समाज

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

काठमाडौँ –पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । 

दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बिहीबार उद्घाटन गरे ।

सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले बताएका छन् ।

मन्त्री गुरुङले घरेलु कामदारका रुपमा जानेहरुले आत्मसम्मानपूर्वक काम गर्न पाउने अवस्थामा मात्रै उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए । 

अहिलेको अवस्थामा घरेलु कामदारका रुपमा पठाउँदा विभिन्न समस्या आएको स्वीकार गर्दै त्यसलाई व्यवस्थित गर्न मन्त्रालय लागिरहेको उनको भनाइ छ । 

सांसद विनोद श्रेष्ठले इथोपियाजस्तो गरिब मुलुकले समेत खाडीमा घरेलु कामदारको सुरक्षा नभएको भन्दै पठाउन रोक लगाएको अवस्थामा नेपालले पठाउनैपर्छ भन्ने नरहेको टिप्पणी गरे । उनले सम्बन्धित मुलुकसँग श्रम सम्झौता गरेरमात्रै घरेलु कामदार पठाउनुपर्ने सुझाव दिए । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भाषाको समस्या, तालिमको अभावजस्ता कुराले घरेलु कामदारले विदेशमा दुःख पाइरहेको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । 

साउदी अरबका लागि नेपालका पूर्व राजदूत उदयराज पाण्डेले नेपालले घरेलु कामदार खोले साउदीले मात्रै १० लाख कामदार लैजान तयार रहेको भन्दै त्यसअघि उनीहरुको सुरक्षाको सुनिश्चितता खोजिनुपर्ने भनाइ राखे । 

घरेलु कामदार सरोकार समाजका महासचिव डिबी तामाङले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने जिकिर गरे । 

आयोजक पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जाने महिला कामदारमध्ये ९० प्रतिशत घरेलु कामदारको रुपमा जाने गरेको भन्दै उनीहरुको सुरक्षित आप्रवासको उपायका सम्बन्धमा सम्मेलनमा छलफल गरिने बताए । 

सम्मेलनमा विभिन्न देशबाट वैदेशिक रोजगारीबाट फर्किएका र यो क्षेत्रमा संलग्न करिब तीन दर्जन प्रतिनिधि सहभागी रहेका छन् । रासस

प्रकाशित: २४ चैत्र २०७३ ०९:५० बिहीबार

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु