समाज

सडक निर्माणले कालिगण्डकी जलयात्रा प्रभावित

पाल्पा – कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणले नेपालको एकमात्र जलयात्रा प्रभावित बनेको छ । कालीगण्डकी जलविद्युतको ‘ड्याममा र्याफ्टिङ्ग’ गर्न आउने पर्यटकहरु घटेसँगै जलयात्रा प्रभावित बनेको हो । 

स्याङ्जाको मिर्मी आँधीमुहानदेखी पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा पर्यटकको अभावमा अनियमित हुन थालेको छ । झण्डै तीन किलोमिटरको जलयात्रा करिडोर र लोकमार्गका कारण प्रभावित बन्दै गएको हो । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक जलयात्रा गर्ने स्टीमर नपाएर समस्यामा परेका छन् । स्याङ्गा, गुल्मी र पर्वत जिल्लाको संगमस्थल सेतीवेणीमा शीला दर्शन गर्न पुग्नेहरु समस्यामा पर्ने गरेका हुन् ।

'बाहिरको पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुन थालेको छ' -व्यवसायी पाैडेल

तीन जिल्लाहरुका विभिन्न स्थानहरु पुग्नेहरु कालीगण्डकी लोकमार्ग प्रयोग गर्न थालेसँगै जलयात्रा प्रभावित बनेको हो । एक स्टीमरले एक सय देखी एक सय २० जनासम्म व्यक्तिहरुलाई एक पटकमा जलयात्रा गराउन सक्छ । जसको प्रतिव्यक्ति एक सय रुपैयाँ एकोहोरो भाडादर तय गरिएको छ । तर स्टीमरको नियमितता नभएपछि कतिपय पर्यटकले महँगो शुल्कमा स्टीमर रिजर्भ समेत गर्न बाध्य भएका छन् । 

दुई वर्ष यता जलयातायात व्यवसाय जीर्ण अवस्थामा पुगेको शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका व्यवसायी तिलाचन पौडेलले बताए । उनी भन्छन्, ‘ड्यामको दुवै तर्फ बाटो खुल्यो । मानिसहरु त्यहीँबाट आवतजावत गर्न थाले । मर्मत भन्दै समयसमयमा परियोजनाले पानी घटाउँदा समेत जलयात्रा प्रभावित बन्छ । अहिले नियमित छैन ।’ केही वर्ष अघिसम्म दैनिक दुई तीन पटकसम्म दश स्टीमरले जलयात्रा गराउने गर्थे । अहिले दैनिक मुस्किलले दुईदेखी तीन वटा एक पटकमात्र जलयात्रा हुने उनले बताए । ‘आन्तरिक पर्यटक प्राय शून्य भैसके । बाहिरको पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुन थालेको छ,’–पौडेलले भने । स्टीमर सञ्चालन गर्ने पुराना व्यवसायी पलायन भैसकेको उनी बताउँछन्। 
स्टीमर सञ्चालन हुन कठिनाई भएपछि यसक्षेत्रका क्षेत्रका धेरै युवा बेरोजगार भएको स्टीमरका सहायक सुमन राना मगरले बताए । दैनिक हजारौं यात्रु तथा शालिग्राम दर्शनार्थीहरु ओसारपोसार हुन्थ्यो । मालसामान समेत जलयात्राबाटै लगिन्थ्यो । अहिले गाडीबाटै लगिन्छ । स्टीमरबाटै गुजारा गर्नेहरु बेरोजगार बनेका छन्, मगरले भने । 

बुधबार परिवारसँग शालिग्राम दर्शनकालागि पुगेका पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जलयातायातमा यात्रा गर्नेहरु घटेसँगै स्टीमर अनियमित भएको बताए । उनी भन्छन्, ‘नेपालको एकमात्र मनोरञ्जनात्मक जलयात्रा प्रभावित बन्यो । परिवारलाई शालिग्राम शीला घुमाउन र र्याफ्टीङ्गको मनोरञ्जन लिन स्टीमर नै रिजर्भ गर्नुपर्यो ।’

कालीगण्डकीमा दिनहुँजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो पर्यटक कालीगण्डकी आउने गरेका छन् ।
गुल्मीको हर्मीचौरदेखी पूर्तिघाट साईडमा नेपाली सेनाले करिडोर निर्माण सम्पन्न गरेसँगै नियमित गाडी सञ्चालनमा छ । स्याङ्जाको सेतीवेणी स्थानतर्फ भने झण्डै एक किलोमिटर ट्रयाक खुल्न बाँकी छ । यस अघि पनि करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रमले जलयात्रा प्रभावित बन्दै आएको थियो ।

 

प्रकाशित: २६ चैत्र २०७३ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App