समाज

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित

रौतहट – अपायक ठाउँमा अन्यायपूर्ण किसिमले परीक्षा केन्द्र कायम गरिएको भन्दै रौतहटका विद्यार्थीहरूले जिल्लाको विभिन्न भागमा राष्ट्रिय परीक्षा बोर्डविरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । बोर्डले कक्षा ११ र १२ को परीक्षाको केन्द्र अपायक पर्ने गरी निर्धारण गरी अन्याय गरेको भन्दै बोर्डविरुद्ध गौर, गरुडा र चन्द्रपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
देशकै चौथो सबैभन्दा पुरानो जुद्ध माध्यमिक विद्यालय गौरको परीक्षा केन्द्र एउटा निजी विद्यालयमा गरिएको, गरुडास्थित माध्यमिक विद्यालयको केन्द्र बाइस किलोमिटर टाढा जनज्योति मावि चन्द्रपुरमा पारिएको र जनज्योति मावि चन्द्रपुरको केन्द्र बीस किलोमिटर टाढा जिंगडियास्थित प्रहरी आवासीय विद्यालयमा कायम गरिएकोमा प्रभावित विद्यार्थीहरूले अपायक केन्द्रलाई सच्याउन माग गर्दै प्रदर्शन र चक्काजाम गरेका छन् ।

विद्यार्थीमाथि भएको अन्यायलाई सच्याउन ४८ घन्टे अल्टिमेटम

जनज्योति मावि चन्द्रपुरका विद्यार्थीले केन्द्र अपायक भयो भन्दै दिनहँु प्रदर्शन गरिरहेका छन् । गौरका विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालय रौतहट घेराउ गरेका छन् भने अधिकांश छात्रा अध्ययन गर्ने मावी गरुडाका विद्यार्थीहरूले बोर्डविरुद्ध प्रदर्शन गर्दै एक घन्टा चक्का जाम गरेका छन् । बोर्डले केही विद्यालयलाई मात्र लक्षित गरी नियतवश अपायक पारेको र अधिकांश विद्यालयलाई अपायक पर्ने गरी परीक्षा केन्द्र कायम गरेको आरोप अभिभावकहरूले समेत लगाएका छन् ।
मावि गरुडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुनचुनप्रसाद साहको अगुवाइमा अभिभावकको एक टोलीले प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा र जिल्ला शिक्षा अधिकारी राम विनय प्रसाद सिंहलाई भेट गरी अपायक केन्द्र निर्धारण गरी विद्यार्थीमाथि भएको अन्यायलाई सच्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम समेत दिएको छ । बोर्डले परीक्षा केन्द्रसम्बन्धी निर्णय तत्काल नसच्याए अभिभावकहरूले समेत आन्दोलन गर्ने बताएका छन् ।
बोर्डले अन्यायपूर्ण तरिकाले विद्यार्थीलाई दुःख दिन र मुख्य गरी छात्रालाई शिक्षाबाट वञ्चित गर्न बाइस किलोमिटर टाढासम्म परीक्षा केन्द्र कायम गरेकोले तत्काल नसच्याएमा बोर्डविरुद्ध आफूहरूले पनि आन्दोलन गर्ने संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश सदस्य वृजकिशोर यादवले बताए ।
 

प्रकाशित: १८ चैत्र २०७३ ११:१५ शुक्रबार

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित