समाज

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिर

'यो मन्दिर त रहस्य रहस्यले भरिएको रहेछ। जति उत्खनन गर्योत, जति अनुसन्धान गर्‍यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्', पूर्व मन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भने। 

प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो। पछि अर्को तथ्य फेला पर्यो र यसको इतिहास कर्नाटकालसँग जोडियो। अहिले त यो कर्नाटकालभन्दा पनि प्राचीन हो भन्ने विभिन्न तथ्यहरू उजागर हुँदै छ। जानकारहरूका अनुसार यस मन्दिर र वरपरको क्षेत्रको उत्खनन गरी पुरातात्त्विक अध्ययन अनुसन्धानले पूर्णता पाए विगतको सिम्रौनगढ राज्यको मात्र होइन, नेपालकै इतिहासमा नयाँ ढङ्गले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। उनीहरूका अनुसार यो मन्दिर १०औँ शताब्दी वरपरको हुनसक्ने अनुमान छ। 

यसको उत्खनन र संरक्षण राज्यबाटै हुनुपर्ने र यसलाई विश्व सम्पदामा सूचीकृत गरिनुपर्ने स्थानीयवासी बताउँछन्। अनुसन्धानबाट नयाँ तथ्य फेला परेसँगै ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको यस पतौरामन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग उठ्न थालेको छ। धार्मिक, पौराणिक एवम् पुरातात्विकरूपमा यो मन्दिर इतिहासको कैयौँ कालखण्डको साक्षीका रूपमा रहेकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्नुपर्ने माग गरिएको हो। हाल पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्‍याउन आफू निरन्तर प्रयत्नरत रहेको नगरपालिकाका प्रमुख रिना कुमारी साहले बताइन्।

उनले भनिन्, 'नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेसको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन।' ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको यो मन्दिर नेपालकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने उनको भनाइ छ। नेपालमा जम्मा १० वटा सम्पदालाई विश्व सूचीमा राखिएकाले अब अर्को गन्तव्य पुरातात्त्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ। पूर्व मन्त्री एवं सांसद साहको विशेष पहलमा उक्त मन्दिरको पर्खालका रूपमा प्रयोग गरिएको ऐतिहासिक इँटाको पुरातत्त्व विभागमा जाँच हुँदा मन्दिरको पर्खालका रूपमा रहेको इँटाहरू झन्डै १० इन्चभन्दा बढी चौडाइ रहेको पाइएको छ। 

विसं २०६७/६८ मा सांसद साहले यस मन्दिरको अवस्थाका बारेमा पुरातत्त्व विभागलाई खबर गरी मन्दिरको जीर्णोद्धार लागि अनुरोध गरेकी थिइन्। यस मन्दिरको अध्ययनमा संलग्नका अनुसार मन्दिरको पुनः निर्माण कर्नाटकालमा (११–१२ शताब्दी), फेरि अर्को पटक सेनकालमा (१५–१६ औँ शताब्दी) र पछिल्लो पटक अहिले भएको छ। हरेक पाँच/पाँच सय वर्षको अन्तरालमा मन्दिर लोप हुने र पछि पुनः प्रकट हुने विश्वास गरिन्छ। 

सांसद साहले जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठुलो इतिहास बोकेको सम्पदासहित रौतहटको मौलापुर पतौराको हजारौँ वर्ष पुरानो पतौराको महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आफू लागिपरेको बताइन। उनले यस्ता सम्पदाहरू विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक कूटनीतिक तथा अन्य पहलका लागि सरकारको ध्यानाकर्षण गराइन्। बारी खन्ने क्रममा पुराना इँटा भेटिएपछि स्थानीयले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएको र पछि सामान्य उत्खनन गर्दा प्राप्त भएको शिव लिङ्गलाई मन्दिर बनाएर पूजाआजा गर्न थालिएको थियो। यस मन्दिरमा पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। पछिल्लो समय यस मन्दिरमा पूजा गर्न नेपाल तथा भारतीय भक्तजनको भीड लाग्न थालेको छ। प्रारम्भिक उत्खननका क्रममा मन्दिर सेनकालीन रहेको पाइयो। मन्दिरमाथि माली टोल रहेकाले थप उत्खननमा नै बाधा पुगेपछि नगरपालिकाले बस्तीलाई अन्यत्र सारेर मन्दिर क्षेत्र खाली गराई वरिष्ठ पुरातत्त्वविद् तारानन्द मिश्र नेतृत्वको टोली र पुरातत्त्व विभागले थप उत्खनन गर्दा मन्दिरको पुनर्निर्माण कार्य कर्नाटकालीन समयमा पनि भएको तथ्य फेला पर्‍यो।

मन्दिरको प्रारम्भिक उत्खननको क्रममा नै कैयौँ रहस्यमयी तथ्यहरू बाहिर आउन थालेका छन्। यस मन्दिरको उत्खनन र पुरातात्त्विक अध्ययन भइरहेकै समयमा पुरातत्त्वविद् मिश्रको निधन हुँदा मन्दिरका अनेकौँ तथ्य प्राप्तिमा समस्या भएको अनुभव गरिएको छ। मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ। सिम्रौनगढमा कर्नाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुनसक्ने अनुमान गरिन थालिएको छ। प्रारम्भिक उत्खनन प्रतिवेदनअनुसार ११ देखि १२ शताब्दी अर्थात् कर्नाटकालमै यस मन्दिरको पुनर्निर्माण गरिएको पाइएको छ। उत्खनन एवं अन्वेषणबाट प्राप्त अन्य तथ्यअनुसार मन्दिरसँगै एउटा दरबारको अवशेषसमेत भेटिएको छ। उक्त दरबार तत्कालीन शासकको केन्द्र हुन सक्ने अनुमान गरिएको छ। 

समय क्रमसँगै समाज, शासन एवम् प्रकृतिमा व्यापक परिवर्तन भए पनि यो मन्दिरको पुरानो अस्तित्व कायम नै रहेको देखिन्छ। प्राचीन कालदेखि नै मौलापुर धर्म र आस्थाको केन्द्र रहेको विश्वास गरिन्छ। मौलापुर शब्द संस्कृतको ‘मौला’र पुरबाट उत्पत्ति भएको हो। मानसार शिल्प शास्त्रका अनुसार मौलाको अर्थ भगवान् शिवको जट्टालाई जनाउँछ भने पुरको अर्थ नगर हुन्छ। यस अर्थमा पनि मौलापुर शिवको जटाबाट उत्पत्ति भई परापूर्व कालदेखि नै पवित्र शिव भूमि रहेको कुरा सहजै बुझ्न सकिन्छ। रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्त्विक अध्येताहरूद्वारा अध्ययन सुरु भएको छ। 

मन्दिर उत्खननका क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको हो। धेरै प्रमाणबाट मन्दिर कर्नाटकालको रहेको देखियो। पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुनसक्ने अनुमान गरिएको छ। कुनै कालखण्डमा यहाँ एउटा समृद्ध सहर रहेको प्रमाण पनि फेला परेको छ। पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्त्विक टोलीले स्थलगत अध्ययन थालेको छ।

मौलापुर नगरपालिकाका अनुसार जमिनमुनि दुई मिटरसम्मको पुरातात्त्विक एक्स-रे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिची भिलिस र एलिक नेलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन थालेको थियो। मधेस प्रदेशमै नमुना पालिकाको रूपमा रहेको मौलापुर नगरपालिकाले विकास पूर्वाधारका साथै यहाँ रहेका सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमा पनि जोड दिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साह बत्ताउँछन् । 

‘‘पतौरा महादेव मन्दिर मौलापुरको मात्र नभई सिङ्गो देशको एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको बताउँदै उनी भन्छन्, ‘यस मन्दिरको प्रवर्द्धन र विकासलाई नगरपालिकाले उच्च महत्त्व दिएको छ।'

यस मन्दिर प्राङ्गणमा २०७६ फागुनमा आयोजना गरिएको महायज्ञमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजा अर्चना गरेकी थिइन्। धार्मिक पर्यटनको हिसाबले यस क्षेत्रलाई विश्व समुदायमा प्रचार गर्न सकिने सम्भावना रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा भन्छन्, 'यस मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सकिएमा पुरातात्त्विक विषयमा चासो राख्ने पर्यटकहरूलाई पनि भित्र्याउन सकिनेछ।' सरकारले २०७५ सालमा देशैभरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासका लागि सय वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेकामा मधेस प्रदेशबाट पतौरा महादेव मन्दिरलाई पनि छनोट गरेको थियो। सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्त्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको थियो ।  (धर्मेन्द्र झा र कृष्ण अधिकारी)

प्रकाशित: २५ जेष्ठ २०८० ११:४७ बिहीबार

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर पतौरा मन्दिर मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिर विश्व सम्पदामा सूचीकृत