समाज

गुडिरहेको गाडीमा पहाडै खस्यो

चितवन-नारायणगढ–मुग्लिन सडक निर्माणको सुस्तताले यात्रुको ज्यानै जानेसम्मको दुःखद घटना सोमबार भएको छ। दुई वर्षअघि सुरु भएको विस्तारको कामका लागि एक वर्षअघि सुरु गरेको पहाड काट्ने काम अझै नसकिँदा चर्केर बसेको चट्टान सडकमा गुडेका गाडीमाथि बज्रियो। सो घटनामा पाँचवटा गाडी क्षतिग्रस्त भए। दुईजनाको ज्यानै गयो भने अन्य दुईजना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज राना छन् । उनले बा १० प ४८४४ नम्बरको मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । मोटरसाइकलपछाडि बसेका रानाका १५ वर्षीय छोरा सन्दीप घाइते भएका छन् ।

पहिरोमा ना४ख ५४१९ नम्बरको ट्यांकर पनि पुरिएको थियो । अर्का मृतक सोही ट्यांकरका सहचालक भारत बेतियाका विनयकुमार कोइरी रहेको प्रहरीले जनाएको छ । ट्यांकरका चालक वीरगन्ज लछुमनुवाका वर्ष ४५ का बनु पटेल पनि घाइते भएका छन् । घाइते दुवैजनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा परेर रा१ख ७७९ नम्बरको मिनी ट्रक र बा१६च ३९०६ नम्बरको कार पनि क्षतिग्रस्त भएका छन्। चट्टानैचट्टानको पहाडमा अचानक पहिरो गएको नारायणगढ–मुग्लिन सडक निर्माण आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । ‘घुमाउरो बाटो सीधा बनाउन पहाड हटाउने काम सुरु भएको छ’, उनले भने ।

आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार सडक विस्तारका क्रममा विगत एक वर्षयता पहाड काट्ने काम सुरु भएको हो । झन्डै ४८ मिटर अग्लो पहाड काट्नुपर्ने भए पनि अहिलेसम्म आधाभन्दा पनि कम काम भएको छ । यो स्थान नारायणगढबाट २२ किलोमिटर पर निकै घुमाउरो परेको ठाउँमा छ ।

‘ढिस्कोको टाकुराबाटै मेसिनले पहाड काट्दै ल्याएका थियौं । सोमबार पहिरो जाँदा काट्ने काम सुरु भएको थिएन । आधा घन्टापछि काम सुरु गर्न मेसिन पहाड उक्लने तयारीमा थियो तर यस्तो भयो’, प्रमुख यादवले भने । काट्न निकै कठिन पहाड लगातारको पानीले कमजोर भएर सडकमा खसेको अनुमान छ ।

आयोजनाका अधिकारीहरूका अनुसार काट्न निकै गाह्रो हुने गरे पनि पछिल्लो समय पहाडका ठाउँठाउँमा चिरा परेको थियो । निरन्तर मेसिन चल्दा चट्टान कमजोर भएको थियो । केही भाग सडकतर्फ खसेको पनि थियो । एकदुई दिन पानी परेपछि कमजोर भाग सडकमा झरेको हो । सडकमा चट्टानको १० मिटर अग्लो थुप्रो लागेको थियो । सो थुप्रो सडकमा ४० मिटरसम्म फैलिएको सूचना अधिकारी खनालले बताए ।

पहिरोमा एउटा ट्यांकर पूरै पुरिएको थियो । एउटा ट्रकको पछाडि र एउटा मिनी ट्रकको अगाडिको भाग पहिरोमा परेर क्षतिग्रस्त भएको छ । एउटा मोटरसाइकल पनि पहिरोको चपेटामा परेर क्षतविक्षत भएको छ । मृत्यु हुनेमा ट्यांकरका सहचालक र मोटरसाइकलको चालक रहेको सूचना अधिकारी खनालले बताए।

‘बाटोमा जोखिम बढेको छ । अब यस्ता जोखिम के गरेर कम गर्न सकिन्छ भन्नका लागि छलफल चलाउन मंगलबार सडक निर्माण आयोजना प्रमुख र तीनवटै खण्डका निर्माण व्यवसायीबीच बैठक राखेको छु’, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने । वर्षायाममा जोखिम झनै बढ्ने भएका कारण सावधानी अपनाउन आवश्यक भएको उनले बताए ।

पहिरो पन्छाएर पुरिएका गाडी झिक्न दुईवटा लोडर र दुईवटा एक्साभेटरलाई तीन घन्टा लागेको थियो । सडकको पहिरो हटाए पनि माथिबाट पहिरो झर्न सक्ने खतरा कायमै थियो । झर्ने सम्भावना रहेको पहिरो हटाएर साँझ ५ बजेदेखि दुईतर्फी गाडी सञ्चालन गरेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडक खण्डलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम दुई वर्षअघि सुरु भएको हो । सडक विस्तार हुँदै गर्दा अचेल बिहान १० बजेदेखि चार बजेसम्म गाडी चल्न बन्द गरिएको छ ।

१० बजेपछि नारायणगढ आँपटारी र मुग्लिनबाट गाडी चल्दैनन् । यात्रु बस निकै कम चल्ने समयमा घटना भएका कारण ठूलो जोखिम टरेको अधिकारीहरू बताउँछन् । ‘शंका नगरेको ठाउँमा अचानक पहिरो गएको छ । तैपनि हामीले यसअघि नै सावधानी अपनाउन निर्देशन दिएका थियौं । त्यो पालना भए÷नभएको बैठकमै छलफल हुनेछ’, प्रजिअ भट्टले भने ।

विस्तारका क्रममा वर्षायाममा पहिरो गएर घन्टौं सडक जाम भए पनि यात्रु हताहत हुने घटना अहिलेसम्म भएको थिएन । यसअघि दुईपटकसम्म ठूला सुक्खा पहिरो खस्दा गाडी क्षतिग्रस्त भए पनि यात्रा गर्नेलाई केही भएको थिएन ।

दुई वर्षभित्र काम सक्ने गरेर नारायणगढ–मुग्लिन सडक विस्तारको लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । तर, काम निकै सुस्त छ । निर्माण पूरा हुने अवधि थपेर आउँदो वर्षको पुससम्म पुर्‍याइएको छ । 

सडक विस्तारको काममा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको सडक निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडक राजधानीलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य सडक हो जहाँ दिनहुँ १० हजारसम्म गाडी ओहोरदोहोर गर्छन् ।    

प्रकाशित: २२ चैत्र २०७३ ०१:४० मंगलबार

गुडिरहेको गाडीमा पहाडै खस्यो