समाज

पर्यटकीयस्थलमा किराँती पूर्खाको प्रतिमा

तुवाचुङ जायजुममा किराँती पूर्खाको प्रतिमा स्थापनार्थ जग निर्माण सुरु गरिँदै । तस्बिर सौजन्य : गेन राई

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राख्ने काम सुरु गरिएको छ ।

उभौली साकेलाको अवसरमा आगामी वैशाख ७ गतेभित्र तुवाचुङ–जायाजुमडाँडामा किराँती पुर्खा रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ प्रतिमा स्थापनाको काम सुरु गरिएको हो । किराँती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुममा शुक्रबार तायामा खियामा रैछाकुले प्रतिमा स्थापना समितिले किराँती पुर्खाको प्रतिमा स्थापनार्थ जग निर्माण कार्य सुरु गरेका हुन् । किराँत साँस्कृतिक विधि अनुसार वाबुबाट जाड छर्कदै र अदुवाले पुकार्दै पुर्खाको प्रतिमाको आधारस्तम्भ निर्माणको काम सुरु गरिएको हो । 


तुवाचुङ–जायाजुमडाँडालाई किराँतीको उद्गम थलोकारुपमा मान्ने गरिएका कारण तीन पुर्खाको प्रतिमा सोही स्थानमा राख्ने निर्णय गरिएको प्रतिमा स्थापनामा अगुवाई गरिरहेका किराँत राई यायोक्खाले जनाएको छ । प्रतिमा स्थापनाले तुवाचुङ–जायाजुमको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । सो स्थानमा दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराँती र गैर–किराँती समेत आउने गरेका छन् । तीन किराँती पुर्खाको मुर्ती स्थापनाका लागि २६ लाख बढी रकम संकलन भइसकेको तायामा–खियामा–रैछाकुले प्रतिमा स्थापना समितिले जनाएको छ । 
किराँती मिथक, लोककथा अध्ययन र जानकारसँगको परामर्शमा लामो समय र मेहनत लगाएर कलाकार अर्जुन खालिङले तयार पारेको रेखा चित्र अनुसार रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा तयार पारेर तुवाचुङ–जायाजुममा स्थापना गर्न लागिएको हो । किराँत राई यायोक्खाबाट रैछाकुले, तायामा र खियामाको चित्र कोर्ने जिम्मा पाएको किराँत राई प्रज्ञा परिषदले खालिङलाई चित्र बनाउने जिम्मा दिएको थियो । प्रतिमा स्थापना समितिले गत भदौ ४ गते तायामा, खियामा र रैछाकुलेको रेखाचित्र सार्वजनिक गरेको थियो । रेखाचित्र अनुसार किराँती पूर्खाको मुर्ती मुर्तीकार धनु याक्खा र रोजन राईले निर्माण गरेका हुन् । किराँती पुर्खाको प्रतिमा स्थापनार्थ गठित समितिले पुर्खाको काल्पनिक रेखाभित्र तयार पारेर सार्वजनिक गरेको दुई महिनापछि प्रतिमा राख्ने स्थान निश्चित गरेको थियो । 
किराँती मिथक अनुसार रैछाकुले पिता पातेसुङ र आमा दिलीदुमका छोरा तथा तायामा–खियामा छोरी हुन् । उनीहरूलाई हरेक किरात समुदायमा फरक–फरक नामले चिन्ने गरिन्छ । किराँती लोकोक्ति अनुसार तायामा, खियामा र रैछाकुलेले किराँती सभ्यताको सुरुवात गरेको मानिन्छ । मानव सभ्यतालाई उनीहरूले नै जंगली र सिकारी युगबाट कृषि युग हुँदै सभ्य र आधुनिक युगमा प्रवेश गराएको किंवदन्ती छ । तीन पुर्खाले हलेसी गुफा, तुवाचुङ–जायजुमडाँडा र सो आसपासमा बसेर जीवन निर्वाह गरेको जनविश्वास छ । तुवाचुङ–जायजुममा तायामा र खियामाले ढुंगामाथि बसेर खाँडीको कपडा बुन्ने गरेको ठाउँलाई अहिले पनि तान बुन्ने ढुंगाले चिनिन्छ । सो तानबुन्ने ढुंगामा आएर कामना गर्ने छोरीचेलीलाई तान बुन्ने सीप प्राप्त हुनेगरेको किंवदन्ती अहिले पनि चर्चित छ । किराँत समुदायका बुढापाकाका अनुसार रैछाकुले हलेसी गुफामा र तायामा–खियामा तुवाचुङ जायजुमडाँडामा बस्ने गर्थे । सोही कारण किराँत समुदायले हलेसी र तुवाचुङचङ–जायजुमडाँडालाई सांस्कृतिक महत्वकारुपमा लिने गरेका छन् । खोला कोसीमा जाल हानेर माछा मार्ने र धनुषबाणले शिकार गरेर जीवन निर्वाह गरेका रैछाकुलेले नै विवाह संस्कारको थालनी गरेको भनाई छ । 
 

 

प्रकाशित: १९ चैत्र २०७३ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App