समाज

श्रम गरेर परिवार पाल्दै बालबालिका

रोल्पा – रोल्पा लिवाङ नगरपालिका–८ की बिमला महरा ७ वर्षको उमेरदेखि नै घरबाहिर बस्दै आएकी छिन् । अहिले उनी १३ वर्षकी भइन् । उनी सदरमुकाम लिवाङमा रहेको एक पसलमा काम गर्छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी उनको आमा मुखले बोल्न सक्दिनन् भने वुबासमेत वृद्ध अवस्थामा छन्। 

उनी मात्र होइन उनको परिवारमा दुई दाइ र एक बहिनीले समेत उनी जस्तै बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । घरदेखि १५ मिनेटको दूरीमा विद्यालय रहेपनि उनीहरुले अहिलेसम्म विद्यालय देख्न पाएका छैनन् । सबै छोराछोरीले अर्काको घरमा बसेर काम गर्ने गरेको भएपनि अहिलेसम्म एक पैसा नपाएको बिमलाका बुबा हस्तवहादुर महराले बताए। 

१२ वर्षीय दिनेशलार्इ  काम गरेबापत कति पारिश्रमिक पाउँछु भन्ने कुरा पनि थाहा छैन् ।

 

“७३ वर्ष उमेर भएपनि आफैँ भारी बोकेर श्रीमती पाल्दै आएको छु, के गरौँ, काम नगर्दा खान पुग्दैन”, महराले दुःखेसो पोखे। 

कम्मरमा नाम्लो बाँधेर बिहान झिसमिसेमै सदरमुकाम आउनु उनको दिनचर्या बनेको छ । भारी बोक्न पाएको दिन साँझ फर्कंदा चामल लिएर फर्कनु हुन्छ । सदरमुकाममा ट्याम्पो चल्न थालेपछि त पेसासमेत सङ्कटमा पर्न थालेको उनले बताए । पहिले पहिले बसका यात्रुको सामान घरसम्म पुर्याउनुपथ्र्यो अहिले भने सबै काम ट्याम्पोले गर्दा रोजगारी नै खोसिएको महराले गुनासो गरे। 

रौतहट ब्रह्मपुरीका १२ वर्षीय दिनेश साह सदरमुकाम लिवाङमा रहेको एक मिठाई पसलमा काम गर्छन् । राम्रोसँग नेपाली भाषा बोल्न नसक्ने उनी बिहानै ५ देखि बेलुका १० बजेसम्म भाँडा धुने, सफाइ गर्नेलगायतको काम गर्छन्। काम गरेबापत कति पारिश्रमिक पाउँछु भन्ने कुरा उनलाई थाहा छैन। 

साहुले उनको बुबासँग सम्झौता गरिल्याएको हुँदा सम्झौताअनुसारको रकम बुबाले नै बुझ्ने गरेको उनले बताए । काम गर्न थालेको ३ वर्षभन्दा बढी भएको र उनले काम गरेको पारिश्रमिक भने साहुले नियमित दिने गरेको दिनेशले बताए। 

“दीपावलीमा घर जाँदा साहुले बुबालाई पैसा दिन्छन्”, उनले भने । उनले काम गर्ने पसल हुँदै विद्यालय जाँदै गरेका उनको उमेरका साथी देख्दा विद्यालय जान पाए हुन्थ्यो भन्ने लागेको उनले बताए। 

गजुल–१ रोल्पाका अर्का १३ वर्षीय बालक गोविन्द विक लिवाङमै रहेको अर्को एक रेस्टुरेन्टमा काम गर्छन् । उनले काम गरेबापत मासिक रु पाँच हजार पारिश्रमिकसमेत पाउँदै आएका छन् । काम गर्न लागेको पाँच महिना भयो, साहुले महिना मर्ने बित्तिकै पैसा दिने गरेको विकले बताए। 

घरमा आर्थिक अवस्था निकै कमजोर छ, यही पैसाले घर खर्च चलेको विकले अगाडि थपे । बुबा वैदेशिक रोजगारीमा रहेपनि बुबाको कमाईले मात्र परिवार पाल्न निकै समस्या भएका कारण काम गर्न बाध्य भएको उनले वताए। 

धवाङ–२ रोल्पाकी १२ वर्षीया वीरमती सुनार अर्की बालश्रमिक हुन् । उनले सदरमुकाममा रहेको एक पसलमा काम गर्छिन् । उनलाई काम गरेबापत साहुले मासिक रु चार हजार पारिश्रमिक दिने गर्दछन् । पारिश्रमिक पाउने बित्तिकै उनले सबै पैसा घर पठाउँछिन् भने कहिलेकाहीँ त महिना सकिने बित्तिकै घरवाट पैसा लिन आउने गरेको उनको भनाइ छ। 

यसरी बालश्रमिकका रुपमा काम गर्ने बालबालिकाको सङ्ख्या रोल्पा सदरमुकाम लिवाङमा मात्रै १९ बालक र नौ बालिका गरी २८ जना रहेको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीले जानकारी दिए। 

यसरी काम गर्ने होटेलमा १३, फेन्सी स्टोरमा तीन, फर्निचरमा दुई, घरेलु कामदार सात, मोटर वर्कसपमा तीनजना रहेको भण्डारीले बताए । स्रोत अभावका कारण सदरमुकाममा रहेका बालश्रमिकको मात्रै तथ्याङ्क लिएको बताउँदै जिल्लाका सबै गाविसमा बालश्रमिकको सङ्ख्या धेरै हुनसक्ने भण्डारीले बताए। 

विद्यालय उमेरका तर विद्यालयको पहुँच नभएका जिल्लाका विभिन्न १५ गाविसका बालश्रमिकलाई मानवअधिकार सचेतन केन्द्र, रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा अघिल्लो वर्ष तीनसय ५१ र यस वर्ष एकसय १३ जना वालबालिकालाई वैकल्पिक शिक्षा दिएको एकीकृत परियोजनाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिए। 

पढाइ छोडेका, इँटा भट्टाबाट फर्किएका तथा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिएको पोख्रेलले बताए। 

बालश्रम न्यूनीकरणका लागि स्थानीय स्रोतसाधनको परिचालन गरेर विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला बाल सङ्गठनका कोषाध्यक्ष वेगमकुमार हमालले बताए। 

असहाय तथा अनाथ बालवालिकालाई पठनपाठन र छात्रवृत्तिका लागि केन्द्रीय बालकल्याण समितिमा सिफारिस गर्दै आएको उनले जानकारी दिए। बालश्रमिक न्यूनीकरणमा हरेक वर्ष सरकारी एवम् गैरसरकारी निकायवाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद पक्ष रहेको मानवअधिकारकर्मी तीर्था आचार्यले प्रतिक्रिया दिए । उमा केसी/रासस 

प्रकाशित: २५ चैत्र २०७३ ०६:१२ शुक्रबार

श्रम गरेर परिवार पाल्दै बालबालिका