समाज

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी

सिरहाको मिर्चैया नगरपालिका ७ मुराबारीको सदाय बस्तीकी गुडिया भोकले तड्पिएकी बहिनी चन्द्रिकालाई फुल्याउँदै। तस्बिरः मिथिलेश यादव

मुराबारी (मिर्चैैया)–  डेढवर्षे चन्द्रिका सदाय भोकले छटपटिएर चिच्याउँदै छिन् । पाँच वर्षीया दिदी गुडिया दूध चुसाउने बोतलमा कुवाको फोहोर पानी चन्द्रिकाको मुखमा टाँस्दै बालिकाको तलतल कम गर्ने कोसिसमा छिन् । बहिनीको भोकतिर्खा मेटाउन उनीसँग अर्को उपाय छैन । फोहोर पानीले भरिएको बोतल मुखमा छुवाएपछि चन्द्रिका केही बेरसम्म चुप हुन्छिन् तर केही बेरमै फेरि बिच्किँदै जोडले रुन थाल्छिन् ।

‘दुई दिन भयो, हामी भोकभोकै छौं । म त पानीको भरमा सास फेर्न सक्छु तर बहिनी भोकले रोएको रोयै गर्छे,’ –गुडिया सदाय, पाँच वर्षीया बालिका।

यो दृश्य हो मिर्चैया नगरपालिका–७ मुराबारीको । चुरेफेदमा अवस्थित यस मुसहरबस्तीमा दिउँसो बालबालिकाबाहेक कोही भेटिँदैनन् । घरको वयष्क पुरुष र महिला बिहानै मजदुरी गर्न नजिकको मिर्चैया बजारतर्फ लाग्छन् ।

दूधमुखे बालिका चन्द्रिका भोकले तड्पिरहँदा दिदी गुडियाले कुवाको धमिलो पानी खुवाएर थामथुम पार्ने चेष्टा गरिरहेको देख्दा जो कोहीको पनि पनि आँखा रसाउँछ ।

२७ घरधुरी रहेको यस बस्तीमा पुग्दा झुपडीमा अबोध बालिका गुडिया निदाइरहेकी सानी बहिनी चन्द्रिकालाई चिसो भुइँमा रुँगेर बसेकी थिइन् । चन्द्रिकासँगै एउटा पाठो पनि छेउमा थियो । चन्द्रिका घरिघरि निष्लोट भएर आहार खोजिरहेकी थिइन् । गुडियासँग फोहोर पानीबाहेक बहिनीको भोक मेटाउने अर्थोक थिएन । उनी भन्दै थिइन्, ‘दुई दिन भयो, हामी भोकभोकै छौं । म त पानीको भरमा सास फेर्न सक्छु, बहिनी भने भोकले रोएको रायै गर्छे । बहिनीको मुखमा बिहानैदेखि अन्नको एउटा गेडो पनि परेको छैन,’ बहिनीका लागि खानेकुराको बन्दोबस्त गर्न नसकेर बिलखबन्दमा परेकी दिदी गुडियाले बिलौना गरिन् ।

बनिबुतो गर्न निस्कने उनीहरूका आमाबुबा रात परेपछि फर्कने गर्छन् । त्यतिन्जेल बच्चा सुतिसकेका हुन्छन् । यसरी उज्यालो छँदा बाआमा घर फर्कने पर्खाइमा रहने बालबालिका खान नपाउँदै सुत्न बाध्य हुन्छन् ।

सधैंभरि पीडाको एउटै कथा दोहोरिने कहालीलाग्दो अवस्था सुनाउँदै उनले भनिन्, ‘रातिको खल्लो भात बाबुआमाले खाएर कहिलेकाँही मात्र उब्रिन्छ । बिहान निद्रा खुल्दासम्म बाआमा मजदुरीमा गइसकेका हुन्छन् ।’ बिहान उठ्दा दिदीबहिनी दुवैलाई भोकले अत्याएको हुन्छ । बेलुकाको सुक्खा भात बाँकी रहेको दिन भने पेट भर्ने जोहो हुन्छ । उनीहरूले बासी भात कुवाको पानी मिसाएर निल्छन् । भात नहुँदा पानी पिएरै उनीहरूको दिन कट्ने गर्छ ।

‘म त पानीले घाँटी भिजाउँदै बस्छु तर बहिनीका लागि भने भात जुटाउन सकेकी छैन’, गहभरि आँसु पार्दै गुडियाले भनिन् ।    उनीहरूका बाबु जितना सदाय र आमा नसी सदाय मिर्चैया बजारमा मजदुरी गर्न जान्छन् । कामको खोजीमा बजारसम्म पुग्ने उनीहरूले सधैं भने काम पाउँदैनन् । उनीहरूले दिनभरिको काम सकेर पाइने ज्यालाले घर फर्कने बेला चामल किन्छन् । गाउँ पस्नुअघि बाटैमा पर्ने बताहा खोलाको पानी बोकेर जान्छन् । खोलाको पानीले भात पाके पनि अबेर भएकाले छोरीहरूले खान पाउँदैनन् । बताहा खोलाको धमिलो पानी भात पकाउन मात्र प्रयोग गरिँदैन, भातलाई जेनतेन चपाउन पनि खाने गर्छन् सदाय परिवारका सदस्य । सुक्खा भातको भरमा बाँच्नु नियति बनेको छ यस परिवारको ।

यसै बस्तीका पूर्णा सदायले गरिबीले गर्दा ज्यान गुमाएको डेढ महिना भयो । पाँच सन्तानसहित परिवारका सात सदस्यको भरणपोषणका लागि गर्ने काम गरुंगो भएपछि बस्तीनजिकको चउरमा उनले जीवन त्यागेको बस्तीका जेठा सदस्य ६० वर्षीय बालदेव सदाय बताउँछन् । पूर्णाको मृत्युपछि सन्तान हुर्काउने जिम्मेवारी उनकी पत्नी दशनीको काँधमा आयो । मजदुरी गरेर जसोतसो पाँच सन्तान हुर्काइरहेकी दशनीको दैनिकी मुस्किलले धानिँदैछ । एकाबिहानै काम खोज्न मिर्चैया बजार पुग्ने अनि साँझ ढिलो गरी घर फर्कने सधैंभरिको सकस हो । उनी घर फर्कंदासम्म पाँच वर्षभन्दा कम उमेरका राधिका र अधिका भोकले रन्थनिएर सुतिसकेका हुन्छन् । बिहान बच्चा उठ्नुअघि नै आमालाई कामको खोजीमा हिँडिसक्नुपर्ने हुन्छ । राति पकाएको सुक्खा भात खाएर सन्तोष मान्नुपरेको राधिका बताउँछिन् । दात र तरकारी भने पाँचवर्षीया राधिकाले अहिलेसम्म हेर्न पाएकी छैनन् । ‘सधैं भात त खान पाइँदैन, दाल र तरकारी खानु भनेको कहिल्यै पूरा नहुने सपनाजस्तै हो,’ उनले भनिन् ।

यस बस्तीका सबै घरपरिवारको अवस्था यसभन्दा भिन्न छैन । बस्तीका जेठा सदस्य बालदेव भन्छन्, ‘गरिब भएपछि दुःख हुन्छ, सहन गर्नुको सट्टा अर्को बाटो छैन ।’ मुसहरको औसत आयुभन्दा बढी उमेरका बालदेवको दैनिकी पनि अरु नै वयस्क मुसहरको जस्तै थियो कुनै बेला, दिनभरि हाड खियाएर मजदुरी गर्ने अनि राति गलेर बस्ती फर्कने । केही महिनायता उनी बढ्दो उमेरका कारण थलिएर झुपडीमै बस्न विवश छन् । कमजोरीले गर्दा थरिथरिको रोगले च्याप्न सुरु गरेको छ, त्यसैले उनी ओछ्यानबाट उठ्ने तागत जुटाउन सकिरहेका छैनन् । तर, छाक टार्न आँगनबारीसम्म पुग्नुको विकल्प छैन उनका लागि । एउटा भैंसीलाई स्याहार्दै दिन काटिरहेका बालदेव भन्छन्, ‘सुक्खा भातले कति दिनसम्म ज्यान उचालिन सक्छ !’ निकै दुब्लोपातलो देखिने उनको करङ छालाले पनि छोप्न सकेको छैन । कुप्रिएर हिँड्ने उनले भने, ‘खोलाको फोहोर पानीमा उसिनेको चामल खाएर सधैंभरि शरीर ठडिँदैन ।’

सिरहाकै भगवतपुरबाट ९ वर्ष अगाडि बसाइँ सरेका हुन् बालदेव । एकमात्र छोराले घरनिकाला गरिदिएपछि उनी पत्नीसहित यस बस्तीमा सरेका हुन् । बस्तीमा आएको बेला उनी तागतिला थिए । यहाँको बन्जर जमिन खनजोत गरेर उब्जाउ बनाए । कुनै बेला लहलहाउँदो बालीनाली हेर्न पाइने यस बस्तीमा पाँच वर्षअघि पूर्वबाट बग्ने बताहा खोलाले जमिन कटान गरेपछि उनीहरूको दुःखका दिन सुरु भयो । बस्तीका मान्छे खेतीपाती गरेर अन्न फलाउने किसानबाट ढाड सेकिने काममा लाग्नुपर्ने मजदुर बने । भारी बोक्ने कामले शरीर थलिएपछि बलदेवले त्यो काम छोडे । त्यसपछि हातमुख जोड्न धौधौ परेको उनी बताउँछन् । काम गर्न शरीरले साथ दिँदैन, नगरे भोकै बस्नुपर्ने समस्या रहेको सुनाउँछन् उनी । लगातार खोकी र ज्वरोले गर्दा उनी कमजोर भएका छन् ।

बस्तीबाट ७ किलोमिटर पर मिर्चैया बजारमा अस्पताल छ । तर, कमजोरीका कारण उनी बजारसम्म पुग्न सक्दैनन् । ‘शरीरले साथ दिए बिस्तारै अस्पताल पुगेर उपचार गराउने सोचेको छु,’ उनले भने, ‘उपचारका लागि थोरबहुत रकमको जोहो गर्दैछु’ ।

भैंसी आहाल बस्ने कुवाबाट खानेपानी

यस बस्तीकी १२ वर्षीया बबिता सदाय आफूहरूले खाने कुवाको पानीमा भैंसी गनाउने गरेको बताउँछिन् । फोहोरको लेदो पन्छाउँदै पानी पिउँदा भैंसीभैंसी गनाउने उनको अनुभव छ । उनी भन्छिन्, ‘नाक बन्द गरेर पानी पिउनुपर्छ ।’ बस्तीको प्यास मेटाउने बताहा खोलाको पानी धमिलो छ । बस्तीमा न चापाकल छ न त इनार नै । यहाँका बासिन्दाले पिउने पानी भैंसीजस्तै गनाउनुको कारण हो– यही ठाउँमा भैंसी आहाल बस्नु ।
तल्लो बस्तीका मानिसले फोहोर फ्याँक्न प्रयोग गर्ने बताहा खोलाको कुवा सदाय बस्तीबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । बस्तीबाट सबैभन्दा नजिक रहेको यही कुवाको पानी सदाय बस्तीका मानिसले खाना पकाउनेदेखि पिउन प्रयोग गर्दै आएका छन् ।

विद्यालयबाट वञ्चित छन् बालबालिका

यस बस्तीमा पढ्ने उमेरका ३० बालबालिका छन् तर कसैले पनि विद्यालयमा टेकेका छैनन् । बस्तीकी १२ वर्षीया बबिताका पाँच भाइबहिनीमध्ये कोही पनि विद्यालय जाँदैनन् ।

बाबुआमा मजदुरीमा जाने र बालबालिकाले गाईबस्तु चराउने र मेलापात गर्ने गर्छन् । बबिताले भनिन्, ‘दिनभरि बाख्रा र भाइबहिनी रुँगेर बसेपछि पढ्न कसरी जानु ! विद्यालय पुगे पनि भोको पेटले कखरा चिन्न कहाँ सकिन्छ र !’ बुबाआमा काममा गएपछि चार भाइबहिनीसहित बस्तीका अन्य बालबालिका रुँग्ने जिम्मेवारी बबिताकै हुन्छ ।

 

 

प्रकाशित: १९ चैत्र २०७३ ०३:१३ शनिबार

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी