समाज

जलहरी काण्ड छानबिन अन्तिम चरणमा

पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रूपैयाँ अनियमितता भएको छ। यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।  

छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतको भनाइ छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा पनि यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी लगाउने सन्दर्भमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।

‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’

प्रकाशित: २४ जेष्ठ २०८० ०९:४४ बुधबार

जलहरी काण्ड छानबिन अन्तिम चरणमा प्रधानमन्त्री केपी शर्मा ओली पशुपति गर्भगृहमा सुनको जलहरी राख्दा करोडौं रूपैयाँ अनियमितता भएको छ।