समाज

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

भिटामोड–जलेश्वर–जनकपुर सडकको निर्माणधिन अवस्था । तस्बिर : महेशकुमार दास

महोत्तरी – आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस  र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका  भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।  

एक पटक मात्रै भिट्टामोड –जलेश्वर– जनकपुर सडकमा यात्रा गरेपनि धुलोले यात्रुको शरिर ढपक्क छोप्छ र मान्छेको अनुहार चिन्न समेत गाह्रो पर्छ । धुलोले जति बेला पनि सडक ढप्पक छापेको हुन्छ त्यही धुलो छिचोल्दै यात्रा गर्नु पर्ने बाध्यता यात्रुहरूलाई छ । सडक भरी जतिवेला पनि उड्ने बाक्लो धुलोले विपरित दिसाबाट आउने सवारी साधन नजिक आइ सकेपछि मात्र हेर्न सकिने भएकोले यात्रुको ज्यानको जोखिम समेत उत्तिकै रहेको छ ।  

सडकमा सकस खेप्दै यात्रुहरू यात्रा गर्नु पर्ने  बाध्यतमक स्थित छ तर यतिका प्रमुख राजनीतिक दलको शाखसँग जोडिएको भिटामोड –जलेश्वर– जनकपुर सडकको निर्माणको गति बढाउन कसैको पनि ध्यान त्यता तिर जान सकेको छैन ।  

एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माणमा पनि राजनीतिकरण गर्न पछि नपरेका राजनीतिक दलका नेताहरु भने अहिले कछुवाको तालमा सडक निर्माण घिस्रि रहेको हेरेर पनि नहेरे झैँ बसेका छन् । 

सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदारहरूले सुस्त गतिमा कामलाई अघि बढाउँदा अहिले उक्त सडक भएर आवतजावत गर्ने यात्रुलाई पहिले भन्दा पनि चारगुणा बढी समस्या खेप्नु परिरहेको छ ।  
सडक निर्माण गर्ने क्रममा सडकको दुवै छेउमा माटो भरेर छाडिए पछि धुलोले पहिले भन्दा पनि बढी हैरानी थपिएको जलेश्वर २ का लक्ष्मीकुमार साह बताले बताए । ठेकेदारहरूले माटोको काम गर्दा पानि छर्केर कम धुलो उडने गरि काम गर्नु पर्ने आवश्यक हुन्छ तर कामगर्ने ठेक्केदारहरूले यात्रुको समस्याको ख्याल नै नगरी आफ्नै मनोमानि गर्दै आएको स्थानीय साहको आरोप छ ।

  
यता वर्षाको मौसम आउन दुई महिना मात्र बाँकी रहेको र यो दुई महिनामै ग्राभेलको काम नसके उक्त सडक भएर चल्ने यातायातलाई नै समस्या पर्न सक्ने चिन्ताले स्थानीयलाई सताउन थालेको छ । 
महोत्तरी जिल्लाकै विकासको मेरुदण्डको रुपमा रहेको भिटामोड– जलेश्वर –जनकपुर सडक कुनै कारणवस अवरुद्ध भयो भने यहाँको सम्पूर्ण व्यापार व्यवसायमा प्रभाव पर्न जान्छ त्यही भएर तिव्रगतिमा सडकको कामलाई अघि बढाउनु बाहेक अर्को कुनै विकल्प नरहेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले बताए ।  

स्थानीय बासिन्दाले जीर्ण अवस्थामा रहेको भिटामोड– जलेश्वर –जनकपुर सडक सडक निर्माण गर्नुपर्ने माग गर्दै पटक पटक गरेको आन्दोलनको दवाव खेप्न नसकी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको निर्देशनमै भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले गएको भदौ २३ गते उक्त सडक नेपाल सरकारकै लगानीमा निर्माण गर्ने निर्णय गरी शिलान्यास गरेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको चासो र नेपाली काँग्रेसको तर्फबाट भौतिक पूर्वाधार तथा यातायतमन्त्री रहेका रमेश लेखकले आएर उक्त सडक शिलान्यास गर्दा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको नाम पनि यस सडकसँग जोडिन पुगेको थियो । त्यति वेला दुवै राजनीतिक दलले आ–आफ्नै दलको एकल प्रयासबाट उक्त सडक निर्माण कार्य शुरु भएको हान थाप गर्न पनि पछि परेनन् । 
उत्ता नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य रामकुमार शर्मा सहित माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव , तमलोपाका युवा नेता रमण कुमार ठाकुर र स्वतन्त्र मधेसी गठबन्धनका युवा नेता रञ्जितराज मधेसीले झण्डै दुई साता लामो आमरण अनसन बसेपछि उक्त सडक निर्माण कार्यको थालनी आफूहरूकै आन्दोलनको कारण शुरु भएको बताएका थिए ।     

तर यति धेरै राजनीतिक दलको चासोको विषय बनेको भिट्टामोड –जलेश्वर– जनकपुर सडकको निर्माणको गति हेर्दा ज्यादै नै दुःख लाग्दो अवस्थामा छ । 
सडक निर्माण गर्ने ठेक्का पाएका श्री प्रतिभा वाई पि जे.भी र श्री आशिष पप्पु रोशन जेभीले शिलान्यास भएको तीन महिना पछि कात्तिकको पहिलो साता देखी चार लेनको सडक निर्माण कार्यको थाल्नी गरेपनि काम सोचे जति तिव्र गतिमा हुन सकेको छैन । कामको गति देखेर फागुन ६ गतेका दिन महोत्तरीबाट ५० जना भन्दा बढी नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री प्रचण्डलाई सडकको अवस्था बारे ध्यानाकर्षण गराएका थिए । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकलाई सडक निर्माणको गति बढाउन  पहल गर्न निर्देशन दिएका थिए । मन्त्री लेखकले पनि महोत्तरीबाट काठमाण्डौँ पुगेका नागरिक समाजका अगुवाहरूको गुनासो मेट्न आफू सहित मन्त्रालयको टोलिले उक्त सडकको स्थलगत निरीक्षण अनुगमन गर्ने आश्वासन दिएका थिए । तर अहिलेसम्म उक्त सडकको न स्थलगत अनुगमन भएको छ न त निर्माणको गतिमै केही सुधार हुन सकेको सकारात्मक विकासका लागि नागरिक समाजका अध्यक्ष राजकिशोर झाले बताए । 
शिलान्यास भएको ८ महिना र काम शुरु भएको पाँच महिना बितिसक्दा समेत सडक विभाग, हुलाकी राजमार्ग आयोजना र ठेकेदारको ढिलासुस्तीको कारण सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

सडक निर्माण सम्बन्धि जानकार प्राविधिकहरूका अनुसार अहिलेसम्म माटो र ग्राभेल दुवै काम सम्पन्न भई सक्नु पर्ने थियो तर सम्बन्धित निकायको ढिलासुस्तीको कारण अहिले सम्म माटोकै काम पूर्ण रुपमा पुरा हुन नसक्दा समयमै काम पुरा हुन सक्ने सम्भावना न्युन रहेको छ । 
स्थानियहरुको दवाव पश्चात भारत सरकारको जिम्मामा निर्माण कार्य हुने उक्त सडकलाई नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गर्दै भिट्टामोड–जलेश्वर– जनकपुर सडक निर्माण गर्न ठेक्केदार छनौट गरी काम गर्ने सम्झौता गरेका थिए । 
साथै सडकको काम गर्न आवश्यक रकम कमी हुन नदिने प्रतिबद्धता यातायातमन्त्री लेखकले समेत जनाएका थिए । 

नेपाल सरकारले १८.५६ किमिको उक्त सडक दुई प्याकेजमा निमार्ण गर्ने र त्यसका लागि प्योकज नम्वर १ अन्तर्गत जिरोमाइल देखि ९ किलोमिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याट सहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्वर २ मा ९ किलोमिटरदेखि १८.५६ किलोमिटर सम्म श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याट सहित वजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको ठेक्का अवधि ३ वर्ष रहेको र उक्त सडक २३ मिटर चौडा चार लेनको कालोपत्रे सडक निर्माण हुने जनाइएको छ । स्थानीयले निर्माणाधिन उक्त सडक निर्धारित समयमै पुरा गर्नु पर्ने माग सरोकारवाला निकायसँग गरेका छन । 

४४ वर्ष पहिले दुई लेन कालोपत्रे बनेको उक्त सडक आवश्यक रेखदेख र मर्मत सम्भारको अभावमा एक दशक देखि जीर्ण अवस्था रहेको कारण हिड्नै नसक्ने अवस्थामा पुगिसकेको थियो । 

प्रकाशित: २३ चैत्र २०७३ ०४:५८ बुधबार

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा