अनुसन्धानमा अन्तर्राष्ट्रिय ह्याकर समूहले चोरी गरेको युरोप, अमेरिका, जापान, चीनलगायतका देशका क्रेडिट र डेबिड कार्डका पिन र पासवर्ड किनेर नक्कली एटिएम कार्ड बनाउँदै स्वाइप मेसिनमार्फत नेपालमा पैसा निकालेर ठगी गर्ने गरेको खुल्यो। ठगीका लागि प्रयोग हुने पिन, पासवर्ड र नक्कली एटिएम कार्डलाई यो समूहले बिक्री गर्ने गरेको थियो। 

चैत ६ मा पक्राउ परेका केवलबहादुर जबरा, अभिषेक पाण्डे, सुरेश केसी, अनुज नकर्मी, रोशन महर्जन, रोमन महर्जन, विजय लामा दोङ र नदिम खान तथा चैत २३ मा पक्राउ परेका टिका पौडेललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानमै सो सम्ूहले २ वर्षमा ३ करोडभन्दा बढी रकम यसरी नै निकालेको खुलेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूले स्वाइप मेसिनमार्फत अनधिकृत तबरले नेपाल भित्र्याएको ठगीको रकम पहिल्याउनमा अहिले प्रहरी अनुसन्धान केन्द्रित छ। प्रहरीले उनीहरूका बैंक स्टेटमेन्ट संकलन गरिरहेको छ।

स्वदेशी र विदेशी नागरिकले चोरिएका एटिएम कार्डका पिन र पासवर्ड प्रयोग गरेर नेपालका एटिएम बुथबाट पैसा निकाल्ने गरेका घटना सार्वजनिक भए पनि ठगीमा स्वाइप मेसिनको प्रयोगले चलिरहेको ठगीधन्दा सार्वजनिक भएको थिएन।

नक्कली एटिएम कार्ड प्रयोग गरेर अनधिकृत रुपमा अर्काका खाताबाट पैसा निकाल्न सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सदस्य तीन वर्षदेखि नेपालमा पक्राउ पर्दै आएका छन्। २०७१ देखि २०७३ कात्तिक २१ सम्म प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चोरी गरिएका एटिएम पिन र पासवर्ड लिएर नेपाल आई एटिएम बुथबाट पैसा निकाल्न संलग्न देखिएका १५ जना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ। उनीहरूबाट प्रहरीले दुई करोडभन्दा बढी रुपैयाँ र एक हजारभन्दा बढी नक्कली एटिएम कार्ड फेला पारिसकेको छ।

एटिएम मेसिनको प्रयोग गरेर ठगी गर्नेहरू धमाधम पक्राउ हुन थालेपछि यस्तो कारोबार गर्ने गिरोहले ठगीको शैली बदल्दै स्वाइप मेसिनको प्रयोग सुरु गरेको देखियो। जसमा उनीहरूले चोरिएका पिन र पासवर्ड किन्ने, ती नम्बर राखेर नेपालमै नक्कली डेबिड र क्रेडिट कार्ड बनाउने र पोइन्ट अफ सेल मेसिन राख्ने अनुमति पाएका व्यवसायीसँग मिलेर कार्ड स्वाइप गरेर अनधिकृत रुपमा पैसा निकाल्ने गरेको खुल्यो।

कार्ड स्वाइप भएपछि सो रकम पोइन्ट अफ सेल मेसिन प्रयोग गर्ने अनुमति पाएका व्यापारीको खातामा आउँछ। र, गिरोहले मेसिन प्रयोग गर्न दिने व्यवसायीलाई ४० प्रतिशत दिएर अन्य रकम आफूले लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

कार्ड विदेशी, ठगी गर्ने नेपाली

चैत ६ मा पक्राउ परेका सबै नेपाली नागरिक हुन्। उनीहरूले प्रयोग गरेको चोरीको पिन र पासवर्ड भने सबै विदेशी नागरिकका हुन्। महाशाखाको हिरासतमा रहेका अभियुक्तहरूले बयानमा खुलाएअनुसार उनीहरूले अनलाइनमार्फत ह्याक गरेको डेबिट र क्रेडिट कार्डका पिन र पासवर्ड बिक्री गर्ने अन्तर्राष्ट्रिय अपराधिक समूहसँग खरिद गर्ने गरेका थिए।

उनीहरूले यस्ता नम्बर किन्न ह्वाट्सएप र भाइबरको प्रयोग गर्ने गरेका थिए। नेपालमा डिजिटल मनी बिट क्वाइन (कुनै खास व्यक्तिले नियन्त्रण नगर्ने र इलेक्ट्रोनिक तरिकाले बनाइने तथा सञ्चालन हुने मुद्रा) को त्यति प्रचलन नभए पनि युरोप र अमेरिकामा भने यसले मान्यता पाइसकेको छ।

बिट क्वाइन बिक्री गर्ने अनुमतिप्राप्त कम्पनीका साइटबाट सहजै यस्त क्वाइन किन्न सकिन्छ। पक्राउ परेका समूहले अन्तर्राष्ट्रिय ह्याकरसँग एउटा पिन र पासवर्डका लागि ५० देखि ५ सय अमेरिकी डलरसम्म तिर्न अन्तर्राष्ट्रिय बिट क्वाइन प्रयोग गर्ने गरेका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चोरीका पिन र पासवर्ड पाएपछि उनीहरूले म्याग्नेटिक स्ट्रिप कार्डरिडर र राइटर्स मेसिनमार्फत खाली एटिएम कार्डमा सारेर स्वाइप मेसिनबाट रकमको कारोबार गर्ने गरेका थिए।

'उनीहरूले एकपटकमा २० लाख रुपैयाँसम्मको कारोबार गरेको अनुसन्धानमा देखियो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने 'शंका नहोस् भनेर उनीहरूले ट्राभल्स एजेन्सी, रिसोर्ट् र थाङका पसलको स्वाइप मेसिन प्रयोग गर्दै आएको देखियो।'

उनीहरू यो धन्दामा २ वर्षदेखि संलग्न रहेको देखिएको महाशाखाका एसपी कार्कीले जानकारी दिए। अनुसन्धानबाट ठगीमा सक्रिय समूहले स्वाइप मेसिन चलाउने अनुमति पाएका व्यापारीको मिलेमतोमा र स्वाइप मेसिन रहेका स्थानमा झुक्याएर सपिङ गरी अनधिकृत रुपमा अर्काका खातामा रहेको रकम चलाउने गरेको खुलेको छ।

उनीहरू ठगीका लागि भारतको नयाँ दिल्लीसम्म पुगेको देखिएको थियो। भारतको नयाँ दिल्ली पुगेर उनीहरूले चोरीका डेबिट तथा क्रेडिट कार्डका पिन र पासवर्ड प्रयोग गरेर ३ लाखको साडी किनेका थिए। २ वर्ष अगाडि उनीहरूले पोखराको कार्की रिसोर्टमा रहेको स्वाइप मेसिनबाट पटक–पटक २ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए। उनीहरूले क्षेत्रपाटीको डिसोभिनियरबाट ३० लाख, चाबेलको चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरको थान्का पसलबाट ४५ लाख र महाराजगञ्जको लिक्वाएर कम्पनीको स्वाइप मेसिनबाट ४ लाखको कारोबार गरेको महाशाखाको विवरणमा उल्लेख छ।

अनुसन्धान अधिकारीका अनुसार यो समूहका मुख्य व्यक्ति सुरेश हुन्। उनले अनलाइनमार्फत चोरीका पिन र पासवर्ड किन्ने र कार्ड बनाउने गरेका थिए। समूहका अन्य सदस्यले स्वाइप मेसिन रहनेे स्थानको खोजी गर्ने र दामासाहीमा रकम निकाल्न व्यवसायीलाई राजी गराउन सक्रिय हुन्थे।

उनीहरूले प्रयोग गरेका स्वाइप मेसिनमध्ये सबैभन्दा धेरै पोखराको टिका रिसोर्टबाट २ करोड रुपैयाँसम्मको कारोबार गरेको देखिएको छ। प्रहरीले अहिलेे स्वाइप मेसिनको प्रयोग गरेबापत पौडेलले रकम जम्मा गर्ने भनिएको दुईटा बैंकको खाता विवरण मागेको छ।

प्रकाशित: २८ चैत्र २०७३ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App