समाज

‘नर्कबाट छुटकारा पाएँ’

काठमाडौं-रातको एक बजेको थियो । बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम भ्याइसकेकी थिइन्। घरको काम सक्दा सधंै रातको एक बज्थ्यो । त्यसपछि उनी सुत्न जान्थिन्। तर, त्यस दिन (२०७३ फागुन १९) उनलाई सुत्नु थिएन। उनले आपूm सुत्ने कोठाको ढोका लगाइन् र धमाधम आफ्ना कपडा पट्याउँदै झोलामा प्याक गरिन्।

उनी थिइन् साउदी अरेबियाको हाफर अल–बेथनस्थित एक घरमा । एउटा कुनामा झोला राखेर उनी भुइँतलाबाट माथिल्लो तलामा गइन् । साहु–साहुनी, उनीहरूका छोराछोरी मस्त निद्रामा थिए । उनले यही खोजेकी थिइन् । बिस्तारै भुइँतलामा झरिन् र बुर्का लगाइन् । त्यसपछि कपडा पोको पारेको झोला च्यापी आँगनमा निस्किइन् । कसैले देख्ला कि भनेर वरपर हेरिन् । कोही थिएन उनलाई देख्ने । बिस्तारै गेट खोलिन् र बाहिरिन् ।

सडक सुनसान थियो । सडकबत्ती एकसुरमा बलिरहेका थिए । दुई सय मिटरजति पर एक पुरुष उभिएको देखिन् । पुरुषको आडमा एउटा गाडी पनि थियो । उनी सास रोकेर ती पुरुषतर्फ दौडिइन् । पछाडि फर्केर हेर्ने आँट उनमा थिएन ।

‘ए तिमी आयौ बैनी ? म त तिमी आएनौ भनेर झन्डै फर्किसकेको थिएँ’, गाडीको ढोका खोल्दै ती पुरुषले भने । उनको बोली निस्केन । एकछिनपछि मात्र बोली फुट्यो, ‘दाइ, छिटो हिँड्नोस् । साहुले थाहा पाए भने पुलिसलाई खबर गर्छन् ।’ उनीहरू दमामतर्फ हुइँकिए ।

२०६९ सालको एसएलसीमा दुई विषयमा फेल भएपछि गोमालाई लाग्यो– ‘अब यो एसएलसी पार लाउन सक्दिनँ ।’ त्यसपछि उनले २०७० मा वैदेशिक रोजगारमा जाने निर्णय लिएकी थिइन् । केही साथीभाइसँग वैदेशिक रोजगारका विषयमा बुझ्न पनि थालिन् । उनले विदेश जाने निर्णय आफ्नो बुवाआमा र परिवार सदस्यलाई थाहा दिएकी थिइनन् । थाहा दिए जान दिँदैनन् भन्ने उनलाई पक्का थियो । त्यसैले विदेश जाने योजना मूर्त रूप दिन उनी लुकिछिपी लागिन् । ‘धेरै दिनको प्रयासपछि कुवेत पठाउने एजेन्टबारे थाहा पाएँ’, तीन वर्षअघिको सम्झना उनको आँखाअगाडि नाचिरहेको छ ।

कुवेत पठाउने एजेन्ट थिए– शशिराम खड्का र अम्रिता थापामगर । विदेश जाने निर्णयमा पुगेकी उनले त्यतिबेलासम्म नागरिकता र पासपोर्ट बनाएकी थिइनन् । उनले एजेन्टलाई आफ्नो सम्पूर्ण कुरा सुनाइन्। बाँकेबाट बनाए बुवा–आमाले थाहा पाउँथे, जुन सम्भव थिएन । त्यसपछि एजेन्टले उनलाई अन्य ठाउँबाट नागरिकता बनाउन सुझाए । त्यसका लागि पनि एजेन्टले सहयोग गर्ने वचन दियो । उनी नागरिकता र पासपोर्ट बनाउन घरबाट भाग्ने निर्णयमा पुगिन् ।

२०७० फागुनको पहिलो साता उनी घरबाट भागिन् । उनी केही दिन नेपालगन्जमा बसिन् । त्यसपछि एजेन्टले उनलाई झापा पु¥यायो । उनीसँगै अन्य पाँच युवतीलाई पनि एजेन्टले सोही बहानामा झापा लगेको थियो । झापा जिल्ला प्रशासन कार्यालयमा घूस खुवाएर एजेन्टले उनको नाममा फागुनको दोस्रो साता नागरिकता निकालिदियो । प्रशासकीय अधिकृत केशवप्रसाद रिजालले उनको नागरिकतामा हस्ताक्षर गरेका छन् । उनको नागरिकता प्रमाणपत्र नं.०४–०१–७०–२२७९३ हो । नागरिकतामा उनको स्थायी ठेगाना झापा, महेशपुर–१ उल्लेख छ ।

‘यति सजिलै नागरिकता निकाल्न मिल्छ भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ’, उनले सुनाइन्, ‘हामी ६ जना केटीको नागरिकता एकसाथ बन्यो ।’ नागरिकता निकालेपछि एजेन्टले झापाबाटै उनको नाममा एमआरपी (मेसिनले पढ्न सक्ने पासपोर्ट) निकालिदिए । उनको पासपोर्टमा जारी मिति सन् २०१४ फेब्रुअरी ११ उल्लेख छ भने उनको पासपोर्ट नम्बर ०७०६१२२५ हो । नागरिकता बनाउँदा उनको वास्तविक उमेर १७ बर्ष थियो तर नागरिकतामा जन्ममिति २०४० भदौ १० उल्लेख छ अर्थात् ३० वर्ष । वास्तविक उमेरभन्दा १३ वर्ष बढाएर एजेन्टले उनको नाममा नागरिकता र पासपोर्ट जिल्ला प्रशासन कार्यालय झापाबाट बनाइदिएको थियो ।

पासपोर्ट बनेपछि गोमा नेपालगन्ज फर्किइन् तर घर गइनन् । घर छोडेपछि उनले घरमा सम्पर्क गरेकी थिइनन् । त्यसको केही दिनपछि उनलाई एजेन्टले कुवेतमा मेडिकल लाइनमा काम लगाइदिने आश्वासन दियो । उनले एजेन्टलाई पासपोर्ट बुझाइन् । त्यसको केही दिनपछि एजेन्टले कुवेतको भिसा आएको र जानका लागि तयार हुन भन्यो । जानुअघि प्रत्येकले ७० हजार रुपैयाँ बुझाउन एजेन्टले उर्दी ग¥यो । 

गोमा संकटमा परिन् । भिसा आइसक्यो तर एजेन्टलाई दिने पैसा छैन । बुवा–आमासँग माग्नेकुरा उनले सोच्दा पनि सोचिनन्, किनकि त्यो बाटोले उनलाई कुवेत पु¥याउँदैनथ्यो । उनले आफ्नो गलामा हेरिन् र मुस्कुराइन् । घाँटीमा लगाएको एक तोला सुनको सिक्री उनले एजेन्टलाई बुझाइन् । बाँकी रकम कुवेतमा काम गरेपछि तिर्ने बाचा एजेन्टले गरायो । उनले एजेन्टको सर्तमा औंठाछाप लाइदिइन् ।

एजेन्टले गोमालाई काठमाडौं ल्याई केही दिन गोंगबुस्थित एक होटलमा राख्यो । त्यहाँ गोमाजस्तै थुप्रै युवती थिए जो कुवेत जाने सपनामा थिए । कोही भन्दै थिए, ‘काम गज्जब राम्रो हुन्छ । हामी त बिदामा आएर फेरि जान लागेका ।’ यी सबै तयार पारिएका पात्र बोलिरहेका थिए, गोमालगायतलाई वास्तविक लागिरहेको थियो । ‘केही युवती हामीलाई कुवेतमा राम्रो काम पाइन्छ, काम गर्न सजिलो छ, पैसा राम्रो कमाइ हुन्छ भन्दै उक्साइरहेका थिए’, उनले सुनाइन् ।

‘ए तिमी आयौ बैनी ? म त तिमी आएनौ भनेर झन्डै फर्किसकेको थिएँ’, गाडीको ढोका खोल्दै ती पुरुषले भने । उनको बोली निस्केन । एकछिनपछि मात्र बोली फुट्यो, ‘दाइ, छिटो हिँड्नोस् । साहुले थाहा पाए भने पुलिसलाई खबर गर्छन् ।’ उनीहरू दमामतर्फ हुइँकिए ।

काठमाडौं आएको केही दिनपछि गोमासहित सात युवती एकसाथ कुवेत प्रस्थान गरे । दुबईमा तीन घन्टा ट्रान्जिट थियो । त्यसपछि उनीहरू कुवेत पुगे । त्यहाँ उनीहरूलाई लिन एजेन्ट आएका थिए । अहिले उनलाई ती एजेन्टको नाम सम्झना छैन । उनीहरूलाई एउटा ठूलो घरमा लगियो । एजेन्टले उनीहरूलाई राखिएको घर ‘दूतावास’ भएको बताए, तर त्यो साँचो थिएन । कुवेत पुगेको १५ दिनपछि उनीहरू बसेको घरमा एकजना मुस्लिम महिला आइन् । उनले सबै जनालाई हेरेपछि गोमातर्फ औंला देखाउँदै इसारा गरिन्, ‘यो केटी ठिक छ ।’

ती महिलाले उनलाई आफ्नो गाडीमा राखेर लगिन् । कुवेत पुग्नेबित्तिकै उनको पासपोर्ट एजेन्टले लिएका थिए । एजेन्टले उनको पासपोर्टमा साउदी अरेबियाको ६ महिनाको भिजिट भिसा लगाइसकेको उनलाई थाहा थिएन । ‘मलाई कहाँ लैजान लाग्नुभएको ?’ गोमाले सोधिन् । ‘साउदी अरब’ ती मुस्लिम महिलाले भनिन् । ‘मलाई त कुवेतमा मेडिकल लाइनमा काम लगाइदिने भनेको होइन र ?’ कुवेतबाट बेचिएर आफूलाई साउदी लग्न लागेको भेउ पाएपछि गोमाका हातखुट्टा काप्न थाले । ती मुस्लिम महिला केही बोलिनन् । गाडी अगाडि बढिरह्यो ।

तीनतले घर । झन्डै घरजत्रै पर्खाल (कम्पाउन्ड) । स–साना झ्याल – गोमालाई साउदीमा राखिएको घर यस्तै थियो । पर्खाल एक तलाभन्दा अग्ला भएकाले सडकबाट घरभित्र के भइरहेको छ केही देखिँदैनथ्यो । बाहिर निस्कने मूल गेटमा सधंै साँचो लगाइएको हुन्थ्यो । साँचो साहुनीसँग । घरबाट बाहिर निस्कन सकिँदैनथ्यो । उनको जीवन तीनतले घरमा थुनिएको थियो ।

‘साउदी पुगेको चार–पाँच महिनासम्म म साउदीको कुन ठाउँमा छु केही थाहा भएन’, गोमाले भनिन्, ‘बुवा–आमालाई थाहै नदिई आएको । झलझल्ली उहाँहरूकै अनुहार आँखाअगाडि घुमिरहन्थ्यो । कति रात रोएर मात्र काटें ।’

घरको सम्पूर्ण काम उनी एक्लैले गर्नुपथ्र्यो । कपडा धुने, घर सफा गर्ने, केटाकेटीलाई स्कुल जान तयार पार्नेलगायतका काम उनको जिम्मामा थिए । सुरुमा त उनलाई दुःख दिएनन् । जब उनले तलब माग्न थालिन् त्यसपछि उनलाई साहु–साहुनीले यातना दिन थाले । कति दिन भोकभोकै कोठामा थुनेर राखियो । उनले पानीसमेत खान पाइनन् ।

‘मलाई घर जान दिनोस्’, उनलै रुँदै साहुजीको अगाडि हात जोडिन् । ‘तँलाई पैसा तिरेर ल्याएको हुँ । त्यसै जान पाउँछेस् । तँ यहाँ पाँच वर्ष बस्नुपर्छ’, साहुको मन पग्लिएन । धेरै दिन घम्साघम्सी परेपछि उनले जितिन्– तलब दिन साहु तयार भयो । यो घम्साघम्सीबाट उनले पनि सिकिन्– अब घुक्र्याएर होइन, फकाएर जतिसक्दो छिटो घर फर्किनुपर्छ । त्यसपछि उनले साहुले जे भन्छन् त्यसको पालना गर्दै गइन् ।

‘दिनको तीन घन्टाभन्दा सुत्न पाइँदैनथ्यो । कुनै दिन मुस्किलले चार घन्टा । राति एक बजे घरको काम सकिन्थ्यो, बिहान चार बजे उठेर खाना पकाउने काम सुरु गर्नुपथ्र्यो । बिहान पाँच बजे त साहुका साना छोराछोरीलाई स्कुल पठाउनुपथ्र्यो,’ उनले आपूmले भोगेको दुःख सुनाइन् । उनलाई राखिएको घरमा १२ जनाको परिवार बस्थ्यो । ती सबैको स्याहारसुसार गर्ने उनी एक्लै थिइन् । ‘बिरामी हुँदा आराम गर्न दिँदैनथे। १०२ डिग्री ज्वरो आउँदा पनि औषधि खाईखाई सबै काम सक्नुपथ्र्यो’, उनी सुकसुकाइन् । त्यति मात्र होइन हप्ताको एक दिनजस्तो साहुले आफ्नो नातेदारकहाँ लगी त्यहाँको सबै काम गर्न लगाउँथ्यो । हप्ताभरिको कपडा एकै दिनमा धोएर फर्कनुपथ्र्यो ।

साउदी पुगेको ८–९ महिनापछि उनले साहुसँग फेरी सर्त राखिन्– कि घर जान देऊ कि मोबाइल किनिदेऊ । सुरुमा साहुले मानेनन् । साहुको मन जित्दै गएपछि डेढ वर्षपछि उनको हातमा साहुले मोबाइल थमाइदिए। साहुको सर्त थियो– कुरा गरेपछि मोबाइल राख्न साहुनीलाई दिनुपर्ने । मोबाइल हात पर्दा उनको आँखाबाट आँसु खसेका थिए । सबैभन्दा पहिलो कल उनले आफ्नो बुवा–आमालाई गरिन् । पहिलोपटक फोनमा घन्टी गयो । ‘हेलो’ बुबाले फोन उठाउनुभयो । उनले सुनिमात्र रहिन् । बोली फुटेन । थाहै नपाई आँखाबाट आँसु झर्न थाले । उनी आँसु पुछ्न थालिन् । कोही नबोलेपछि बुबाले फोन काटिदिए ।

दोस्रोपटक कल गर्दा पनि स्थिति पहिलाको जस्तै भयो । बुवाले ‘हेलो हेलो’ मात्र भन्ने, छोरी रुँदै सुनिरहने । ‘बुवा म गोमा’ तेस्रोपटकमा भने उनले आँट गरिन् । ‘छोरी तिमी कहाँ छ्यौ, हामीले तिमीलाई कहाँ कहाँ खोजेनौं’, बुवाछोरी दुवै रुन थाले । गोमाले सम्पूर्ण कथा सुुनाइन् । ‘जहाँ भए पनि छोरी तिमी छिटो आऊ’, बुवाले भने ।

उनी बसेको घरमा वाइफाई थियो । मोबाइलमा नेट कनेक्ट गरेपछि मात्र उनले थाहा पाइन् आपूmलाई साउदीको कुन ठाउँमा राखिएको रहेछ भन्ने । उनले आपूm बसेको ठेगाना पत्ता लगाइन्– हाफर अल–बेथन। यो साउदीको राजधानीबाट चार सय ३० किलोमिटर टाढा र कुवेतबाट साढे ९४ किलोमिटर दुरीमा थियो।

उनले हत्तपत्त मोबाइलमा ह्वाट् एप र इमो डाउनलोड गरिन् । उनी चिनेका मान्छेलाई सम्पर्क गर्थिन् र आफ्नो अवस्था बताउँथिन् । यो सबै काम साहुसाहुनीको आँखा छलेर गर्नुपथ्र्यो । उनीहरूले उनको यस्तो गतिविधि थाहा पाए मोबाइल नै दिँदैनथे । ‘आपूmले प्रयोग गरेपछि इमो र ह्वाट्स एपमा भएका सबै म्यासेज डिलिट गरेरमात्र साहुनीलाई मोबाइल राख्न दिन्थें । उनीहरूले चेक गर्थे । केही नदेखेपछि केही भन्दैनथे’, उनले सुनाइन् ।

साउदी पुगेको साढे दुई वर्षपछि एक दिन अचम्म भयो । उनको मोबाइलमा भिनाजुको फोन आयो । भिनाजु साउदीमै रहेछन् । पछि थाहा पाइन् बुवाले उनको नम्बर भिनाजुलाई दिएका रहेछन् । भिनाजुलाई उनले सम्पूर्ण कुरा सुनाइन् । भिनाजुले सालीको दुःख त्यहाँ रहेका नेपाली संघसंस्थासम्म पु¥याए । त्यसपछि सुरु भयो उनी त्यो घरबाट भाग्ने खेल ।

साउदीमा महिलालाई एक्लै सडकमा हिँड्न दिइँदैन । पुरुषसँग हिँडे पनि नाता भएको हुनुपर्छ र बुर्का लगाउन अनिवार्य छ । अन्यथा प्रहरीले पक्राउ गरी जेल पठाउँछ । त्यसैले भाग्न सहज थिएन । भागेपछि क्षणभरमै सुरक्षित ठाउँमा पुग्न जरुरी हुन्छ । यस्तो बेला साहुले थाहा पाएर प्रहरीलाई खबर गरे अर्को लफडा आइपर्न सक्छ । त्यसैले भिनाजु यस्तै अवसरको खोजी गर्दै थिए । एक दिन भिनाजुले गोमा रहेको स्थानबाट नजिक पर्ने दमाम भन्ने ठाउँमा नेपालीले एक कार्यक्रम आयोजना गर्न लागेको थाहा पाए। त्यहाँ साउदीस्थित नेपाली दूतावासको कर्मचारी पनि उपस्थित हुने थाहा पाएपछि उनले यही अवसरमा गोमालाई उक्त घरबाट निकाली दूतावासको जिम्मा लगाउने निर्णय लिए ।

उनले त्यहाँ रहेका अन्य नेपालीसँग सल्लाह गरे । सबैको सुझाव थियो – उपयुक्त अवसर नेपालीले गर्ने कार्यक्रम हुन्छ । कार्यक्रम २०७३ फागुन २० गते दिउँसो थियो । उनीहरूले योजना बनाए– राति १२ बजे गोमा घरबाट बाहिर निस्केर भाग्ने । उनलाई लिन नजिकै गाडीसहित आफूहरू बस्ने । उनीहरू त्यो राति १२ बजेअघि नै त्यहाँ पुगेका थिए । एक घन्टा कुर्दा पनि गोमा नआएपछि उनीहरू झन्डै फर्केका थिए । धेरै जना बाहिर उभिएर बस्दा शंका होला भनेर दुई जना गाडीभित्र र एक जना मात्र गाडी नजिक उभिएर पर्खेका थिए । त्यत्ति नै बेला घरको गेट खोलेर गोमा उनीहरूतर्फ दौडँदै आइपुगिन् ।

उनीहरू गोमालाई लिएर राति नै दमाम पुगे । भाग्यले साथ दियो, त्यो दिन बाटोमा कतै चेकिङ भएन। गोमा गाडीमा केही बोल्न सकिनन् । खाली रोइमात्र रहिन् । बिहान हुनेबित्तिकै कार्यक्रम आयोजना स्थलमा पुगेर उनीहरू बसिसकेका थिए । त्यहाँ नेपाली दूतावासका कर्मचारी आइपुगेपछि उनीहरूले राहतको सास फेरे । कार्यक्रम सकिएपछि दूतावासको कर्मचारीसँगै गोमा रियाद आइन् । अहिले उनी साउदीको रियादस्थित नेपाली दूतावासको सेल्टरमा बसेकी छन् ।

‘नर्कबाट छुटकारा पाएको छु’, दूतावासको सेल्टरमा रहेकी उनले टेलिफोनबाट नागरिकसँग भनिन्। उनलाई ९ महिनादेखि साहुले तलब पनि दिएको थिएन । अब त्यो पाउने उनलाई आस पनि छैन। उनको मनमा एउटै चाहना छ– घर फर्किने । उनले भनिन्, ‘बुवा–आमासँग माफी माग्नु छ।’

गोमाजस्तै कुवेतबाट साउदीमा बेचिएर यातना सहन नसकी भागेर आएका १६ जना महिला अहिले दूतावासको सेल्टरमा छन् । उनीहरू सबैको एउटै चाहना छ – घर फर्किने।

प्रकाशित: २२ चैत्र २०७३ ०१:२९ मंगलबार

नर्कबाट छुटकारा पाएँ