समाज

बाग्लुङमा सरकारी अस्पतालमा उपचार गराउने बढे

 बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।  गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा  जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए । 

‘अहिलेसम्म हामीले २ हजार ७१ परिवारका  ९ हजार ५ सय ५९ जनाको स्वास्थ्य बिमा गरेका छौं,’ खरेलले भने,‘ २१ सय बढी बिमितले त यसबाट सेवा समेत लिइसकेका छन् ।’ खरेलका अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय १७, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय ३५, कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ५० र धौलागिरी अञ्चल अस्पतालबाट १ हजार ५ सय ५० जनाले सेवा लिएका छन् । १ सय ८४ जनालाई अन्य विभिन्न अस्पतालमा रिफर गरिएको जनाइएको छ ।

 स्वास्थ्य बिमा मार्फत ४४ लाख ३२ हजार ९ सय १० रुपैयाँ कोष जम्मा भएको खरेलको भनाई छ । स्वास्थ्य बिमा गर्दा ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक २ हजार पाँच सय तिरे एक वर्षसम्म रु ५० हजार बराबरको औषधी र स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था छ । ५ जना भन्दा बढी सदस्य भएकाले प्रति सदस्य ४ सय २५ रुपैयाँ थप शुल्क तिर्नुपर्छ । 

 स्वास्थ्य बिमा कार्यक्रमले अहिले सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाएको धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरीटेन्डेन्ट डा. सागर राजभण्डारीले बताए । ‘स्वास्थ्य बिमा कार्यक्रमले गरिव र विपन्न समुदायलाई निकै फाईदा पुर्याएको छ,’ डा. राजभण्डारले भने, ‘अहिले हाम्रो सरकारी अस्पतालहरूको सेवा बिकेको छ ।’ अहिले पनि दैनिक रुपमा २५—२६ बिमित बिरामीहरूले अञ्चल अस्पतालबाट सेवा लिईरहेको डा. राजभण्डारीले बताए ।

 ‘स्वास्थ्य बिमाले दिर्घरोग भएकाहरूलाई निकै ठूलो राहत दिएको छ,’ उनले भने,‘ नियमित चेकजाँच गर्नुपर्ने र लगातार औषधी सेवन गर्नुपर्नेलाई वरदान साबित भएको छ ।’ बिमा गराएका मध्ये मधुमेह, हाईपोजेन्सी, उच्च रक्तचापका बिरामीहरू बढी आउने गरेको उनको अनुभव छ । ‘बिमा लागू भएपछि हामीलाई पनि कामको चाप बढेको छ,’ राजभण्डारीले भने,‘यसले अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाउन पनि सहयोग मिलेको छ ।’  

स्वास्थ्य बिमा कार्यक्रम लक्षित समुदायसम्म अझै बाँकी रहेको नेपालको स्वास्थ्य अवस्था विषयमा विद्यावारीधी गर्न गर्दै गरेका दिपकराज पौडेलको भनाई छ । ‘स्वास्थ्य बिमा कार्यक्रमबारे गरिब तथा निमुखासँग अझै पुग्न बाँकी रहेको देखियो,’ उनले भने,‘गरिब बिपन्नले स्वास्थ्य बिमा गर्ने तर परको कुरा बिमा कार्यक्रमबारे नसुको समेत बताउँछन् । 

स्वास्थ्य बिमा कार्यक्रम गरिब तथा विपन्न समुदालयलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको भए पनि लक्षित समुदायसम्म पुर्याउन नसकिएको कार्यक्रमका जिल्ला प्रवन्धक खरेल स्वीकार्छन । ‘यो कार्यक्रम गरिब घर परिवारकै लागि ल्याइएको कार्यक्रम हो,’ उनले भने, ‘सरकारले गरिब घरपरिवार परिचयपत्र वितरणमा ढिलाइ गर्दा पनि समस्या भएको छ ।’ गरिब परिवारको परिचयपत्रको आधारमा बिमा गर्दा ५० देखि शतप्रतिशतसम्म छुटको व्यवस्था भए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताए ।

 २०७२ चैत्र २५ गते इलामबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले मुलुकभरको ८ जिल्लामा सञ्चालित छ । बिमा कार्यक्रम सञ्चालित जिल्लामा ८ हजार ७ सय ३८ परिवारका ४५ हजार २ सय ७७ जनाले स्वास्थ्य बिमा गरएका छन् । बिमितमध्ये अहिलेसम्म ६ हजार ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । 

 

प्रकाशित: २७ चैत्र २०७३ ०६:२६ आइतबार

बाग्लुङमा सरकारी अस्पतालमा उपचार गराउने बढे